मदरल्यान्डमा दुई दिने सांस्कृतिक कार्यक्रम शुरु

पोखरा, ३० कात्तिक / विद्यालयमा अध्ययनरत विद्यार्थीमा रहेको सैद्धान्तिक पढाइका अतिरिक्त उद्घोषण, नृत्य, गायन, अभिनय आदिजस्ता प्रतिभाको प्रस्फुटन गर्ने उद्देश्यले मदरल्यान्ड माध्यमिक विद्यालयमा दुई दिने सांस्कृतिक कार्यक्रम तथा मातृभूमि तारा प्रतियोगिता शुरु भएको छ ।

कार्यक्रमको गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माननीय विकास लम्सालले उद्घाटन गरे । कार्यक्रमको पहिलो दिन शुक्रबार मातृभूमि ताराका दश जना अन्तिम चरणका प्रतियोगी, कक्षा नर्सरीदेखि कक्षा पाँचसम्मका विद्यार्थीहरूमा रहेको प्रतिभा प्रस्फुटन प्रस्तुतिहरू भएको विद्यालयका सहकार्यकलाप प्रमुख सुनिल सुवालले जानकारी दिए ।

विद्यार्थीहरूबाट आफ्नै मिहिनेत र अभ्यासमा विभिन्न संस्कार, देशप्रेम, शिक्षा, सामाजिक विसङ्गति र विकृतिप्रति सचेत गराउने आदि जस्ता विषय झल्कने गायन तथा नृत्यहरू प्रस्तुत गरेका थिए ।

मातृभूमि तारातर्फ अन्तिम चरणसम्म नमुना अधिकारी, सोनु शेर्पा, सुवास सुवेदी, अञ्जली पौडेल, आकाश पौडेल, सिसम भण्डारी, कुशल पोख्रेल, प्रमिका वि.क., अनिशा घले र सोनिया अधिकारीले दुबै दिन अलगअलग प्रस्तुतिहरू राख्नुपर्ने कुरा विद्यालयका सहकार्यकलाप प्रमुख सुनिल सुवालले जानकारी दिनुभएको छ ।

विद्यालयका संस्थापक एकेडेमिक डीन प्रेमनारायण पोखरेलको सभापतित्वमा सञ्चालित कार्यक्रममा मन्त्री विकास लम्सालले विद्यालयले शिक्षालाई मुलुकको विकास, परिर्वतन र संस्कृतिको संरक्षणसँग जोड्दिनु पर्ने बताए । विद्यालयका सङ्गीत विभागीय प्रमुख केशबहादुर गुरुङको संयोजकत्वमा आयोजना गरिएको उद्घाटन सत्रमा कार्यक्रमको सञ्चालन दिपसन गुरुङ, मानसी तिमिल्सिना लगायतका विद्यार्थीहरूले गरेका थिए ।

कमेन्टहरु
Loading...