गुरुङ ब्युटी पार्लरमा छालाको निशुल्क परिक्षण सम्पन्न

पोखरा, २० जेठ/पोखरा न्यूरोड स्थित गुरुङ ब्युटी पार्लर एण्ड एकेडेमीमा एक दिने निशुल्क छाला तथा चर्म रोगको परिक्षण गरिएको छ । पोखरामा ब्युटी इन्ष्टिच्युट द्वारा पहिलो पटक यस्तो बृहद छाला तथा चर्म रोग परिक्षणमा करिब ३ सय जनाले लाभ लिएका थिए । कार्यक्रममा विशेष गरि अनुहारको सौन्दर्य सम्वन्धी परिक्षण गरिएको थियो ।नेपाल स्किन केयर सेन्टर काठमाडौको सहयोगमा गरिएको उक्त कार्यक्रममा सो अस्पतालका छाला रोग चिकित्सक डा. अनुपमा कार्की र डा.स्वेता रन्जितकारले अनुहारमा देखा पर्ने चाउरीपना, मुसा, दाग धब्बाहरु, जन्मजात दागहरु, कपाल झर्ने नङ्गको समस्या, कस्मेटिक समस्याका बारेमा परिक्षण गरेका थिए ।

गुरुङ ब्युटी पार्लर एण्ड एकेडेमीका अध्यक्ष एवम महिला उद्यमी चिनु गुरुङले आफ्नो अनुहारको छाला परिक्षणका लागि ९० प्रतिशत महिला र १० प्रतिशत पुरुष कार्यक्रममा आएको बताइन । “पोखरामा यति बेला अझै आफ्नो छालाको उचित संरक्षण गर्न चेतनाको कमी छ” उनले थपिन –“यो वृहद कार्यक्रमका माध्यम द्वारा सबैमा चेतना जगाउन पनि सहयोग पुगेको छ ।” सौन्दर्यकर्मी गुरुङले पोखरामा उपचार हुन नसक्ने सौन्दर्य सम्वन्धी समस्याहरुलाई थप उपचारका लागि नेपाल स्किन केयर सेन्टर काठमाडौमा सिफारिस गर्ने गरेको बताइन । नेपाल स्किन केयर सेन्टर काठमाडौकी ब्यवस्थापक समिन मर्हजनले काठमाण्डौमा हरेक महिना हुने गरे पनि मोफसलमा यस्तो वृहद कार्यक्रम हुने गरेको बताइन । पोखरामा गर्मीका कारण धेरै महिला तथा पुरुषहरुको अनुहारको छालामा समस्या देखिएको उनको भनाइ थियो । पोखराको शिविरमा १५ वर्ष देखि ७० वर्ष उमेर सम्मकाले अनुहारको समस्याको परिक्षण गराएका थिए ।

कमेन्टहरु
Loading...