विश्व पृथ्वी दिवसको अवसरमा वृक्षारोपण

पोखरा, ९ वैशाख/विश्व पृथ्वी दिवसको अवसर पारेर नागरिक समाज पोखरा, राष्ट्रिय सम्पदा तथा जनअधिकार संरक्षण समिति पोखरा र मितेरी नारी समूह पोखराको संयुक्त आयोजनामा बैदाम स्थित बसुन्धरा पार्कमा वृक्षारोपण गरिएको छ ।

प्रदेश ४ का प्रदेश प्रमुख बाबुराम कुँवरले पुत्रान्जीको विरुवा रोपेर शुभारम्भ गरिएको कार्यक्रममा पुत्रान्जी र काइयोका विरुवाहरु रोपिएको थियो । कार्यक्रममा प्रदेश प्रमुख कुँवरले आफ्नो जन्मभूमिले आफूले केही नलिने तर सधैं दिने मात्रै काम गर्ने बताउँदै रोपिएको विरुवालाई संरक्षण गरी हुर्काउनु सबैको कर्तव्य रहेको बताए ।

पोखरा लेखनाथ वडा नं. ६ का वडासदस्य विष्णुबहादुर भट्टराईले बसुन्धरा पार्कको संरक्षणका लागि वडा कार्यालय सधैं सकारात्मक रहेको बताए । प्लाष्टिक प्रदूषण अन्त्य गरौं भन्ने मुल नाराका साथ आयोजना गरिएको उक्त कार्यक्रम नागरिक समाज पोखराका संयोजक विष्णुहरि अधिकारीको अध्यक्षता, मितेरी नारी समूहका अध्यक्ष मिरा पौडेलको स्वागतमा भएको थियो ।

कार्यक्रमको संचालन नागरिक समाज पोखराका प्रवक्ता एवं कार्यक्रम संयोजक ठाकुर प्रसाद बरालले गरेका थिए भने धन्यवाद ज्ञापन राष्ट्रिय सम्पदा तथा जनअधिकार संरक्षण समितिका निवर्तमान अध्यक्ष शशी तुलाचनले गरेकी थिइन् ।

कमेन्टहरु
Loading...