पोखराको मातृशिशु मितेरी अस्पताल स्तरबृद्धि गर्न माग

फाइल तस्बिर

पोखरा, ३ भदौ/पोखरा लेखनाथ महानगरपालिका वडा नं १६ स्थित मातृशिशु मितेरी अस्पतालको स्तरवृद्धि तथा विशेषज्ञसहितको सेवा विस्तार गर्न सरोकारवालाहरूले जोड दिएका छन् । अस्पताल व्यवस्थापन समितिले शुक्रबार आयोजना गरेको अस्तालको सेवा र दीगो विकास विषयक अन्तरक्रियाका सहभागी वक्ताहरूले अस्पतालमा थप विशेषज्ञसहित सेवा विस्तार गर्न जोड दिएका हुन् ।

अन्तरक्रियामा सहभागी केही चन्दादाताहरूले अस्पताल सञ्चालनका लागि गरिएको महायज्ञबाट संकलित दान रकम दुरुपयोग भएको आरोप लगाउँदै तत्सम्बन्धी हिसाब किताव हालसम्म पनि सार्वजनिक नभएको आपत्ति जनाए । मातृशिशु मितेरी अस्पताल व्यवस्थापन समितिका पूर्वअध्यक्ष कृष्ण थापाले महायज्ञबाट संकलित दान नागरिक समितिको नाममा सुरक्षित रहेको दावी गरे ।

कार्यक्रममा सहभागी पूर्व जिल्ला न्यायाधीश तीर्थराज देवकोटाले नागरिक समितिको वैधानिकतामाथि प्रश्न उठाउँदै दान रकम अस्पतालको श्रीवृद्धिमा लगानी हुनुपर्ने सुझाव दिए । हाल २५ शैया रहेको अस्पतालमा स्त्रीरोग तथा बालरोग सम्बन्धी मात्र विशेषज्ञ सेवा सञ्चालनमा रहेको अस्पतालका मेडिकल सुपेरिडन्टेन स्त्रीरोग विशेषज्ञ डा. प्रेमराज पगेनींले जानकारी दिए । उनका अनुसार आकस्मिक शल्यक्रिया सहितको प्रसूति सेवा पनि अस्पतालले प्रदान गर्दै आएको छ ।

मातृशिशु मितेर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष शालीग्राम भट्टराईको सभापतित्वमा भएको कार्यक्रममा पोखरा लेखनाथ महानगरपालिका वडा नं १६ का वडाध्यक्ष जीवनप्रसाद आर्चार्य र १९ नम्बरका वडाध्यक्ष शोभामोहन पौडेलले अस्पतालको दीगो विकास र स्तर वृद्धिका लागि महानगरपालिकासँग समन्वय गर्ने प्रतिबद्धता जनाएका थिए ।

कमेन्टहरु
Loading...