पोखरा महानगरका मेयर जिसीद्वारा गहिरो दुःख व्यक्त

पोखरा, १६ फागुन/पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको बुधबार ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा भएको अकल्पनीय र असामयिक निधनले अत्यन्त मर्माहत र स्तब्ध भएको जनाउँदै गहिरो दुख व्यक्त गरेका छन् ।

जिसीले बिहीबार शोक विज्ञप्ति जारी गर्दै दुर्घटनामा मन्त्री अधिकारीसँगै पर्यटन उद्यमी, राष्ट्रसेवक कर्मचारी र हेलिकोप्टर चालकको निधनले मुलुकलाई ठूलो क्षति भएको उल्लेख गरेका छन् ।

‘पोखरा महानगरपालिका वडा नम्बर ३३ (साविक भरतपोखरी गाविस) मा जन्मेर विद्यार्थी आन्दोलनबाटै अब्बल र काबिल राजनीतिकर्मीका रुपमा स्थापित अधिकारी विकासप्रेमी, भरोसायोग्य, दूरदर्शी र उज्ज्वल नक्षत्र हुनुहुन्थ्यो,’ जिसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘अधिकारीको निधनसँगै मुलुकले देश र जनताप्रति अहोरात्र खटिरहने, शालीन, अध्ययनशील, प्रतिभावान, मृदुभाषी, मिलनसार, साहसी र समृद्ध नेपालको खाका कोर्न सक्ने लोकप्रिय नेता गुमाएको छ ।’

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य समेत रहनु भएका अधिकारीलाई गुमाउँदा कम्युनिस्ट आन्दोलन र राष्ट्रिय राजनीतिमा अपूरणीय क्षति पुगेको जिसीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । ‘विद्यार्थी जीवनदेखि देश र जनताप्रति समर्पित भएर अधिकारीले गरेको संघर्षले कम्युनिस्ट आन्दोलनमा होमिएका सबैलाई प्रेरणा दिनुका साथै उहाँको योगदानलाई पोखराले सधै स्मरण गरिरहने छ,’ विज्ञप्तिमा भनिएको छ ।

जिसीले विज्ञप्तिमा यस पीडादायी दुखद् घडीमा उहाँको आत्माको चीर शान्तिको कामनासहित हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवार र आफन्तजनमा समवेदना प्रकट गरेका छन् ।

कमेन्टहरु
Loading...