मानवअधिकारको संरक्षणका लागि सबैको सहकार्य आवश्यक

पोखरा, १६ पुस /राष्ट्रिय मानवअधिकार आयोग क्षेत्रीय कार्यालय पोखराकी निमित्त निर्देशक नितु गर्तौलाले मानव अधिकारको संरक्षणका लागि सबैको सहकार्य आवश्यक रहेको बताएकी छिन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)पोखराको आयोजनामा आइतबार​ पोखरामा आयोजित मानव अधिकारको अवस्था विषयक अन्र्तक्रिया कार्यक्रममा बोल्दै निमित्त निर्देशक गर्तौलाले सो कुरा बताएकी हुन् । निमित्त निर्देशक गर्तौलाले कुनै पनि घटनाका पीडितलाई पद र प्रतिष्ठा हेरेर भन्दा पनि उसको आवश्यकता हेरेर सेवा प्रदान गरे सबै नागरिकलाई मानव अधिकारको प्रत्याभुति महसुस हुने बताईन् । समान रूपमा अधिकार प्राप्त गर्नु नै मानव अधिकारको विशेषता भएको हुँदा मानव अधिकार उल्लंघनका घटना भएमा उजुरी गर्न समेत सबैलाई आग्रह गरिन् ।

कार्यक्रममा इन्सेक पोखराका संयोजक शिव खकुरेलले पश्चिमाञ्चलको पछिल्लो ६ महिनाको अवस्था प्रतिवेदन प्रस्तुत गरेका थिए । संयोजक खकुरेलले मानव अधिकारका क्षेत्रमा क्रियाशिल संघ संस्थाहरूलाई आफुसंग सम्पर्कमा रहेका मानव अधिकार उल्लंघन तथा ज्यादतीका घटनाको जानकारी उपलब्ध गराई प्रलेखिकरणमा सहयोग पुर्याउन सबैलाई आग्रह गरे ।कार्यक्रममा इन्सेक पोखराले पछिल्लो ६ महिनामा अभिलेख गरेका मानव अधिकार उल्लंघन तथा ज्यादतीका घटना समेटिएको स्थिति सूचक समेत सार्वजनिक गरिएको थियो ।

स्थिति सूचकमा साविकको पश्चिमाञ्चल विकास क्षेत्र हाल प्रदेश नम्बर चार र पाँचमा रहेका १७ जिल्लामा भएका मानव अधिकार उल्लंंघन तथा ज्यादतीका घटना समेटिएका छन् ।सार्वजनिक गरिएको प्रतिवेदनमा जुलाई देखि डिसेम्बर २०१७ सम्ममा गैरराज्य पक्षबाट ५७जना पुरूष र ७ सय ४६ जना महिला गरि ८ सय ३ जना ब्यक्ति पीडित भएको उल्लेख छ । प्रतिवेदनका अनुसार पछिल्लो ६ महिनामा १ सय १ पुरूष र ४ जना महिला गरी १ सय ५ जना ब्यक्ति राज्य पक्षबाट पीडित भएका छन् । राज्य पक्षबाट भएका मानव अधिकार उल्लंघन तथा ज्यादतीका घटनामा निर्वाचनका क्रममा गिरफ्तार भएका घटना धेरै रहेका छन् । इन्सेक पोखराको अभिलेख अनुसार पछिल्लो ६ महिनामा ७५ जना बालबालिका बाल अधिकारका घटनामा र ६ सय ६५ जना महिला महिला अधिकार सम्बन्धित घटनामा पीडित भएका छन् ।

कार्यक्रममा आफ्ना भनाई राख्दै प्रदेश नम्बर ४ प्रहरी कार्यालयका प्रहरी उपरिक्षक बिरेन्द्र कुमार बस्यालले हाल नेपाल प्रहरीले मानव अधिकार मैत्री भएर नागरिकलाई सेवा प्रदान गर्ने गरेको बताए । बस्यालले नेपाल प्रहरीमा भएको मानव अधिकार सेलले प्रहरी कर्मचारीले गरेका मानव अधिकार उल्लंघनका घटना अभिलेख गर्ने गरेको हुनाले कसैले मानव अधिकार उल्लंघन गरे मात्यसले बढुवा तथा अन्य सेवा सुविधाबाट समेत बञ्चित हुने प्रष्ट पारे । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक खड्ग बहादुर खत्रीले कार्य सम्पादनका क्रममा आउने त्रुटीलाई सच्याउँदै मानव अधिकार मैत्री भएर सेवा प्रदा नगर्ने बताए ।

कार्यक्रममा उठेका विषयलाई ध्यानमा राखी आगामी दिनमा थप सकारात्मक अभ्यास गर्ने बताउँदै खत्रीले मानव अधिकारको अवस्था बारे सरोकारवाला निकायलाई प्रतिवेदन मार्फत जानकारी गराएकोमा इन्सेकलाई धन्यवाद दिए ।महिला तथा बालबालिका कार्यालय, कास्कीका प्रमुख लक्ष्मी जिसीले राज्यबाट पारिएका वर्ग नै विशेषगरी मानव अधिकारको उपभोग गर्नबाट बञ्चित रहेको बताईन् । राज्यको दायित्व नागरिकका अधिकारलाई दस्तावेजिकरण गर्ने र अधिकार प्रदान भए नभएको बारेमा अनुगमन समेत गर्न आवश्यक रहेको बताए । गैर सरकारी संस्था महासंघका केन्द्रीय सचिव राम प्रसाद सुवेदीले परिवर्तन आफैबाट गर्न आवश्यक रहेको बताउँदै अज्ञानता र नियतवस दुई किसीमले मानव अधिकारको उल्लंघन हुने भनाई राखे ।

कार्यक्रममा माओवादी केन्द्र कास्कीका संयोजक बखानसिंह तमु, नेकपा एमालेका जिल्ला सचिवालय सदस्य विजया सुवेदी, राष्ट्रिय प्रजातन्त्र पार्टीका जगत प्रसाद सुवेदी, आदीवासी जनजाती महासंघ कास्कीका सचिव बम बहादुर छन्त्याल, शान्तिका लागि नागरिक समाजको सञ्जाल पोखराका संयोजक विष्णु प्रसाद बराल, मानव अधिकार निगरानी समुहका संयोजक श्यामनाथ कुँवर, कोक्यापका पुष्पराज कोईराला, अधिवक्ता भुवन पराजुली, मानव अधिकार संरक्षण मञ्चका अध्यक्ष कमल प्रसाद अर्याल, दलित महिला संघ कास्कीका अध्यक्ष चमेली खाती (परियार), राष्ट्रिय अपांग महासंघ कास्कीका सुरेश गौली, अधिवक्ता तथा महिला मानव अधिकार रक्षक कास्कीका संयोजक जानकी शर्मा, जनआन्दोलन घाईते तथा शहिद परिवारका नारायण सुवेदी, बालगृह सञ्जालका केन्द्रीय उपाध्यक्ष गोमा ढकाल, पोखरा उद्योग वाणिज्य महासंघका भक्त रसाईली, परिवर्तन नेपालका राज क्षेत्री,कोपिला नेपालका विना सिलवाल, लगायतले आफ्ना भनाई राखेकाथिए । कार्यक्रमको सञ्चालन इन्सेक पोखराका कार्यक्रम संयोजक सवनम शर्माले गरेकीथिईन् ।

कमेन्टहरु
Loading...