गण्डकी प्रदेश स्तरिय पशुरोग नियन्त्रण सम्बन्धी अन्तरक्रिया सम्पन्न

पोखरा ४ पुष /राष्ट्रिय पशुरोग नियन्त्रण कार्यक्रम सम्बन्धी गण्डकी प्रदेश स्तरिय अन्तरक्रिया कार्यक्रम पोखरामा सम्पन्न भएको छ । पशु सेवा विभाग हरिहर भवन ललितपुरको आयोजनामा पोखरामा सम्पन्न अन्तरक्रिया कार्यक्रमलाई सम्वोधन गर्दै गण्डकी प्रदेशका भुमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्री लेख बहादुर थापा मगरले राजनितीक संक्रमणको अन्त्य भएपनि कर्मचारी समायोजन हुन नसक्दा कुनैपनि क्षेत्रमा सोचे जस्तो उपलब्धि हुन नसकेको वताए ।

प्रदेश र स्थानिय तहमा कर्मचारी समायोजन पछि अहिले देखिएको अन्यौलता बिस्तारै हट्दै जाने उनको भनाइ रहेको थियो । संघबाट स्पष्ट खाका सहितको कार्यदिशा आउन जरुरी रहेको भन्दै मन्त्री थापाले विभाग विभाग, स्थानिय तह, प्रदेश र संघ वीच पनि समन्वयको अभाव देखिएको वताए । पछिल्लो क्रममा पशु विभागमा तथ्याङ्क ठीक ढंगबाट आउन नसकेको कारण पनि सोचे जस्तो काम अगाडी वढ्न नसकेको थापाले वताए ।

पशुपन्छी तथा मत्स्य बिकास निर्देशनालयका निर्देशक डाक्टर मन बहादुर पुनले मुलुक संघीयतामा गइसक्दा पनि प्रथम चौमासिकको कुनै पनि तथ्याङ्क बिभागमा नआएका कारण कार्ययोजना बनाउन समस्या भएको वताउदै प्रदेशमा रहेका सम्पूर्ण विभागले समयमानै आफ्नो तथ्याङ्क बुझाउन आग्रह गरे । कार्यक्रममा सहभागीहरुले हाल रहेका अब्यवहारिक दाना, औषधी, मासुजन्य लगायतका ऐन हरु आफैमा बाझिएकाले यसलाई संसोधन हुनुपर्नेमा जोड दिदै पशुपन्छीलाई आवश्यक पर्ने विभिन्न रोगका औषधीहरु समेत उपलब्ध हुनुपर्नेमा जोड दिएका थिए ।

आकस्मिक रोग नियन्त्रण सेवा प्रभावकारी बनाइनुपर्ने त्यसका लागी आवश्यक बजेट विनियोजन गर्नुपर्ने, पशु आहारा यन्त्रीकरण कार्यक्रम प्रभावकारी बनाइनुपर्ने, उपकरण वितरणमा जिल्लाहरुमा समान वितरण गर्नुपर्ने, नियमित रुपमा भ्याक्सिनहरु उपलब्ध गराइनुपर्ने सुझाव ब्यक्त गरेका थिए । कार्यक्रममा पशुसेवा बिभागका उपमहानिर्देशक डाक्टर महेन्द्रराज विष्टले राष्ट्रिय पशुरोग नियन्त्रण सम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिएभने कार्यक्रमको बारेमा विभागका डाक्टर मुकुल उपाध्यायले जानकारी दिएका थिए । वरिष्ठ पशुरोग चिकित्सक डाक्टर ऋषीराम सापकोटाले धन्यवाद ज्ञापन गरेको कार्यक्रमको सञ्चालन पशु सेवा बिभागका पशु चिकित्सक डाक्टर बिकेश राउतले गरेका थिए । कार्यक्रममा गण्डकी प्रदेशका ११ जिल्लाका पशु चिकित्सक, पशु प्राबिधीक लगायत गरी ५० जनाको सहभागीता रहेको थियो ।

कमेन्टहरु
Loading...