प्रदेश ४ का गृहमन्त्री चुमानले भने- कारागार सुधानु होस्

पोखरा, २१ चैत/प्रदेश नम्बर ४ का आन्तरिक मामिला तथा कानून मन्त्री हरिबहादुर चुमानले पोखरा स्थित कास्की कारागारको अनुगमन गरेका छन् । उनले मंगलबार अपराह्न कारागारको अनुगमन गरेका हुन् । अनुगमनका क्रममा उनले थुनुवा तथा कैदीबन्दीको अवस्था, उनीहरु बस्ने तथा सुत्ने ठाउँ, मेस, काम गर्ने, सुत्नेलगायतका ठाउँहरु घुमे । सो अवसरमा उनले थुनुवा तथा कैदीबन्दीलाई बस्ने, खाने, सुत्ने, खेल्ने लगायत अवस्था बारे चासोका साथ सोधेका थिए ।

अनुगमनमा पुगेका मन्त्री चुमानलाई कारागार प्रमुख हरि गौतमले कारागारको अवस्थाबारे जानकारी गराएको थिए । उनले कारागारका कैदीबन्दीलाई दिईने नगदी सिदा कम भएको बताउँदै त्यसलाई बढाउनका लागि पहल गर्न आग्रह गरे । उनका अनुसार हाल कैदीबन्दीलाई ७ सय ग्राम चामल र ४५ रुपैयाँ नगद नुन, तेल, मसला तथा तरकारीका लागि भनेर दिईने गरिएको छ । चामल दैनिक रुपमा ७ सय ग्राम दिईने भन्दै त्यसमा कुनै समस्या नरहेको तर दैनिक रुपमा दिईने नगद ४५ रुपैयाँले कैदीबन्दीलाई नपुग्ने भन्दै कम्तिमा पनि ७५ रुपैयाँसम्म पु¥याउनुपर्ने र त्यसका लागि पहल गरिदिन आग्रह गरेका हुन् ।

कारागार प्रमुख गौतमले कारागारको पर्खाल जिर्ण भएको, कम्पाउण्ड सानो हुँदा कैदीबन्दीलाई घुम्न अप्ठ्यारो भएको, कारागारमा पर्याप्त ठाउँ नहुँदा थुनुवा, ठूला अपराधी, साना कसुरमा परेका कैदी, रोगी कैदी सबैलाई एकै ठाउँमा राख्नुपर्ने बाध्यता भएको बताए । त्यस्तै, कैदीका लागि उपचार खर्चमा समस्या भएको उनले गुनासो गरे । केन्द्रबाट यस वर्ष ८ लाख रुपैयाँ आएपनि सो रकम औषधीका लागि मात्र खर्च गर्न भनेर आएकाले जँचाउने र ल्याव खर्च गर्न समस्या रहेको उनको भनाई थियो ।

यसैगरी, थुनुवा तथा कैदीबन्दीहरुलाई सुत्नको लागि दिइएको बिस्तारा २४ ईञ्चको मात्र भएकाले त्यो सानो भएकाले कम्तिमा पनि उनीहरुलाई ३६ ईञ्चको दिनुपर्ने कारागार प्रमुख गौतमले बताए । उनका अनुसार कैदीबन्दीहरु धेरै भएकाले खाटमा नपुगेर भुईंमै बिस्तारा लहरै लगाएर सुत्ने गर्छन् ।

कास्की कारागारा शुरुमा १ सय जनाको क्षमताको भनेर बनाइएपनि ४ सय जनासम्म अटाउनसक्ने क्षमता छ । तर हाल सो कारागारमा १ आश्रित नाबालकसहित ७ सय ३९ जना कैदीबन्दी रहेको प्रमुख गौतमले जानकारी दिए । उनका अनुसार कारागारमा हाल कर्तव्य ज्यान मुद्धाका १ सय ४६, ज्यान मार्ने उद्योगमा १५, डाकाका २०, अपहरणका १२, लागूऔषधका १ सय ८४, मानव बेचविखनका ३४, सामान्य अपराधका २०, वहु विवाहका १२, आगो लगाएको मुद्धामा २, ठगीमा १४, सवारी ज्यान मद्धघाका ९ जनालगायतका थुनुवा तथा कैदीबन्दी रहेका छन् ।

कमेन्टहरु
Loading...