ह्याट्रिक गर्दै पोखरा महानगरको मेयरमा जिसी विजयी (यस्तो छ इतिहास)#LocalPolls2017 #Pokhara

प्रकाश ढकाल
पोखरा, १३ जेठ /पोखरा लेखनाथ महानगरको मेयरमा निर्वाचित भएका मान बहादुर जिसीको यो पहिलो जित होईन । दुई पटकसम्म उनले कालिका गाविसको अध्यक्ष भएर काम गरिसकेका छन् । पहिलो पटक स्थानीय चुनावमा उम्मेदवार बन्दा जिसी २५ बर्षका थिए । २०४९ मा भएको देशब्यापी स्थानीय निकायको चुनावमा एमाले कास्कीमा केही कमजोर थियो ।

तत्कालीन समयमा एमालेलाई चुनाव जित्नु सजिलो थिएन । त्यसमाथी कालिका काँग्रेसको गढ मानिन्छ, अझैपनि । जिसी बाहेक जोकोही पनि उम्मेदवार बनेको भए एमालेले जित्ने सम्भावना थिएन । त्यही देखेर एमालेले सही समयमा सही निर्णय गरेर जिसीलाई अध्यक्षको टिकट दियो । चुनावमा उम्मेदवार बनेर गाविस अध्यक्ष जिते । त्यतिबेला जिसीको एक्लो जित मात्रै भएन काँग्रेसको कब्जाबाट गाविसलाई फुत्काए पनि ।

उनले काँग्रेस उम्मेदवारलाई उतिबेलै २ सय ७५ मतले पराजीत गरेका थिए । पाँच बर्ष काम गरिसकेपछि दोश्रो चुनाव आयो स्थानीय निकायको । दोहो¥याएर जिसी नै एमालेको तर्फबाट गाविस अध्यक्षको उम्मेदवार बने । पहिलो कार्यकालमा गरेका कामहरुले उनलाई चुनाव अघि नै जित नजिक पु¥याईसकेको थियो । चुनाव भयो, २०५४ मा । काँग्रेस उम्मेदवारलाई नै ५ सय ७५ मतान्तरले पछि पारेर कालिकामा जिसीले आफ्नो पकड जमाए । तेश्रो पटक अहिले जिसीले पोखरा लेखनाथ महानगरपालिकाको मेयरमा चुनाव जितेका छन् ।

पोखराको मेयर बन्ने कुरा जिसीको कल्पना बाहिरको बिषय हो । ‘कालिका महानगर बन्ला र म मेयर बनुँला भन्ने मेरो कल्पनै थिएन । सबैथोक कल्पना बाहिर भैरहेको छ, जिसीले भने–अहिले मेरो गाविस महानगर भयो र म पनि मेयर भएँ । सपनाजस्तो लागिरहेको छ ।’ जिसी २०३७ सालदेखि पोखरा ११ फुलबारीमा घर भाडा लिएर बसिरहेका छन् । मध्यम परिवारमा जन्मेहुर्केका जिसी बिद्यार्थी जिवनदेखि नै राजनीतिमा होमिएका ब्यक्ति हुन् । संयोग, जिसीले तीनैपटक काँग्रेस उम्मेदवारलाई पराजीत गरेका छन् ।

सामाजिक क्षेत्रमा उनको योगदान बिशेष खालको छ । क्षेत्र नम्बर १ मा खानेपानी, बाटो, पुलपुलेसा बनाउने काममा निरन्तर जोडिने नाम हो, मान बहादुर जिसी । निर्वाचित नभएपनि सँधैजसो जनप्रतिनिधी कै भूमिकामा रहेका जिसीलाई अहिले जनताले नै स्वःस्र्फुत रुपमा आफ्ना नेताको रुपमा छनौट गरेका छन् । दोश्रो संविधानसभा चुनावमा भने उनी काँग्रेस उम्मेदवार यज्ञ बहादुर थापासँग झिनो मतले पराजीत भएका थिए । अहिले महानगरको मेयर बनेर अघिल्लो हारको बदला पनि लिएका छन् । १० बर्षसम्म गाविस अध्यक्ष भएका जिसी स्थानीय तहमा अनुभवी ब्यक्ति हुन् ।

कमेन्टहरु
Loading...