नेविसंघका विद्यार्थी नेताको मृत्युपछि पोखरामा तनाव, चार राउण्ड अश्रुग्यास प्रहार

पोखरा, २३ माघ/नेविसंघ स्याङजा पिएन क्याम्पस सम्पर्क समितिका सभापति सभापति बोधराज ढकालको दुर्घटनामा परि मृत्यु भएपछि पोखरा पृथ्वीनारायण क्याम्पस गेट अगाडी केही तनाव भएको छ । प्रहरीले आन्दोलनकारी विद्यार्थीलाई तितरवितर पार्न ४ राउण्ड अश्रु ग्यास प्रहार गरेको छ ।

घटनाको विषयलाई लिएर नेविसंघका कार्यकर्ताले विहानैदेखि क्याम्पस क्षेत्रमा प्रदर्शन गरेका छन् । विरोधमा उत्रिएका १३ जना विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ ।

नेविसंघले पोखरा १ बगर क्षेत्रमा विहानैदेखि पोखराको नगर बस सञ्चालनमा अवरोध गरेपछि अहिले नगर बस चलेको छैन । पिएन क्याम्पस अगाडी प्रदर्शन गर्ने क्रममा प्रहरीले हस्तक्षेप गरेको भन्दै केहीबेर मुठभेड समेत भएको थियो । प्रहरीले केही विद्यार्थीलाई नियन्त्रणमा लिएको नेविसंघ पिएन क्याम्पसले जनाएको छ ।

दोषीलाई कडा कारबाहीको माग गर्दै नेविसंघ आवद्ध विद्यार्थीहरुले पोखराका २५ भन्दा बढी गाडीमा तोडफोड गरेका छन् भने उति नै संख्यामा गाडीका चावी पनि नियन्त्रणमा लिएका छन् । सोमबार साँझ पिएन क्याम्पस गेट अगाडी नगरबसले किचेर ढकालको मृत्यु भएको थियो । विद्यार्थीहरु संयमित रहेपनि प्रहरीले हस्तक्षेप गर्नु गलत भएको नेविसंघ केन्द्रिय सदस्य भानु ढकालले बताए ।

घटनाको छानवीन र तत्कालै क्षतिपुर्तिको ब्यवस्थापन नभएसम्म बन्द फिर्ता नहुने विद्यार्थीहरुले बताएका छन् । अहिले प्रहरी प्रशासन, पीडित र पीडक पक्षबीच जिल्ला प्रहरी कार्यालयमा बैठक हुँदैछ । घटनाबारे छानवीन भैरहेको प्रहरीले जनाएको छ ।

कमेन्टहरु
Loading...