पोखरामा मास्क नलगाई हिँड्नेलाई १ सय रुपैयाँ जरिवाना

पोखरा, २४ असार / प्रहरीले पोखरामा मास्क नलगाई हिँडेको भन्दै बुधबार २१ जनालाई १ सय रुपैयाँका दरले जरिवाना गरेको छ ।

पोखराको विभिन्न ठाउँमा सम्झाई बुझाई गर्दा समेत अटेर गरेको भन्दै उनीहरुलाई प्रहरीले पक्राउ गरी संक्रमक रोग ऐन २०२० अन्तर्गत कारबाही गर्न जिल्ला प्रशासन कार्यालयमा बुझाएको थियो ।

प्रशासनले उनीहरुलाई बुधबार नै १ सय रुपैयाँका दरले जरिवाना लिएर छाडेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी सुवास हमालले जानकारी दिए । सामाजिक दुरी कायम नगर्ने र मास्कको प्रयोग नगर्नेलाई कारबाही शुरु गरेको उनले बताए ।

सरकारले जारी गरेको स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउन, कम्तीमा २ मिटर सामाजिक दुरी कायम गर्न, मास्क र स्यानिटाइजर अनिवार्य प्रयोग गर्न र लकडाउनको पूर्ण पालना गर्न आग्रह गरेको डिएसपी हमालले बताए ।

कमेन्टहरु
Loading...