वडाध्यक्षको सुविधाबाट विद्यार्थीलाई खाजा

पोखरा, १९ माघ/ पोखरा २८ का अध्यक्ष निर्मल दियालीले आफ्नो सुविधावापत प्राप्त हुने ३ महिनाको रकम सरकारी विद्यालयमा पढ्ने बालबालिकालाई खाजा खर्चका लागि प्रदान गरेका छन् । पोखरा २८ आरुपाटाको लेखनाथ आधारभूत विद्यालयको शनिबार भएको ३९ औं वार्षिकोत्सवमा अध्यक्ष दिवालीले ३ महिनाको सुविधा ५४ हजार र थप १ हजार गरी ५५ हजार रुपैयाँको चेक विद्यालय व्यवस्थापन समिति अध्यक्ष पुष्पराज त्रिपाठीलाई हस्तान्तरण गरेका हुन् ।

अध्यक्ष दियालीले निजी स्कुल जान नसक्ने र दलित, जनजाति समुदायका बालबालिकामात्र सरकारी स्कुलमा पढ्ने वातावरण परिवर्तन गर्न योजनावद्ध प्रयास थाल्न आग्रह गरे । कुनै बेला लेखनाथ आधारभूत स्कुल यो क्षेत्रमा नमुना रहेको स्मरण गर्दै उनले वडाको तर्फबाट आवश्यक सहयोग गर्न तत्पर रहेको जनाए ।

नर्सरीदेखि कक्षा ५ सम्म पढाइ हुने यो स्कुलमा २४ विद्यार्थी छन् । यही विद्यालय आसपासका क्षेत्रबाट यहाँ अध्ययन गर्ने जत्तिकै संख्या विद्यार्थी बजारमा निजी विद्यालयमा पढ्न जाने गरेका छन् । अध्यक्ष दियालीले अभिभावक, स्थानीय सरकार, विज्ञहरुबीच छलफल गरी गुणस्तरीय शिक्षाको ग्यारेन्टी गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिए । उनले पोखरा २८ मा ९ सरकारी विद्यालय रहेको उल्लेख गर्दै सबै स्कुलमा अक्षयकोष स्थापना गर्न योजना बनाइरहेको सुनाए ।

कार्यक्रममा अतिक्ति क्रियाकलाप र शैक्षिक सत्रमा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो ।कार्यक्रममा पोखरा २८ का वडा सदस्य विष्णुप्रसाद तिवारी, विव्यस सदस्य शिवप्रसाद अधिकारी, इन्द्रेणी आधारभूत स्कुलका प्रधानाध्यापक मित्रलाल तिमिल्सिना, विद्यार्थी अञ्जान विक, अभिभावक बुद्धिसागर तिवारी, शिक्षक एकनाथ अधिकारी लगायतले बोलेका थिए । कार्यक्रममा प्रधानाध्यापक टेकबहादुर भुजेलले विद्यालयको प्रगति विवरण प्रस्तुत गरेका थिए ।

कमेन्टहरु
Loading...