मृतक पौडेलका परिवारजनद्वारा छानबिनका लागि उजुरी

पोखरा, ८ साउन/छोरेपाटन उच्च माविबाट संचालित डेभिडफलमा कार्यरत कर्मचारी दीपेन्द्र पौडेलको मृत्यु रहस्यमय भएको भन्दै आवश्यक अनुसन्धानका लागि मृतकका परिवारजनले प्रहरी समक्ष उजुरी दिएका छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीमा शनिबार दायर गरिएको उक्त उजुरीमा पौडेल अत्यन्तै इमान्दार, सिधा, सादा, सामाजिक व्यक्तित्व रहेकोले आत्महत्या गरिहाल्नुपर्ने कुनै पनि अवस्था नदेखिएको र उनी आफै कायर मानसिकताका व्यक्ति नभएको हुँदा उक्त घटना निजको उन्नती र प्रगति देख्न नचाहने विकृत मानसिकता भएका आपराधिक तत्वबाट हुन सक्ने सम्भावना विद्यमान भएको हुँदा घटनाको उचित छानबिन गरी दोषी पत्ता लगाई हदैसम्मको कारबाहीसमेत गरी पाउँ भनी उल्लेख छ ।

पौडेल कार्यरत् संस्थाको जागिरको कारण आफू तनावमा रहेको कुरा भन्दै आएको र मानसिक दबाबका कारण मृत्युको घटनासम्म हुनुले सही सत्य तथ्य पत्ता लगाई यदि हत्या भएको भएको घटनामा संलग्न दोषीलाई कडाभन्दा कडा कारबाहीको माग गरिएको छ ।

डेभिडफलमा २४ वर्षदेखि कार्यरत पौडेलको शव शुक्रबार दिउँसो डेभिडफलको निकास र फुस्रे खोलाको दोसाँधमा भेटिएको थियो । शव पश्चिमांचल क्षेत्रीय अस्पताल, पोखरामा पोष्टमार्टमपछि शनिबार अन्त्येष्टि गरिएको छ । बिहीबार बिहान ७ बजे सम्पर्कबिहीन पौडेलले प्रयोग गर्ने टि–सर्ट, चप्पल र पर्स डेभिडफलमा भेटिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

पौडेललाई हालैमात्र डेभिडफलबाट स्कुलमा सरुवा गरिएको थियो । उनले लेखेको सुसाइड नोटमा समेत स्कुललाई जोडेर लेखेको हुँदा केही खटपट भएको हुन सक्ने र मृत्युले थप शंका उत्पन्न भएको परिवारजनले जनाएको छ ।

कमेन्टहरु
Loading...