मदरल्याण्डमा जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगिता सुरु, कुन कुन भए छनौट

पोखरा, २९ वैशाख /विद्यालय तहमा विद्यार्थीहरूको बौद्धिक क्षमताको विकासलाई मध्यनजर गर्दै पोखरा लेखनाथ ७ मासवारमा अवस्थित मदरल्यान्ड माध्यमिक विद्यालयमा जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगिता शनिबारदेखि सुरु भएको छ ।

विद्यालयमा रहेको विद्यार्थी कल्याणकारी कोषको आयोजना तथा विद्यालयको व्यवस्थापनमा गरिएकोे उक्त हाजिरी जवाफ प्रतियोगितामा कास्की जिल्लाभरिका ३७ विद्यालयहरू सहभागी भएका थिए । एउटा विद्यालयबाट कम्तिमा एक जना छात्रा पर्ने गरी तीन जनाको समूह सहभागी भएको उक्त प्रतियोगितामा छनौट र क्वार्टर फाइनलका कार्यक्रमहरू सम्पन्न भएका छन् ।

छनौट तथा क्वार्टर फाइनल प्रतियोगिताबाट शिशु निकेतन मावि विरौटा, सैनिक आवासीय महाविद्यालय फूलबारी, ग्लोबल कलिजियट मावि रामघाट, डायनामिक सेकेन्डरी स्कुल सिमलचौर, न्यास्नल इन्भेन्टिभ मावि बैदाम, युनिभर्स इङ्लिस बोर्डिङ स्कुल राजाको चौतारा, शीतलादेवी मावि शीतलादेवी, हिलप्वाइन्ट मावि माटेपानी, न्यु मिलिनियम एकेडेमी विरौटा, भास्कर मेमोरियल स्कुल फूलबारी, मर्निङस्टार बोर्डिङ स्कुल नागडाँडा र बालमन्दिर मावि नदीपुर सेमीफाइनलमा प्रवेश गर्न सफल भएका छन् ।

सेमीफाइनल र फाइनलका प्रतियोगिताहरू तीस गते आइतबार हुने आयोजकले जनाएको छ । सम्पूर्ण उपस्थितहरूलाई खुला प्रश्नका साथ उद्घाटन गरिएको शनिबारको कार्यक्रममा विद्यालयका संस्थापक तथा प्राचार्य नारायण बरालले हाजिरी जवाफ जस्तो बौद्धिक कार्यक्रमले विद्यार्थीहरूमा सबै क्षेत्रको ज्ञानको विकास गराउने कुरा व्यक्त गर्दै स्वागत गर्नुभएको थियो भने उद्घाटन सत्रको औपचारिक कार्यक्रम प्रतियोगिताका संयोजक टेकनाथ पौडेलले सञ्चालन गर्नुभएको थियो ।

कार्यक्रममा प्रथम हुनेले ट्रफी र प्रमाणपत्रका साथ १२ हजार रुपैयाँ पुरस्कार स्वरूप प्राप्त गर्ने छ भने द्वितीय, तृतीय र सान्त्वना हुनेले ट्रफी र प्रमाणपत्रका साथ क्रमशः ९ हजार, ६ हजार र ३ हजार रुपैया पुरस्कार प्राप्त गर्ने कुरा विद्यालयका सहकार्यकलाप प्रमुख सुनिल सुवालले जानकारी दिए ।

कमेन्टहरु
Loading...