पोखरामा तीनै तहका विकास निर्माणको अनुगमन

पोखरा, ७ असार / जिल्ला समन्वय समिति कास्कीको एक टोलीले पोखरा महानगरपालिका वडा नं. ३, ५, ६ र २५ मा सञ्चालित बिभिन्न विकास निर्माण योजनाको अनुगमन गरेको छ ।

संबैधानिक व्यवस्था अनुसार महानगरपालिका भित्र संघ, प्रदेश र स्थानीय तहद्धारा सञ्चालित विकास निर्माणका योजनाको टोलीले अनुगमन गरेको हो ।

टोलीले हेम्जास्थित खुट्टाको गौडा जैसीचौर सडक, पादुकादान माविको निर्माणाधीन भवन, पोखरा १८ धारापानीस्थित विश्वकर्मा कल्याण समाज भवन, पोखरा ३ नदीपुरस्थित कोपिलढुङ्गा ढल निकास, पोखरा ५ प्रगतिमार्ग बाटो ढलान र पोखरा ६ को चिसोखोला मार्ग बाटो निर्माण तथा गौराको चौतारो गोरेटो बाटोको अनुगम गरेर थियो ।

निर्माण उपभोक्ता समितिका पदाधिकारी, प्राविधिक, जनप्रतिनिधि, ठेकेदार कम्पनी एवम् स्थानीयवासिन्दासंग सञ्चालित योजनाका सम्वन्धमा टोलीका संयोजक एवम् जिल्ला समन्वय समिति कास्कीका प्रमुख बैनबहादुर अधिकारी क्षेत्री लगायतको टोलीले जानकारी लिएको हो ।

कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोक्नका लागि घोषित बन्दाबन्दीका कारण विकास निर्माणका काम केही समय रोकिएपनि पछिल्लो समयमा विकास निर्माणका कामले तीब्रता पाएको हुँदा असार मसान्तसम्म धेरै योजना सम्पन्न हुने अनुगमन पश्चात टोली संयोजक क्षेत्रीले विश्वास व्यक्त गर्नुभयो ।

ठेक्का प्रकृया, सम्झौता तथा बजेट निकासाले बढी समय लिने हुँदा विकास निर्माणका काम आर्थिक बर्षको अन्तिममा हुने भएकोले तोकिएको समयसंगै सोचे जस्तो गुणस्तर नहुने अनुगमन टोली समक्ष उपभोक्ता समितिका पदाधिकारीले दुःखेसो गरेका थिए ।

अनुगमन टोलीमा समन्वय सदस्य तोरण बानिया, गोमा गौतम, समन्वय अधिकारी नवराज बराल, समाजसेवी विष्णु केसी एवम् सञ्चारकर्मी तथा प्राविधिकहरुको सहभागिता रहेको थियो ।

कमेन्टहरु
Loading...