पोखराको दुई ठाउँमा खुल्ला व्यायामशाला

पोखरा, १ जेठ/पोखराका सर्वसाधारणले पार्क मै व्यायाम गर्न पाउने छन् । केही साताभित्रै पार्कमा सामान जडान गरिने छ । सामान पोखरा आईपुगेको छ । प्राविधिकको सहयोगमा जडान गरिने छ । जडानपछि सर्वसाधारणले साँझ र विहान दुवै समयमा आफनो अनुकुल व्यायाम गर्न सक्ने महानगरपालिकाले जनाएको छ ।

पोखरा महानगरपालिकाले स्वास्थ्य नागरिकको परिकल्पनासहित तीन महिना अघि देखि नै शुरु गरिएको थियो । फागुनमा टेण्डर आह्वान गरिएको थियो । सामान मंगलबार मात्रै आईपुगेको छ । पोखराको नयाँबजारस्थित शान्तिवनबाटिका नजिकै दमकल राखिएको स्थानमा स्टोर गरिएको छ । ‘सामान आईपुगेको छ । अब प्राविधिकको सहयोगमा पार्कमा जडान गर्ने छौं ।’ पोखरा महानगरपालिकाका मेयरका स्वकीय सचिव लक्ष्मण तिमिल्सिनाले बताए ।

उनका अनुसार तत्काल दुई सेट सामान आएको छ । आएको सामानलाई कहाँ राख्ने भन्ने अन्यौल छ । यद्यपी पहिलो चरणमा भण्डारढीकस्थित रंगशालामा एक सेट जडान गर्ने योजना रहेको उनले सुनाए । ‘अर्को एक सेट सामान कहाँ राख्ने यकिन गरिएको छैन् । बस्ती र सर्वसाधारणको भीड हुने पार्कमा राख्ने छौं’ उनले भने–‘त्यसपछि अन्य पार्कहरुमा भने विस्तारै सामान मगाउँदै जडान गर्ने छौं ।’

उनका अनुसार स्याम्पलको रुपमा दुई सेट आएको भन्दै दुई ठाँउमा राखेपछि त्यसको प्रतिफल अनुसार अन्य पार्कमा जडान गरिने छ । सामान चीनबाट मगाइएको हो । झण्डै पाँच लाखको लागतमा दुई सेट सामान ल्याईएको छ । लेखनाथस्थित आदर्श क्लब भण्डारढीकका अध्यक्ष लक्षु भण्डारीले रंगशाला हाताभित्रै सामान जडान गरिने बताए । उनले प्यारापिट नजिकै रहेको खुल्ला ठाँउमै सामान जडान गरेर आम सर्वसाधारणको पहुँच पुग्ने गरी राखिने स्पष्ट पारे ।

एक सेटमा ९ वटा विभिन्न प्रकारका जिम(व्यायाम)का सामानहरु छन् । खुल्ला पार्कमा सर्वसाधारणको उपस्थिति बाक्लो हुने ठाँउमा सामान राखिने छ । मर्निङवाक र इभिनिङ वाक गर्ने सर्वसाधारणलाई लक्षित गरी सामान जडान गरिने उनको भनाई थियो । ‘नागरिकको स्वास्थ्यप्रतिको दायित्व महानगरपालिकाको हो । त्यसैले स्वास्थ्य नागरिकको अभियानलाई सार्थकता दिन यो खुल्ला व्यायामको पार्कमा राख्ने निर्णय अनुसार नै सामान झिकाईएको हो ।’ उनी ठम्याउँछन् ।

विशेष गरी पार्कमा बनाईने व्यायामशाला(जिम)मा साईक्लिङ, वाकिङ मेशिन, सेटअप गर्ने, र झुण्डिएर पुसअप गर्न मिल्ने लगायत विभिन्न ९ वटा प्रकृतिका सामान छन् । ‘पार्कमा घुम्ने मात्रै नभई शारीरिक व्यायाम गर्न उपयुक्त व्यायामका सामाग्री राख्ने योजनालाई नयाँवर्षदेखि मूर्तरुप दिने छौं ।’ उनले भने–‘आवश्यक स्थानको अध्ययन पछि जिमका सामान राख्ने काम गर्छौ ।’

महानगरपालिकाले पोखराका ९ वटा पार्कमा खुल्ला व्यायामको लागि आवश्यक सामान राख्ने योजना बनाइएको छ । पार्कलाई व्यवस्थित गर्न पनि पार्कमा जिमका सामान राख्ने दृढता रहेको उनको भनाई थियो । भएका केही पार्क अझ व्यवस्थित बन्न नसक्दा सर्वसाधारण विहान र साँझको समयमा टहलिन सक्ने अवस्था छैन् ।

महानगरपालिका क्षेत्रभित्र पार्क बनाउने स्थान समेत छैन् । सार्वजनिक जग्गा अधिकांश हडप भईसकेको छ । ठूला पार्कमा बसुन्धरा र कोमागाने पार्क मात्रै छन् । त्यसभन्दा अलि पर पुग्दा हल्लनचोकस्थित क्याम्पिङ चौर छ । सानो पार्कको रुपमा शहीद चोकमा रहेको शहीद पार्क, त्यसपछि बुलौदीको ओरालेमा रहेको पुष्पलाल स्मृति पार्क ।

ड्यामसाईड रहेको पार्क, सृजनाचोकस्थित मेट्रोसिटी अस्पताल अगाडिको पार्क छन् । महानगरपालिकाले ती पार्कलाई संरक्षण केहीहदसम्म गर्दै आएको छ । पस्र्याङमा भने लायन्स पार्क छ । अन्य ठाँउमा पार्क भएपनि संरक्षणविहीन अवस्थामा छन् ।

थानीय तहको निर्वाचन ताका नै स्मार्ट सिटीको परिकल्पना गरेका छन् । त्यही परिकल्पनालाई मूर्त रुप दिने गुरुयोजना महानगरपालिकाका मेयर मानबहादुर जिसीले बनाएका हुन् । अन्तर्राष्ट्रिय शहरमा पार्कमा व्यायाम गर्न आवश्यक उपकरण राखिएको हुन्छ । त्यसैको परिकल्पना मेयर जिसीले पोखरामा गरेका हुन् । महानगरपालिकाले सबै वडामा भएका पार्कलाई खुल्ला व्यायामशालाको रुपमा विकास गर्ने योजना छ ।

त्यसको लागि सम्बन्धित वडाहरुले पनि पार्कहरुको लगत राख्नुपर्ने उनको सुझाव छ । पार्कमा व्यायामशाला बनाएपछि संरक्षणको जिम्मेवारी स्थानीय सम्बन्धी क्लब, संघसंस्था एवं नागरिक समाजलाई दिईने छ । स्थानीयले अपनत्व कायम गर्न नसक्दा संरक्षण नहुने भन्दै महानगरपालिकाले वडा, स्थानीय क्लब, टोलविकास संस्थालाई संरक्षणको जिम्मेवारी दिने योजना बनाएको छ ।

पोखरा महानगरले पार्कमा ओपन व्यायामशाला बनाउने

कमेन्टहरु
Loading...