पोखराको नदीपुरमा १ अर्ब ४० करोड लागतमा अपार्टमेन्ट

पोखरा, २२ पुस / काठमाडौंमा अपार्टमेन्टको चलन चलेको धेरै भइसक्यो । पोखरामा विस्तारै विस्तार हुदै आएको छ । शहरीकरणले जमिन नासिने क्रममा छ । खेती योग्य जमिन खण्डीकरण हुदैं गएका छन् । खण्डीकरण रोक्न अपार्टमेन्ट बन्न थालेका छन् । पोखरामा पनि अपार्टमेन्ट शुरु भएको छ । पोखरामा यतिबेला तीनवटा अपार्टमेन्ट छन् । दुई निर्माणाधिन अवस्थामा छ । एउटामा सर्वसाधारणले उपयोग गरिसकेका छन् ।

महानगरपालिका भित्रै पोखरा–१६ दिपमा दिप हाउजिङभित्र ३८ अपार्टमेन्ट छन् । पोखरा–३ नदीपुरमा १०७ अपार्टमेन्ट निर्माणाधिन छ । पोखरा–५ पस्र्याङमा पनि व्यक्तिगत लगानीमा ८ तलाको अपार्टमेन्ट बन्ने क्रममै छ । पोखरा महानगरपालिकाको स्वीकृतिसँगै २० महिना अघि निर्माण शुरु गरिएको पोखरा–३ नदीपुरको अपार्टमेन्ट एकवर्षभित्रमा सर्वसाधारणलाई हस्तान्तरण गरिने तयारी छ ।

पोखरा–३ को अपार्टमेन्ट बीएण्ड बी, कम्फर्ड र गुडविल डेभलपर्स प्रालिका दुई–दुई गरी ६ र अन्य ४ जनासहित १० जना लगानीकर्ताको लगानीमा निर्माण शुरु गरिएको हो । ६.५ रोपनी क्षेत्रफलमा तीन वटा अपार्टमेन्टका लागि भवन बनिरहेका छन् । भवन १० तलाका छन् । फिनिसिङ हुदाँ १०७ अपार्टमेन्ट तयार हुने लगानीकर्ता बी एण्ड बी हाउजिङका निर्देशक बिमल बस्यालले बताए । अपार्टमेन्टको प्रोजेक्ट १ अर्ब ४० करोड रुपैयाँको हो । केही कंक्रिटकै काम र केही फिनिसिङको अवस्थामा छन् ।

८ सय ८८ स्क्वायर फिटदेखि १ हजार ६ सय स्क्वायर फिटको अपार्टमेन्ट सर्वसाधारणले उपयोग गर्न पाउने छन् । एक करोड २३ लाख रुपैयाँदेखि २ करोड ३० लाखसम्मको लागत छ । २ बेडरुम, किचन तथा डाईनिङ हलको लागि १ करोड २३ लाख रुपैयाँ मूल्य तोकिएको छ । ४ बेडरुमसहितको अपार्टलाई २ करोड ३० लाख रुपैयाँ निर्धारण गरिएको उनले सुनाए ।

अपार्टमेन्ट पोखराको मुख्य बजार क्षेत्र महेन्द्रपुलदेखि २ सय मिटर माथि पर्छ । अपार्टमेन्ट भवनले तीन रोपनी क्षेत्र ओगेटको छ भने बाँकी क्षेत्रफल अन्य सुविधायुक्त पुर्वाधार तयार गरिने योजना छ । स्वीमिङ पुल, योगा, ज्याकुजि, सभाहल, पार्टीस्थल, जिमखाना लगायतका सुविधा समेत उपलब्ध हुने दावी डेभलपर्स प्रालिले गरेको छ ।

‘हामीले पब्लिक अभिरुची नै देखेर अपार्टमेन्टको प्रोजेक्ट शुरु गरेका हौं ।’ सञ्चालक समेत रहेका बस्यालले भने–‘सुरक्षित आवास र सुविधाकै कारणले अपार्टमेन्ट सर्वसाधारणको रोजाईमा परेको छ ।’ उनका अनुसार अपार्टमेन्टको नीतिलाई अब सरकारी निकायले नै प्रोत्साहन गर्नुपर्छ । थोरै जमिनमा धेरै परिवारलाई एकैठाँउमा राख्न सकिने हुदाँ खेतीयोग्य जमिन नासिनबाट जोगिने उनको भनाई थियो । अधिकांश अपार्ट बुकिङ भईसकेको छन् । काठमाडौं र पोखराका सर्वसाधारणले बुकिङ गरिसकेका छन् ।

अपार्टमेन्टमा ११६ वटा सवारी साधन पार्किङ गर्न सकिन्छ । । अण्डर ग्राउण्डबाट पनि ४० फिट गहिराईको फाउण्डेशन छ । भूकम्प प्रतिरोधात्मक प्रविधिबाट निर्माण गरिएको छ । काठमाडौंको साईन विल्डर्सले कामको जिम्मेवारी लिएको हो । ‘एकवर्षमा हस्तान्तरण गर्ने लक्ष्यसहित काम गरिरहेका छौं ।’ कम्फर्ड गुडविल डेभलपर्सका निर्देशक एवं अपार्टमेन्टका सञ्चालक गुणाखर सापकोटाले भने–‘थोरै क्षेत्रफलमा धेरै परिवार राख्न सकिन्छ । राज्यलाई राजस्व आउँछ । जमिन जोगिन्छ ।’ उनले सरकराी निकायले अपार्टमेन्टको नीतिलाई अझ प्रभावकारी बनाउँदै लगानीको लागि प्रोत्साहन गर्नुपर्नेमा जोड दिए ।

उनका अनुसार फोहोरलाई त्यही व्यवस्थापन गरिने छ । भित्रको फोहोरलाई बाहिर फ्याँक्ने योग्य बनाएर मात्रै फालिने छ । खानेपानी ट्रिटमेन्ट गरिने छ । जमिन खण्डीकरण रोक्ने तर्फ सरकारी निकायको ध्यान जान जरुरी रहेको लगानीकर्ताको ठम्याई छ ।

आगामी माघदेखि पोखराकै सेदीमा बी एण्ड बी हाउजिङले १२ तले अपार्टमेन्टको निर्माण कार्य शुरु गर्ने योजना छ । झण्डै वर्षदिन अघि १७ तले योजनासहित निर्माण शुरु गर्ने तयारी थियो । यद्यपी महानगरपालिकाले स्वीकृति नदिएपछि कम्पनीले १२ तलामा नयाँ डिजाईनसहित निर्माण गर्ने अन्तिम तयारी गरेको छ ।

कमेन्टहरु
Loading...