प्रेस चौतारी पत्रकारिता पुरस्कार सुवेदीलाई

पोखरा, २६ साउन/प्रेस चौतारी पत्रकारिता पुरस्कार २०७२ बाट अग्रज पत्रकार निमदत्त सुवेदीलाई सम्मान गरिने भएको छ । प्रेस चौतारी पत्रकारिता पुरस्कार प्रतिभा छनोट समितिले सुवेदीलाई उक्त पुरस्कारबाट सम्मान गर्न गरेको सिफारिस मंगलबार बसेको प्रेस चौतारी कास्कीको बैठकले अनुमोदन गरेको हो ।

निमदत्त सुवेदी
निमदत्त सुवेदी

प्रतिभा छनोट गर्न प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य श्याम कुँवरको संयोजकत्वमा गठित समितिको सदस्यमा प्रेस चौतारीका पूर्व सचिव दुर्गा भण्डारी, प्रेस चौतारी कास्कीका सल्लाहाकार दीपेन्द्र श्रेष्ठ र पदेन सदस्य प्रेस चौतारी कास्कीका अध्यक्ष माधव बराल र सचिव अर्जुन गिरी थिए । बरालका अनुसार पुरस्कारबाट सुवेदीलाई निकट भविश्यमै एक कार्यक्रम गरी सम्मान गरिनेछ ।

प्रेस चौतारीको संस्थागत विकासको साथै प्रेस स्वतन्त्रता, लोकतान्त्रिक आन्दोलन र नागरिक अधिकारको संरक्षणमा योगदान पु¥याएको भन्दै सम्मान गर्न लागिएको हो । पुरस्कारको राशि ११ हजार १ सय ११, सम्मानपत्र र दोसल्ला रहेको प्रेस चौतारी कास्कीका अध्यक्ष माधव बरालले जानकारी दिए ।

प्रेस चौतारी कास्कीका संस्थापक सदस्य सुवेदीले २०३९ सालदेखि पत्रकारिता गर्दै आएका छन् । पर्वतको ठानामौला गाविसमा २०१६ सालमा जन्मेका सुवेदी राष्ट्रिय समाचार समिति क्षेत्रीय कार्यालय पोखराका प्रमुख हुन् । पोखरा नयाँबजारमा बस्दै आएका सुवेदीले राससँगैे पोखरापत्र, पोखरा हटलाइन र हिमदूत दैनिकमा काम गरिसकेका छन् ।

प्रेस चौतारी पत्रकारिता पुरस्कारबाट यसअघि पुण्य पौडेल, माधव शर्मा, नवराज सुवेदी, रुद्रबहादुर थापा, हरि बास्तोला, बद्रीविनोद प्रतिक, खेम सारु र दुर्गा भण्डारी सम्मानित भएका छन् ।

कमेन्टहरु
Loading...