अमानवीय आक्रमण गर्नेहरु आतंककारी ः प्रमुख निर्वाचन आयुक्त

काठमाडौं– प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीले जनतामा भय त्रास उत्पन्न गर्ने र अमानवीय आक्रमण गर्नेहरु आतंककारी भएको बताएका छन् ।
रिपोर्टर्स क्लब नेपालले आगामी मंसिर ४ गते निर्धारित संविधानसभाको निर्वाचनको लागि निर्वाचनमा सहभागी सम्पूर्ण दलहरुको प्रतिबद्धता सार्वजनिक गर्न आयोजना गरेको विशेष कार्यक्रममा बोल्दै उनले अबोध नागरिकहरुलाई हिंसाको सिकार बनाउनेहरुलाई आतंककारी बाहेक केही भन्न नसकिने स्पष्ट पारे ।

प्रतिबद्धता पत्रमा एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति सुशील कोइराला, नेकपा एमालेका अध्यक्ष झलनाथ खनाल, फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार, तमलोपाका अध्यक्ष महन्थ ठाकुर, फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, राप्रपा अध्यक्ष सूर्यबहादुर थापा, राप्रपा नेपालका अध्यक्ष कमल थापा र नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालसहितका नेताहरुले हस्ताक्षर गरेका छन् ।

कार्यक्रममा अध्यक्ष धमलाले हस्ताक्षर नभए पनि राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष शरतसिंह भण्डारी, फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादव, संघीय सदभावना पार्टीका अध्यक्ष अनिल झा, सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो, संघीय समाजवादी पार्टीका अध्यक्ष अशोक राई, नेमकिपाका अध्यक्ष नारायणमान विजुक्छे रोहित, नेकपा मालेका महासचिव सीपी मैनाली, राजमोका अध्यक्ष चित्रबहादुर केसी र तराई मधेस सदभावना पार्टीका अध्यक्ष महेन्द्र यादवसहित निर्वाचनमा भाग लिएर १२२ बटै दलका शिर्ष नेताहरुले प्रतिबद्धता ब्यक्त गरेको र उनीहरु राजधानी बाहिर रहेकोले हस्ताक्षर हुन नसकेको जानकारी दिए ।

चार बुँदे प्रतिबद्धता पत्रमा दलहरुले निर्वाचनलाई खलल पुर्याउने कुनै पनि किसिमका जवरजस्ती गर्ने, डर त्रास उत्पन्न गराउने र हिंसात्मक गतिविधि नगर्ने, निर्वाचन आयोगले जारी गरेको आचार संहितको पूर्ण पालना गर्ने, निर्वाचन धाधलीरहित बनाउने, मतदान सार्वभौम नागरिकको नैसर्गिक अधिकार भएकोले बुथ क्याप्चर, धाँधली लगायतका कुनै पनि काम नगर्ने र यी प्रतिबद्धता उल्लघन गरे कानून बमोजिमको सजाय भोग्न तयार रहेको बाचा गरेका छन् ।

प्रतिबद्धता पत्र सार्वजनिक गर्दै प्रमुख आयुक्त उप्रेतीले पशुले समेत आफ्नो जातको कसैलाई नमार्ने गरेको उल्लेख गर्दै मानिस मार्न तयार हुने पेट्रोलबम प्रहार गर्ने मान्छेहरु आतंकारीबाहेक केही हुन नसक्ने ठोकुवा गरे । उनले भने– ‘यस्ता कार्य गर्नेलाई बुझाउन आतंककारी बाहेक अर्को शब्द छैन । अवोध नागरिकलाई सिकार बनाउनेहरु राष्ट्रघाती हुन । यस्तालाई क्षमा दिनु हुँदैन कारवाही गर्नु पर्छ ।’ उप्रेतिले थपे– ‘मानवले मानव मार्ने काम घृणा योग्य कुकर्म हो । यस्ता आतंकारीहरुलाई जनताले आफैँ तिरस्कार गरिदिन्छन । जति सुकै गरे पनि लोकतन्त्रको जित हुन्छ, यस्ता आतंककारीको हार निश्चित छ ।’

कमेन्टहरु
Loading...