मजदुरहरुलाइ स्थानीय तहमा पञ्जिकरण गर्न माग

पोखरा १४ माघ / नेपाल बिजुली, पेन्टर, प्लम्बर तथा निर्माण मजदुर युनियन(क्युपेक)कास्कीले निर्माणका खटिने मजदुरहरुलाइ स्थानीय तहमा पञ्जिकरण गर्न माग गरेको छ । क्युपेक कास्कीका अध्यक्ष पुण्यप्रसाद उप्रेतीले आइतबार पोखरा लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जिसीलाई ज्ञापनपत्र बुझाउँदै निर्माण मजदुरलाई स्थानीय तहमा दर्ता गरी परिचयपत्र उपलव्ध गराउन माग गरेका छन । क्युपेक कास्कीले भवन निर्माणको नक्सा पास गर्दा नै निर्माण मजदुरहरुको अनिवार्य दुर्घटना बिमा गर्ने व्यवस्था मिलाउन माग गरेको हो ।

साथै उसले निर्माणको क्रममा मजदुर अंगभंग भएमा बाँच्न पुग्ने गरी रकमको व्यवस्था तथा मृत्यु भएमा उचित क्षतिपूर्ति दिने व्यवस्था मिलाउन समेत माग गरेको छ ।ज्ञापनपत्रमा निर्माण मजदुरलाई काम गरेको अनुभवका आधारमा दक्षताको प्रमाणपत्र स्थानीय तहबाट दिने व्यवस्था तथा स्थानीय तहबाट निर्माण मजदुरहरुलाई कार्य दक्षता अभिवृद्धिको लागि डकर्मी, विद्युतकर्मी, प्लम्बर सम्बन्धी तालिमको माग समेत गरिएको छ ।भवन निर्माणको काम गर्ने र गराउने बीच अनिवार्य लिखित सम्झौता र सुरक्षा सामग्री घरधनीले नै दिनुपर्ने क्युपेक नेपालको माग छ ।

त्यस्तै निर्माण क्षेत्रमा भएको असमान ज्याला दिने विभेद अन्त्य गरि समान कामको समान ज्याला लागु गर्नुपर्ने, जिल्लाभित्रका भवन निर्माणका लागि निर्माणकर्ताले दक्ष निर्माणकर्मी छनौट गरेर मात्र नक्सा पासको व्यवस्था गर्नुपर्ने, जिल्लाभित्र हुने निर्माणका विभिन्न समस्या बारे स्थानीय तह र ट्रेड युनियनबीच छलफल गर्नको लागि श्रम डेक्सको व्यवस्था गर्नुपर्ने माग गरिएको छ ।क्युपेकका जिल्ला अध्यक्ष उप्रेतीले आफूहरुले राखेको मागहरु जिल्लाभित्रका स्थानीय तहले पूरा गर्न सक्ने हुँदा जिल्ला प्रशासन कास्की मार्फत् हजारौं निर्माण मजदुरको माग राखिएको बताए । निर्माण क्षेत्र जस्तो संवेदनशील क्षेत्रका मजदुरहरुको समस्या समाधानमा स्थानीय तहको ध्यान जान नसकेकोले आफूहरुले यस्ता माग राख्नुपरेको उनको भनाइ थियो ।

कमेन्टहरु
Loading...