प्रदेश ४ को नाममा किचलो, नेकपाका सांसदबीच विवाद, संसद बैठक स्थगीत

पोखरा, १९ असार /प्रदेश ४ को नाम के राख्ने भन्ने बिषयमा नेपाल कम्युनिष्ट पार्टीमा सहमति नजुटेपछि मंगलबारको संसद बैठक स्थगीत भएको छ । गएको असार १० गते नामाकंन तथा प्रदेश राजधानी सुझाव संकलन समितिका संयोजक विन्दुकुमार थापाले उपयुक्त विकल्प सहितको प्रतिवेदन सदनमा टेवुल गरेका थिए ।

त्यसपछि कुनै छलफल नगरी असार १७ गतेका लागि बैठक स्थगीत भयो । १७ आईतबार बसेको बैठकले राजधानीको बिषयमा मात्रै छलफल गरेको थियो । सोमबार समेत थप छलफल गरी पोखरालाई सर्वसहमतिले राजधानी घोषणा गरिएको छ ।

मंगलबारका लागि नाममाथी छलफल गर्ने तयारी थियो । तर नेकपाबीचमा सहमति नभएपछि आजको बैठक नै नबसी सूचना टाँस गरेर स्थगीत भएको छ । कार्यब्यवस्था परामर्श समितिमा सहमति गरेर बैठक २ दिनका लागि स्थगीत गरिएको हो । विशेष कारणबश बैठक स्थगीत गरिएको भनी सूचनाा टाँसिएको छ ।

नामको बिषयमा अब २१ गते मात्रै छलफल चल्नेछ । यसका लागि अन्य दलले आफ्ना धारणा दिईसकेका छन् । तर नेकपाबीचमा के नाम पठाउने भन्ने टुंगिएको छैन । यसअघि एमालेले गण्डकी प्रदेश राख्न सिफारिस गरेको थियो । माओवादीले कुनैपनि सुझाव दिएन ।

यद्यपी नेकपाकै संसदीय बैठकमा पनि सांसदहरुले फरक मत राखेको श्रोत बताउँछ । केहीले गण्डकी तमुवान राख्ने प्रश्ताव अघि सारेपनि केहीले चाहीँ त्यसको विरोध गरेको र गण्डकी नाम राख्नुपर्नेमा जोड दिएका छन् ।

अरु पार्टीले गण्डकी उपयुक्त हुने सुझाव पेश गरेका छन् । यद्यपी नयाँ शक्तिले गण्डकीलाई दोश्रो प्राथमिकतामा राखेको छ । पहिलो प्राथमिकतामा गण्डकी तमुवान नै छ । जनमोर्चा र नेपाली काँग्रेसले गण्डकी सबैको साझा अपनत्वको नाम हुने उल्लेख गरेको छ ।

सुझाव संकलन समितिले पनि गण्डकीमा अधिक जनताको प्राथमिकता परेको प्रतिवेदन बनाएको छ । दोश्रोमा तमुवान मगरात र तेश्रोमा गोरखा प्रदेश राख्ने सुझाव समितिको छ । नेकपाले २१ गतेको बैठकमा सर्वसम्मत नाम सिफारिस गर्ने जनाएको छ ।

कमेन्टहरु
Loading...