व्यावसायिक फोटो पत्रकारिता प्रशिक्षण सुरु

पोखरा, २४ कात्तिक/राष्ट्रिय फोटो पत्रकार समूह, कास्कीको आयोजनामा पोखरामा व्यावसायिक फोटो पत्रकारिता प्रशिक्षण सुरु भएको छ । दुई दिनसम्म चल्ने उक्त प्रशिक्षणमा कास्कीसहित छिमेकी जिल्लाका विभिन्न संचारमाध्यममा कार्यरत करिब ४५ जना पत्रकारको सहभागिता छ ।

प्रशिक्षण उद्घाटन गर्दै प्रमुख अतिथि नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले ज्ञान, सीप र प्रवृत्ति (केएसए) विकासमा तालिमको महत्व हुने भन्दै फोटो पत्रकारिताको व्यावसायिकतामा जोड दिए । नागरिक पत्रकारिताको विकासको सन्दर्भ जोड्दै संख्यात्मकभन्दा गुणात्मक ख्याल गर्नु अहिलेको चुनौती भएको उनको धारणा थियो ।

राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) का केन्द्रीय अध्यक्ष ध्रुव आलेले फोटो पत्रकारितामा सिक्ने र सिकाउनेबीच तालमेल मिल्न नसकेको उल्लेख गर्दै समूहले पूर्वदेखि पश्चिमसम्मका विभिन्न जिल्लामा व्यावसायिक फोटो पत्रकारिता सुरु गरेको बताए । यस्तै प्रकृतिको तालिम गत भदौमा भक्तपुरमा भएको थियो । उनले स्थानीयस्तरमा घट्ने घटनाक्रम वा विषयवस्तुको तस्वीर स्थानीयबाट आएमा प्रभावकारी हुने बताए ।

फोटो पत्रकारितालाई व्यावसायिक बनाउँदै आगामी दिनमा समूहलाई महासंघको अवधारणामा लैजाने उनले जानकारी दिए । उनका अनुसार देशभर ३२ शाखा स्थापना भैसकेका छन् । समूहका पूर्व अध्यक्ष एवं सल्लाहकार कृष्णमणि बरालले दोस्रो जनआन्दोलनपछि पेसागत हित र गुणस्तरसँगै व्यावसायिकता खोजीको लागि पोखरामा फोटो पत्रकार संगठित भएको जानकारी दिए । कास्की शाखा फोटो पत्रकार समूहको पहिलो जिल्ला शाखा हो ।

उक्त अवसरमा काठमाडौंमा फोटो अवार्ड विजेता समूहका सल्लाहकार एवं अग्रज फोटो पत्रकार सुदर्शन रञ्जित, समूहका पूर्व केन्द्रीय सदस्य एवं समूहका सल्लाहकार संयोजक राम गुरुङ, समूहका पूर्व अध्यक्ष एवं सल्लाहकार कृष्णमणि बरालको सम्मानमा सम्मानपत्र हस्तान्तरण गरियो । यस्तै, समूहको अक्षयकोषका लागि २० हजार रुपैयाँ सहयोग गरेकोमा फोटो पत्रकार सुदर्शन रञ्जितलाई धन्यवादसहित सम्मान व्यक्त गरिएको थियो ।

कार्यक्रममा समूहका जिल्ला अध्यक्ष इन्द्रप्रसाद पौडेलले फोटोको भाषा विश्वभर एउटै हुने धारणा व्यक्त गरे । उनले फोटो बिनाको अखबार र नून बिनाको तरकारी समान हुन् भन्दै व्यावसायिकता र सक्षमताको लागि प्रशिक्षण आयोजना गरिएको जानकारी दिए ।

उक्त प्रशिक्षणमा पहिलो दिन एनएफपिजे अध्यक्ष ध्र्रुव आले र कान्तिपुर मिडिया ग्रुपका पोखरा व्यूरो प्रमुख भीम घिमिरेले क्यामेराको प्राविधिक पक्ष, फोटो खिच्ने तरिका र फोटो पत्रकारिताबारे प्रशिक्षण दिएका छन् । समूहका अध्यक्ष इन्द्रप्रसाद पौडेलको अध्यक्षतामा भएको उद्घाटन सत्रको सञ्चालन समूहका सचिव दुर्गाप्रसाद पौडेलले गरेका थिए । एनएफपिजे र पत्रकार महासंघ कास्कीको सहकार्यमा भएको प्रशिक्षणमा पोखरा लेखनाथ महानगरपालिकाले समेत सहयोग गरेको छ ।

कमेन्टहरु
Loading...