पोखराका वरपीपल धमाधम काटेपछि नकाट्न उच्च अदालत पोखराको आदेश

विजय नेपाल
पोखरा, २ साउन /पोखराका मुख्य सडक छेउमा रहेका सदीयौं पुराना वरपीपल लगायत रुख ढालिएपछि परेको रिटमा उच्च अदालत पोखराले विपक्षीको नाउँमा अन्तरिम आदेश जारी गरेको छ । उच्च अदालतका न्यायाधीश बालचन्द्र शर्माको एकल इजलासले निवेदन माग बमोजिम निषेधाज्ञाको आदेश किन जारी हुनु नपर्ने हो सोबारे कानूनसम्मत आधार र कारणसमेत खुलाई सूचना प्राप्त भएको मितिले १५ दिनभित्र लिखित जवाफ पेस गर्न मंगलबार आदेश दिएको हो ।

जसमा जिल्ला प्रशासन कार्यालय, जिल्ला वन र प्रदेश ४ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले उच्च सरकारी वकिल कार्यालयमार्फत र अन्य विपक्षीले आफै वा आफ्नो कानून बमोजिमको प्रतिनिधि वा कानुन व्यवसायीमार्फत लिखित जवाफ पेस गर्नुपर्ने छ । राष्ट्रिय सम्पदा तथा जनअधिकार संरक्षण समिति, नेपालका तर्फबाट समाजका अध्यक्ष रामबहादुर पौडेलले सोमबार उच्च अदालत पोखरामा निषेधाज्ञारपरमादेश रिट दायर गरेका थिए ।

‘अन्तरिम आदेश सहितको निषेधाज्ञा, परमादेश लगायत उपयुक्त आज्ञा आदेश जारी गरी पाऊँ’ भनी दायर रिटमा पोखरा लेखनाथ महानगरपालिका कार्यालय, जिल्ला प्रशासन कार्यालय, जिल्ला वन, पोखरा उपत्यका नगर विकास समिति, प्रदेश ४ को उद्योग, पर्यटन, वन तथा वातारण मन्त्रालय, पोखरा वडा ४, ५, ६, ७, ८, ११, १३, १८ को वडा कार्यालय र सम्बन्धित वडा अध्यक्ष गरी २२ जनालाई विपक्षी बनाइएको छ ।

सो रिट उपर निवेदकको तर्फबाट मंगलबार वरिष्ठ अधिवक्ता तिलक पराजुली, विश्व घिमिरे, भूपनिधि पन्त र अधिवक्ता भगवती पहारीले बहस गरेका थिए । आदेशमा “अदालतले पर्यावरणीय दृष्टिकोण, आस्था र संस्कृतिको आधार, अपूरणीय क्षति तथा विषयको गाम्भीयर्ता समेतलाई विचार गर्दा निवदेनमा उल्लेख गरिएका रुखहरु नकाट्नू, काट्न नलगाउनू भनी उच्च अदालत नियमावली, २०७४ को नियम ४२ (१) बमोजिम विपक्षीका नाउँमा अन्तरिम आदेश जारी गरिएको छ” भनिएको छ ।

नगरमा रहेका वर, पीपल, समी र आँपका पुराना वृक्षहरु ऐतिहासिक एवं सांस्कृतिक महत्वका निधि भए पनि केही सातायता धमाधम कटान भएपछि काटिएका रुख तथा ठुटा मुडा के कसरी व्यवस्थापन भएको, रुख कटान गर्नुपूर्व सो सम्बन्धमा सार्वजनिक सूचना प्रकाशित भए-नभएको, विज्ञसँग सुझाव लिए नलिएको, यो मौसम रुख काट्ने मौसम हो होइन, यसले पर्यावरणीय असर के-कस्तो गरेको, परापूर्वकालदेखि बढे बढाइएका वरपीपल लगायत रुख हाल आएर नकाटी नहुने कारण परिस्थिति के पर्न गएको सोबारे जवाफ विपक्षीसँग मागिएको छ ।

पोखरा महानगरपालिकाले सडक विस्तार तथा विकासका नाउँमा धमााधम नगरका चौतारी भत्काउने र रुखहरु ढाल्ने काम गरेपछि नागरिक समाज र संरक्षणकर्मीले यसअघि पनि चासो देखाउँदै आएका थिए । पोखराको सुन्दरता अझै सुन्दर राख्ने र वातावरण सन्तुलित कायम गर्न सघाउ र्पुयाउने सदियौं पुराना वर, पीपल, समी, राजवृक्ष, आपँका रुख धमाधम काटिने क्रम रोकिएको थिएन । पुराना रुख ढालेपछि पोखराको सौर्न्दर्यतामा समेत चिन्ता बढ्ने सरोकारवाला बताउँछन् ।

नागरिक समाज पोखराका निवर्तमान संयोजक एवं पोखरा उपत्यका बृहत् सरसफाइ अभियानका अभियन्ता समेत रहेका रामबहादुर पौडेल ऐतिहासिक तथा प्राकृतिक सम्पदा विकासका नाउँमा धमाधम सखाप पार्ने षड्यन्त्र भएको भन्दै आमपोखरेलीको चिन्ताको विषयलाई मध्यनजर गर्दै रिट दायर गरिएको बताउँछन् । यता, कटान भएका रुख १ सय २० वर्षसम्मका रहेका विज्ञ बताउँछन् । पछिल्लो ६ महिनायता महानगरपालिका वडा ५, ६, ७, ८, ९, १० र १३ वडामा करिब ३ दर्जन बढी वरपीपल, समी, आँपका रुख आंशिक वा पूरै नष्ट गरिएको पाइन्छ ।

कमेन्टहरु
Loading...