शनिबार मिस तामाङको ट्यालेण्ट राउण्ड

पोखरा, ३ माघ/बैदाम तामाङ समाज पोखराद्धारा आयोजित मिस तामाङ पोखराको ट्यालेण्ट तथा प्रिजजिङ राउण्ड माघ ५ गते शनिबार पोखरामा हुने भएको छ । ट्यालेण्ट राउण्डका लागि सहभागीहरुले तामाङ सेलोमा साँस्कृतिक नृत्य, गायन, बक्तृत्वकला, कविता सुनाउने तथा आफु संग भएको प्रतिभा प्रस्फुटन गर्ने कार्यक्रम संयोजक जयन्ती मोक्तानले बताए । शनिबार नै माघ १२ गते हुने ग्राण्ड फिनालेका लागि प्रिजजिङ राउण्ड पनि सम्पन्न गरिने कार्यक्रम संयोजक मोक्तानले जानकारी दिए । २८५५ औं सोनाम ल्होसारको अवसरमा आयोजना गरिएको ल्होसार म्युजिकल फेस्टिभल तथा मिस तामाङ पोखरा नयाबजारको प्रदर्शनी केन्द्रमा रहेको डोममा हुने समाजका अध्यक्ष ज्याक तामाङले बताए । यसअघि पोखरा सभागृहमा तय गरिएको कार्यक्रम विविध कारणले प्रर्दशनी केन्दमा सारिएको उनले जानकारी दिए ।

प्रतियोगितामा देशभरबाट १४ जना तामाङ समुदायका युवतीहरुको सहभागिता रहेको छ । सहभागीहरुमा काठमाण्डौका रिता लोप्चान, पोखरा बुद्धचोकका सोनी तामाङ, विरौटाका कुसुम तामाङ, बाटुलेचौरका सोफिया स्याङबो, बिरौटाका सुस्मा लोप्चान, लामागाउँका श्वेता पाख्रिन, सृजनाचोकका आशा तामाङ, एयरपोर्टका अस्मिता तामाङ, घारीपाटनका रिस्ता घिसिङ, काठमाण्डौका जेमिना घिसिङ, रामेछापका सजना वाइवा, रत्नचोकका अमृता तामाङ, लेकसाइडका मिनु थोकर र नालामुखका प्रिती तामाङ रहेका छन् ।

मिस तामाङ पोखरा २०१९ की बिजेतालाई ताज, ट्रफी, प्रमाणपत्र सहित नगद ५० हजार रुपैयाँको साथमा म्युजिक भिडियोको अवसर तथा आकर्षक गिफ्ट ह्याम्परहरु प्रदान गरिने आयोजकले जनाएको छ । फस्ट रनर अपले ताज, ट्रफी, प्रमाणपत्र सहित नगद ३० हजार रुपैयाँ हजार प्राप्त गर्नेछ । त्यस्तै सेकेण्ड रनर अपले फस्ट रनर अपले ताज, ट्रफी, प्रमाणपत्र सहित नगद २० हजार रुपैयाँ हात पार्नेछन् । भिवर्स च्वाइसका रुपमा एकजना प्रतिस्पर्धीलाई नगद १५ हजारले पुरस्कृत समेत गरिने संयोजक मोक्तानले बताईन् ।

ल्होसार म्युजिकल फेष्टिभल तथा मिस तामाङ पोखराको ग्राण्ड फिनाले अन्र्तराष्ट्रिय तामाङ परिषदका अध्यक्ष केएम तितुङको प्रमुख आतिथ्यतामा हुनेछ । कलाकार तथा बरिष्ठ पाइलट विजय लामा, प्रशान्त ताम्राकार कार्यक्रमको आकर्षण रहने छ । पहिलो नेपाल आईडल बुद्ध लामाले सांगितिक प्रस्तुती राख्नेछन । कार्यक्रमको अफिसियल फोटोग्राफर सञ्जय शाक्य हुन । कोरियोग्राफी सुस्मिता पुनले गरेका छन् । कार्यक्रमलाई मुख्य प्रायोजन एक्पर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज गरेको छ । सन् २०१६ देखि शुरु भएको मिस तामाङ पोखरामा पहिलो संस्करणमा निमा लामा, दोस्रो संस्करण २०१७ मा दिप्ती गोम्जा र तेस्रो संस्करण २०१८ मा कविता योञ्जनले ताज पहिरिन सफल भईन् । कार्यक्रमबाट बचत रकम लेकसाइडमा निर्माणधिन रिन्छिङ तोर्जेत तामाङ शान्ति गुम्बा सहयोगार्थ खर्च गरिने छ ।

कमेन्टहरु
Loading...