विश्व मानसिक स्वास्थ्य दिबस पोखरामा पनि मनाईने

गोकुल बानियाँ/पोखरा २० असोज । २२ औं विश्व मानसिक स्वास्थ्य दिबस पोखरामा पनि बिभिन्न कार्यक्रम गरी मनाईने भएको छ । मानसिक स्वास्थ्यको क्षेत्रमा पोखरामा क्रियाशिल ६ ओटा विभिन्न सामाजिक संघसंस्थाको संयुक्त आयोजनामा असोज २४ गते मानसिक स्वास्थ्य सम्बन्धि विभिन्न जनचेतनामुलक कार्याक्रम गरी दिबस मनाउन लागिएको हो । सन् १९९२ मा विश्व मानसिक स्वास्थ्य दिवसको घोषणा भएपछि प्रत्येक बर्षको अक्टोबर १० मा विश्व स्वास्थ्य दिवस मनाईदै आएको छ । यस बर्ष दिबसको नारा ‘मानसिक स्वास्थ्य र बृद्ध अबस्था ’ तय गरिएको छ । पोखरामा क्रियाशिल कोपिला नेपाल, नेपाल हाउस , आईएनएफ हरियोखर्क अस्पताल, चिल्ड्रेन नेपाल, रेन्बो चिल्ड्रेन होम र मनोसामाजिक मनोविमर्श फोरमको संयुक्त आयोजनामा आजदेखि असोज २४ सम्म बिभिन्न जनचेतनामुलक कार्यक्रम गरिने भएको हो ।

आईतवार पोखरामा आयोजित पत्रकार सम्मेलनमा कोपिला नेपालकी बिना सिलवालले असोज २४ सम्म मानसिक स्वास्थ्य संग सम्बन्धित पचर्ता बितरण, शन्देश प्रसारणको साथै निशुल्क शिबिर संचालन गरिने जानकारी दिईन् । दिबसको दिन असोज २४ गते पश्चिमाञ्चल क्षेत्रिय अस्पताल परिसरमा निशुल्क मानसिक स्वास्थ्य जाच, अतिआबश्यक औषधि बितरण तथा परामर्श सेवा दिईने उनले बताईन् । नेपाल संगै बिश्वमा मानसिक रोगीहरुको संख्या बढ्दै गएपनि सरोकारवाला निकायको ध्यान जान नसकेको मनोचिकित्सक संघ नेपालका सचिब समेत रहेका मानसिक रोग बिशेषज्ञ डा. निर्मल लामिछानेले बताए ।

बिश्वका कुल जनसंख्याको २५ प्रतिशत कुनै न कुनै मानसिक समस्यामा परेको बिश्व स्वास्थ्य संगठनको तथ्याङक छ । बिश्वको तथ्याङकलाई आधार मान्ने हो भने एक जना मनोचिकित्सकले बर्षमा १० देखि ४० लाख सम्म मानसिक रोगीलाई हेर्नुपर्ने अबस्था छ । नेपालमा पनि मानसिक रोगको उपचारमा संलग्न स्वास्थ्यकर्मीको अभाब छ । मानसिक रोगीको अनुपातका आधारमा नेपालमा तीन सय मनोचिकित्सकको आबश्यकता भएपनि अहिले ४० जना मात्र कार्यरत रहेको मानसिक रोग बिशेषज्ञ डा. राजन शर्माले बताए । उनका अनुसार रोगीको संख्या बढ्दै जानु स्वास्थ्य क्षेत्रमा जनशक्ति अभाब हुदा समस्या समाधान गर्न नसकिएको हो ।

नेपाल सरकारले स्वास्थ्य क्षेत्रमा छुट्याएको कुल बजेटको शुन्य दशमलब ८ प्रतिशत मात्र मानसिक स्वास्थ्यमा खर्च गरिन्छ । पश्चिमाञ्चलमा मानसिक रोगीको लागि कुनैपनि कार्यक्रम र बजेट नभएको सरोकारवालाहरुले बताएका छन् । मानसिक रोगीलाई हेर्न सामाजिक दृष्टिकोणमा परिबर्तन ल्याउनुपर्नेमा समेत उनिहरुले जोड दिएका छन् । जिल्ला जनस्वास्थ्य कार्यालय कास्कीका निमिक्त प्रमुख डम्बर बहादुर बानिया, मनोसामाजिक मनोविमर्श फोरमकी जमुना शर्मा, बिकास नेपालका प्रकाश वाग्ले लगायतले १४ बर्ष मुनीका बालबालिकाहरु यसबाट बढी प्रभाबित भएकाले परामर्श र उपचारबाट मानसिक रोगीको संख्या शुन्यमा झार्न सकिने बताएका थिए ।

कमेन्टहरु
Loading...