लेखनाथमा निर्वाचन प्रशिक्षण कार्यक्रममा अज्ञात समुहको आक्रमण

सागर राज तिमिल्सिना /पोखरा, १४ कात्तिक /निर्वाचन नजिकिँदै गर्दा निर्वाचन विरोधी क्रियाकलापहरु पनि बढ्दै गएका छन् । देशका अधिकांश राजनीतिक दलहरु निर्वाचनमा होमिएको बेलामा नेकपा–माओबादी यसको विरुद्धमा उभिएको छ । अधिकांश स्थानमा उसैले निर्वाचन विरोधी क्रियाकलाप गर्दै आएको छ ।यस्तैमा कास्कीमा समेत निर्वाचन विरोधी क्रियाकलापले तिव्रता पाएको छ ।

विहिबार मात्रै लेखनाथको वडा नम्बर २ रिट्ठेपानीस्थित सुकुम्बासी बस्तीमा निर्वाचन कार्यालयले राखेको निर्वाचन सम्बन्धि प्रशिक्षण कार्यक्रम विरोधीहरुले विथोलेका छन् । सुकुम्बासी वस्तीमा बस्ने सर्वसाधारणलाई निर्वाचन सम्बन्धि प्रशिक्षण दिईरहेको बेलामा पाँच जनाको समुह आएर प्रशिक्षण सामाग्रीहरु जबरजस्ती लिएर फरार भएका छन् । हालसम्म सो काम कसले गरेको भन्ने पुस्टी नभएपनि प्रहरीले नेकपा–माओबादी सम्बद्ध कार्यकर्ताहरुलाई त्यस्तो गरेको हुन सक्ने आशंका गरेको छ ।

प्रहरीले दिएका जानकारी अनुसार सुकुम्बासी टोलमा निर्वाचन आयोगबाट खटिएका कर्मचारीहरु विन्दु अधिकारी, गौमाया लामिछाने र मिना गुरुङले प्रशिक्षण दिईरहेका थिए । प्रशिक्षणको अन्त तिर आएका पाँच जनाको समुहले प्रशिक्षणमा आवश्यक हुने सामाग्रीहरु ३० वटा हाते पुस्तिका र एउटा फ्लिप चार्टर लिएर गएका थिए । अहिलेसम्म प्रहरीले निर्वाचन प्रशिक्षण कार्यक्रमलाई प्रभावित गर्ने समुहलाई नियन्त्रणमा लिन सकेको छैन ।

केहि दिन अगाडी मात्रै निर्वाचन विरोधी क्रियाकलापमा संलग्न भएको भन्दै प्रहरीले नेकपा–माओबादीका कार्यकर्ता लालबहादुर गुरुङलाई नियन्त्रणमा लिएको थियो । निर्वाचन विथोल्ने कुनै पनि समुह वा व्यक्तिलाई प्रहरीले नछोड्ने समेत जनाएको छ ।

कमेन्टहरु
Loading...