मल्लकालिन कोटभैरव मन्दिरको गुठी जग्गा समितिको मातहतमा ल्याइने

पोखरा, ३ असार / पोखरा लेखनाथ महानगरपालिका वडा नं ३३ भरतपोखरीस्थित मल्लकालिन कोटभैरव मन्दिरको गुठी जग्गा कोट भैरव मन्दिर संरक्षण तथा सम्बद्र्धन समितिको मातहतमा ल्याइने भएको छ । समितिको आज यहाँ आयोजित वार्षिक साधारणसभा एवम् विशेष पूजा कार्यक्रममा मन्दिरका नाममा ५० औं रोपनी गुठी जग्गा रहे पनि त्यसलाई व्यवस्थित गर्न नसकिएका कारण भएका जग्गाको खोजी गरी त्यसलाई समितिको मातहतमा ल्याइने समितिका अध्यक्ष चेतबहादुर महतले जानकारी दिए ।

“समितिका नाममा महानगरभित्र नै अनुमानित ५०÷६० रोपनी जग्गा रहे पनि हालसम्म यकिन तथ्य पाउन सकिएको छैन,” उनले भने, “स्थलगत रुपमा नै पुगी जग्गाको खोजी गर्ने र त्यसलाई समितिको मातहतमा ल्याउनुका साथै यहाँको समग्र विकासका लागि गुरुयोजना निर्माण गरिने छ ।” ऐतिहासिक एवम् पुरातात्विक महत्वको कोटभैरव मन्दिर सहित यहाँस्थित सरस्वती मन्दिर समेटेर गुरुयोजना तयार गरिने उनले बताए ।

कार्यक्रममा पोखरा लेखनाथ महानगरपालिका वडा नं ३३ का वडा अध्यक्ष शिवप्रसाद आचार्यले कोटभैरव मन्दिर धार्मिक पर्यटकीय रुपमा महत्वपूर्ण सम्पदा भएको बताउँदै यसको संरक्षण एवम् विकासलाई प्राथमिकताका साथ अघि बढाउने धारणा राखे । वडा भित्रको समग्र विकासका लागि भौतिक पूर्वाधारको विकासका साथै उद्यमशिलताको विकास आवश्यक रहेकोमा उनको जोड छ । रासस प्रदेश नं ४ कार्यालयका प्रमुख वासुदेव पौडेलले मल्लकालिन समयदेखि नै अस्तित्वमा आएको भए पनि कोटभैरव मन्दिर अझै ओझेलमा परेको बताउँदै यहाँको भौतिक पूर्वाधारको विकासका साथै प्रवद्र्धन आवश्यक भएको धारणा राखे ।

चण्डी माध्यमिक विद्यालयका प्रधानाध्यापक खिमबहादुर महतले अत्यन्त सम्भावना रहेर पनि कोटभैरव मन्दिर ओझेलमा परेको बताउँदै पूर्वाधार विकास र प्रचारप्रसार हुन सकेमा धार्मिक पर्यटनको उत्कृष्ट गन्तव्य बन्न सक्ने दाबी गरे । साधारणसभामा समितिका उपाध्यक्ष गुरुप्रसाद पौडेलले कोटभैरव मन्दिर ठूलो आस्था र विश्वास युक्त धार्मिक पर्यटकीय स्थल भएको बताउँदै यसको गरमा र महिमालाई प्रचारप्रसार गर्नुपर्ने धारणा राखे ।

साधारणसभामा सचिवको प्रतिवेदन प्रस्तुत गर्दै समितिका सचिव कमल प्रसाद पौडेलले जग्गाको संरक्षण गर्दै पूरानो संरचना नविग्रने तवरबाट व्यवस्थित मन्दिर, बालउद्यान लगायतका संरचना निर्माण गरिनुपर्ने बताए । समितिका कोषाध्यक्ष सन्तबहादुर थापाले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको कार्यक्रममा लोकबहादुर लामिछाने, कर्णकुमारी महत लगायतले मन्दिरको संरक्षण र विकासका सम्बन्धमा आ आफ्ना सुझाव दिएका थिए ।

यसैबीच साधारणसभाले कोटभैरव मन्दिर संरक्षण तथा सम्बद्र्धन समितिको आगामी कार्यकालका लागि नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । समितिको अध्यक्ष, उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमशः चेतबहादुर महत, गुरुप्रसाद पौडेल, कमलप्रसाद पौडेल, सीता केसी महत र कर्ण कुमारी महत चयन भएका छन् । समितिका सदस्यहरूमा सदनकुमार महत, सन्तबहादुर थापा, कविता पौडेल, नरेन्द्रबहादुर थापा, तुलसी दुरा, फुलमाया परियार रहेका छन् ।

समितिको प्रचारप्रसार समितिको संयोजकमा वासुदेव पौडेल र सदस्यमा विष्णुहरि पौडेललाई चयन गरिएको छ भने संरक्षक एवम् सल्लाहकार समितिको संरक्षकमा वडा अध्यक्ष शिवप्रसाद आचार्य र सल्लाहकारहरूमा रामचन्द्र पौडेल, विष्णुकुमारी भट्टराई, हेमबहादुर पराजुली थापा, गणेशबहादुर थापा, लोकबहादुर लामिछाने, धनबहादुर थापा, कृष्णबहादुर थापा, सीता पौडेल र लोकबहादुर महत छन् ।

कमेन्टहरु
Loading...