पोखराको पालिखेचोक फराकीलो बन्दै, मुआब्जा टुंगियो

प्रकाश ढकाल
पोखरा, १६ असार /पोखराको ब्यस्त पालिखेचोक फराकिलो हुने भएको छ । जिल्ला मुआब्जा निर्धारण समितिले सोमबार बैठक बसेर जग्गाको मुआब्जा टुंग्याएपछि सडक चक्याउनले बाटो खुलेको हो । समितिले मुआब्जा दिनुपर्ने जग्गाको मूल्य प्रतिबर्ग मिटर १ लाख २० हजार रुपैयाँका दरले तोकेको छ ।

मुआब्जा निर्धारण समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीको संयोजकत्वमा जिल्ला स्थित नापी कार्यालय, पोखरा महानगरपालिका कार्यालय, वडा कार्यालय सहितको संयुक्त बैठक बसेर मुआब्जा टुंग्याईएको जिल्ला प्रशासन कार्यालय कास्कीका लेखा अधिकृत महेशकुमार सिग्देलले जानकारी दिए ।

घरको हकमा भने शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय पोखराले अध्ययन गरेर मुआब्जा टुंग्याएको छ । घरको मुआब्जा न्यूनतम सवालाख देखि ६ लाखसम्म तोकिएको छ । मुआब्जा बुझ्न महानगरमा जानका लागि जिल्ला प्रशासन कार्यालयले १५ दिने सूचना जारी गरेको छ । तोकिएकै समयमा मुआब्जा वितरण गरेर बाटो चक्ल्याउने पोखरा ४ का वडाध्यक्ष शंकर बास्तोलाले बताए । पालिखेचोक चौडा पार्नका लागि ४ जनाको जग्गा अधिग्रहण गर्नुपर्नेछ । यसअघि नै महानगरले नाम र कित्ता नम्बर सहितको जग्गाधनीलाई जग्गा खाली गरिदिन आग्रह गरेको थियो । जम्मा १ सय ९९ बर्ग मिटर जमिन अधिग्रहण गर्नुपर्ने बास्तोलाले बताए ।

जग्गाधनी बसन्त उदासले महानगरसँग यसअघि नै भद्र सहमति भैसकेकोले सहमति अनुसार मुआब्जा दिन आग्रह गरे । ‘मेयर साव र वडाध्यक्ष ज्यूसँग बसेर हरेक परिवारलाई ७५ लाखका दरले मुआब्जा दिने सहमति भएको थियो । तर हामीलाई नै नसोधी अहिले फरक मुआब्जा निर्धारण भएछ, उनले भने–स्थानीय विकासमा हामी अवरोध गर्दैनौं तर हामी लचक बन्दा महानगरले पनि हाम्रो मन मार्नु हुँदैन ।’ मुआब्जा निर्धारण गर्दा आँफुहरुलाई नसोधिएको भन्दै उनले गुनासो गरेका छन् ।‘हाम्रो जग्गाको मुल्य तोक्दा हामीलाई पनि राखिनुपथ्र्यो ।

नभए चित्तबुझ्ने रकम तोकिदिनुपथ्र्यो, उनले थपे–खाईखेलेको जग्गा छोड्नुपर्दा छुट्टै पीडा छ । थोरै भएपनि राहत महशुस मिल्नेगरी मुआब्जा दिईयोस् ।’ पाखिलेचोकबाटै विकासको काम थालनी हुँदा खुशी लागेको भन्दै उनले काममा बाधक नबन्ने बताएका छन् । वडा नम्बर ३ मा रहेको बसन्त उदासको ६०.६ बर्गमिटर, वडा नम्बर ९ मा रहेको किशोरीदेवी श्रेष्ठको ५४.१३ बर्गमिटर, कृष्णमान श्रेष्ठको ५०.४५ बर्गमिटर र प्रदीप पालिखेको ३३.८ बर्गमिटर जग्गा अधिग्रहणको तयारी छ । उनीहरुले ४० देखि ७२ लाख रुपैयाँसम्म मुआब्जा पाउँछन् । यसबाहेक घरको चाहीँ छुट्टै रकम हुनेछ । घरको प्रकृति अनुसार मुआब्दा दिईने समितिले जनाएको छ ।

महानगरमा निर्वाचित भएपछि जनप्रतिनिधीहरुले पालिखेचोकको मापदण्ड कार्यान्वयन गराउने र सडक चौडा पार्ने योजना अघि सारेका थिए । ४० बर्षदेखि पालिखेचोकमा मापदण्डले छुने संरचना हटाउने अभ्यास गरिएपनि सम्बन्धित निकाय पटकपटक असफल भयो । अहिले भने महानगरले मुआब्जा दिएरै मापदण्ड क्लियर गर्ने काम गर्न लागेको छ । ‘लामो समय भैसक्यो पालिखेचोक हटाउने कुरा हुन थालेको । तर अहिले सम्म काम भएन, वडा नम्बर ४ का अध्यक्ष तथा संयोजक शंकर बास्तोलाले भने–मुआब्जा लगभग टुंगियो अव लामो समय कुर्नुपर्दैन ।’ सबैजनाले मुआब्जा लिएर घर छोड्न तयार भएका उनले सुनाए । सडक फराकीलो बनाउन तत्कालै ४ वटा घर हटाउनुपर्छ । यसकै लागि गएको पुसमा युवा क्लवको भवन र चौतारो समेत भत्काईएको थियो ।

महानगरका मेयर मानबहादुर जिसीले ब्यवहारिकता हेरेरै मुआब्जा तोकिएको बताए । ‘पहिले जग्गाधनीसँगै सल्लाह गरेर मुआब्जा निर्धारण गरिएको हो, उनले भने–१५ दिनभित्र मुआब्जा लिन बोलाएका छौं । त्यसपछि संरचना हटाउने काम सुरु हुन्छ ।’ उनका अनुसार घरको पनि चलनचल्तीकै आधारमा मुआब्जा तोकिएको छ ।

कमेन्टहरु
Loading...