पोखरा १७ मा साढे २७ लाखको राहत

पोखरा, १५ जेठ/ पोखरा महानगरपालिका वडा नं. १७ का जनप्रतिनिधिले पदभार ग्रहण गरेको बुधबार ४ वर्ष लागेको छ । महासंकटमा यो विशेष दिनलाई उनीहरुले संकट मुकाबिलाबारे छलफल गरी सम्झिएका छन् ।

वडा कार्यालयले बुझबार वडामा बाँडिएको राहतको विवरण सार्वजनिक ग¥यो । पोखरा १७ मा लकडाउन भएपछि २७ लाख ३८ हजार ९ सय ९२ रुपैयाँको राहत वितरण भएको छ । महानगरको १८ लाखको ९ सय फूल प्याकेज र जनस्तरबाट करिब साढे ९लाखको राहत वडामा वितरण भएको वडाध्यक्ष तीर्थराज अधिकारीले बताए ।

उनले केही संघ, संस्था र व्यक्तिले वडा कार्यालयलाई जानकारी मात्र दिएर वितरण गरेको राहतको विवरण यसमा नसमेटिएको उनले उल्लेख गरे । सर्बदलीय बैठकको निर्णय, महानगरको मापदण्ड र टोल विकास संस्थाको सिफारिसमा अत्यावश्यक भएकालाई राहत वितरण भएको उल्लेख गर्दै उनले केही संस्था र व्यक्तिले आफूखुसी राहत वितरण गरिरहेकोमा त्यसो नगर्न आग्रह गरे । उनले भने, ‘टोलको सिफारिस, र्बदलीय बैठकको निर्णय बमोजिम राहत बाँडिएको छ भने आफूखुसी राहत बाड्न आवश्यक छैन ।’

वडाध्यक्ष अधिकारीले अहिले ४ जनालाई क्वारेन्टाइनमा राखिएको जानकारी दिँदै महासंकटमा सबै वडाबासीको साथ पाउने अपेक्षा व्यक्त गरे । उनले भने, ‘स्थानीय स्तरबाटै करिब साढे ९ लाखको राहत जुटेको छ । सरकारको कदममा नागरिकको यो साथका लागि हामी आभारी छौं ।’

५० बेडको क्वारेन्टाइन निर्माणका लागि पहल थालिएको बताए । उनले गम्भीर परिस्थिति सिर्जना भए आइसोलेसनका रुपमा प्रयोग गर्न आवश्यक भवनबारे पछि छलफल भइरहेको जनाए ।

महानगर कार्यपालिका सदस्य राधिकाकुमारी शाही योगीले करिब २ दशकको रिक्ततापछि आएका जनप्रतिनिधिले रफ्तारका विकास, निर्माणका काम गर्न थालेका बेला महासंकट आइलागेको बताइन् । उनले वडावासीलाई स्थानीय सरकारको प्रत्याभूति दिँदै राहत, समन्वय र महामारीबाट जोगाउन आफूहरु लागिपरेको जनाइन् ।

नेकपा पोखरा १७ अध्यक्ष सुवास ढुंगानाले अरु बेला आफ्ना उद्देश्य अनुरुपका काम गर्ने संघ, संस्था, वित्तिय संस्था, व्यापार प्रतिष्ठानहरुले महामारीमा उत्तरदायित्व वहन गर्न चुक्न नहुने जनाए । उनले महासंकटको सामना गर्न राजनीतिक रुपमा विभक्त नभई एकीकृत प्रयास र कार्य गर्ने बेला आएको उनको भनाइ छ ।

कांग्रेस पोखरा १७ सभापति देवराज आचार्यले महामारीमा कतै राजनीतिक रंग नहोस् भन्ने विषयमा आफूहरु सहज रहेको र वडा कार्यालयलाई पनि सजग हुन आग्रह गरे । अत्यावश्यक सेवा प्रदान गर्ने एम्बुलेन्सका चालक, चिकित्सक, अस्पताल सञ्चालक लगायतले कर्तव्य निर्वाह नगरे खबरदारी गर्न र कारवाही गर्न पनि पछि पर्न नहुने उनको भनाइ छ । जनता समाजवादी पार्टी पोखरा १७ अध्यक्ष दीपक भण्डारीले बजार अव्यवस्थित र सर्वसाधारणले लकडाउन पालन गरेको नदेखिएकाले कडाइ हुनुपर्ने तर्क गरे ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी पोखरा १७ उपशाखा सभापति झपिन्द्रराज रेग्मी, गुप्तेश्वर गुफा व्यवस्थापन समितिका उपाध्यक्ष ईश्वरीप्रसाद लम्साल, डेबिजफल्स क्लबका अध्यक्ष पुष्प बराल, डेमसाइड क्लबका अध्यक्ष पदम ढकाल, विरौटा क्लबका अध्यक्ष डिआर भट्टराई लगायतले कोरोना महामारी लम्बिँदै जाँदा अपनाउनुपर्ने सजगता र त्यसका लागि चाल्नुपर्ने कदमबारे सुझाव दिए ।

कार्यक्रम पोखरा १७ का वडा सचिव ईश्वरीप्रसाद पोखरेलले सञ्चालन गरेका थिए ।

कमेन्टहरु
Loading...