प्रदेश ४ को नाम ‘गण्डकी’ वा ‘गण्डक’ राख्ने, आज संसदमा रिपोर्ट बुझाउने

प्रकाश ढकाल
पोखरा, ११ वैशाख /प्रदेशको नाम राख्ने चर्चा चलेपछि तनहूँ म्याग्दे गाउँपालिकाकी प्रमुख माया रानाले जलाधारमा केन्द्रित भएर प्रदेशको नामाकरण गर्न सुझाव पठाईन् । ‘नेपाल सबै जातजातिको साझा फूलवारी हो । कुनै एउटा जातिको नामबाट प्रदेशको नामाकरण गर्दा सर्बस्विकार्य नहुन सक्छ, उनले भनिन्–बरु जलाधार वा भौगोलिक क्षेत्र राम्रो विकल्प हो । गण्डक प्रदेश राख्दा सबैलाई स्विकार हुन्छ ।’

तनहूँ काँग्रेसका कार्यवाहक सभापति जीतबहादुर आले पनि कुनै धर्म वा जात विशेष नामले सबैलाई समेट्न नसक्ने बताउँछन् । प्रदेशको नाम राख्न उनले २ विकल्प पेश गरे । ‘पहिलो त जलाधार हेर्दा गण्डकी प्रदेश उत्तम नाम हो । त्यसो नभए दोश्रो बिकल्प चाहीँ ऐतिहासिक रुपमा पनि पहिचान भएको गोरखा राम्रो हुन सक्छ, उनले भने–जात र धर्म विशेष नामले सबैको भावना समेट्दैन । सवैले अपनत्व गर्न सक्ने जलाधार र भुगोललाई आधार मानेर सर्वसम्मतिले नाम राख्नुहोला ।

’गोरखालीहरुले ऐतिहासिक भएकोले गोरखा प्रदेश उपयुक्त भएको सुझाव पठाए । ‘जिल्ला तहमा आफ्नो परिवेश केन्द्रित सिफारिस छ । गोरखालीले गोरखा भने, तनहूँमा ब्यासको माग बढ्यो, सांसद हरिशरण आचार्य भन्छन्–तमुवान, मगरातका नाम पनि जोडतोडले उठेको छ । तर जलाधारमा सबैजना लचक हुनुहुन्छ ।’ मनाङ र लमजुङमा धेरैजसोको गण्डकी प्रश्ताव भएपनि तमुवान चाहाने पनि उत्तिकै थिए । लमजुङमा जनजाति महासंघ जिल्ला समितिले प्रदेशको नाम तमुवान हुनुपर्ने मागसहित प्रदर्शन समेत गरेको थियो ।

‘धेरैको आवाज गण्डकी वा गण्डकमा सुनियो । तमुवान माग्नेहरु पनि निकै हुनुहुन्थ्यो, सुझाव संकलनमा खटिएकी सांसद मधुमाया अधिकारीले भनिन्–विशेष जोड जातिय भन्दा भुगोल केन्द्रित थियो ।’ स्याङजा र नवलपुरतिर पनि गण्डकीलाई धेरैले समर्थन गरेका थिए । केहीले तमुवानसँग जोडेर गण्डकी मागे भने केहीले चाहीँ गोरखा, धवलागिरी, कालिगण्डकी लगायत नामसँग जोडेर गण्डकीको पक्षमा आवाज उठाए । नवलपुरबाट हिमाल–पहाड–तराई र मध्ये प्रदेश मुसहर भन्ने नाम पनि प्रश्ताव भएको सांसद भागवतप्रकाश मल्लले जानकारी दिए । मुस्ताङीको माग कालिगण्डकीमा बढी छ ।

गण्डकी, मुक्तिनाथ, गोरखा वा गण्डकमा पनि उनीहरुले सुझाव पठाएका छन् । म्याग्दीमा चाहीँ धवलागिरीलाई प्राथमिकताका साथ उठाईएको छ । एमाले, काँग्रेस, माओवादी र जनमोर्चाले संयुक्त रुपमा निर्णय गरेर पहिलो नम्बरमा धवलागिरी प्रश्ताव भयो भने अन्नपूर्ण, मगरात, तमुवान–मगरात, गण्डकी वा गण्डक र गोरखाको प्रश्ताव पनि पठाएका सांसद दीपक कोइरालाले जानकारी दिए । ‘गण्डकी र धवलागिरी मिलेर प्रदेश बनेको हो । त्यसैले गण्डकीमा राजधानी भएपछि नाम धवलागिरी राख्नुपर्छ भन्ने माग धेरैको थियो, कोइराला भन्छन्–गण्डकी वा गण्डक प्रदेशमा पनि वहाँहरुको समर्थन छ । हिमाल र नदीलाई बढी प्राथमिकतामा उठाउनुभयो ।’

बागलुङ र पर्वतमा उस्तै नाममा छलफल बढी भयो । बिशेषतः हिमालय, गण्डक वा गण्डकी र तमुवान–मगरातका बिषयमा धेरैको प्रश्ताव परेको सांसद चन्द्रबहादुर बुढाले जानकारी दिए । ‘भौगोलिक विविधतालाई धेरै रुचाउनुभएको छ । सबैको अपनत्व हुनेगरी नाम राख्न सुझाव आएको छ, उनले भने–प्राथमिकतामा आफ्नो भेगअनुसारको नाम सिफारिस भएपनि गण्डक वा गण्डकीमा सबैजसो सहमत हुनुहुन्छ ।’ सप्तगण्डकी, ढोरपाटन, मुक्तिक्षेत्र लगायतका नाम पनि प्रश्तावमा परेको उनले बताए ।

३ बजे बस्ने प्रदेशसभामा सुझाव सिफारिस हुन्छ ।

प्रदेश ४ यतिबेला प्रदेशको नामाकरण र राजधानी तोक्ने कामका लागि ब्यस्त छ । गएको चैत १२ गते ३० दिनको म्याद तोकेर संसद बैठकबाट प्रदेश राजधानी तथा नामाकरण समिति गठन भएपछि समितिले क्लष्टर छुट्याएर सम्भावित नामबारे सुझाव मागिरहेको छ । चैत २८ गते कास्कीमा छलफल चलाएको समितिले आईतबार प्रदेशका बाँकी १० वटै जिल्लाबाट सुझाव संकलन गरिसकेको छ । क्रियाशिल राजनीतिक दलले पनि सोमबार साँझसम्म नामका बिषयमा सुझाव पठाएको र मंगलबारको बैठकमा सबैको सिफारिसको प्राथमिकीकरण गरिने सुझाव संकलन समितिका सभापति विन्दुकुमार थापाले बताए ।

“सबै जिल्ला र सबै पार्टीसँग सुझाव लिईसकेका छौं । अव मंगलबार विहान बैठक बसेर सुझावको पोको खोल्छौं, उनले भने–सुझावको प्राथमिकीकरण गरेर सूची सहितको प्रश्ताव तयार गर्छौं । ३ बजे बस्ने प्रदेशसभामा सुझाव सिफारिस हुन्छ ।’ सुझाव संकलन समितिको बेठक विहान ८ बजे डाकिएको छ । समितिमा थापा सहित, हरिशरण आचार्य, सरिता गुरुङ, मधुमाया अधिकारी, धनञ्जय दवाडी, दीपक कोइराला, कृष्ण थापा, सावित्रा राना, चन्द्रबहादुर बुढा, भगवतप्रकाश मल्ल र मीनप्रसाद गुरुङ सदस्य थिए । समितिले मंगलबारको संसद बैठकमा नामाकरण र राजधानीबारे सुझाव सहितको प्रतिवेदन पेश गर्नेछ । समितिको निर्धारित समयसीमा पनि मंगलबार पूरा हुनेछ ।

कमेन्टहरु
Loading...