महिला उद्यमी मेलामा विशेष छुटमा सामान बिक्री हुँदै

पोखरा, १ असार । पोखराको नयाँबजारमा जारी महिला उद्यमी मेला–२०७५ अन्तर्गत शुक्रबार महिलाहरुको स्तन तथा पाठेघरको क्यान्सरको निःशुल्क परीक्षण गरिएको छ ।

नेपाल क्यान्सर अस्पतालको प्राविधिक सहयोगमा सम्पन्न सो परीक्षण शिविरबाट २ सय २० जनाभन्दा बढी महिलाहरुले सेवा लिएको मेलाको स्वास्थ्य शिविर उपसमितिकी संयोेजक शान्ति श्रेष्ठ जोशीले जानकारी दिनुभयो । उहाँका अनुसार शिविरमा स्वास्थ्य जाँच गराउनेहरुमा सबै उमेर समूहका महिलाहरु रहनुभएको थियो ।

क्यान्सरजस्तो भयावह रोगको बारेमा सचेतना फैलाउनु तथा महिलाहरुलाई आफ्नो स्वास्थ्यको बारे जागरुक बनाउन महिला उद्यमी मेलासँगै सो शिविरको आयोजना गरिएको हो । यता मेलाअन्तर्गत नै शुक्रबार डा। अभिजित गुप्ताले महिला उद्यमीहरुलाई व्यवसाय बिस्तारमा सूचना प्रविधीको प्रयोगबारे अभिमुखीकरण गर्नुभएको छ ।

नेपाली महिलाहरुले उत्पादन गरेका सामानहरु विश्वबजारसम्म पुग्न लायक भए पनि सूचना प्रविधीको उचित प्रयोग हुन नसक्दा सोचेजस्तो बजार नपाएको उहाँको भनाई थियो । आफूले नयाँ काम सुरु गर्दा नै कहाँ छु भन्ने कुरामा ध्यान दिनुपर्नेमा जोड दिँदै उहाँले सबै महिला व्यवसायीहरुलाई अनलाइन प्लेटफर्मको प्रयोग गर्न सुझाउनुभयो ।

पोखरामा महिला उद्यमी मेला
पोखरामा महिला उद्यमी मेला

आर्थिक सम्बृद्धिको लागि महिला उद्यमीशलता भन्ने नाराका साथ आयोजित ४ दिने मेला शनिबार सकिँदैछ । मेलामा महिलाहरुले उत्पादन गरेका हस्तकला, ढाका, अचार, भान्छामा प्रयोग हुने प्राङ्गारिक खाद्यान्न, दाल, हिमाली भेगको आलुदेखि सौन्दर्य सामाग्रीहरु पनि बिक्री तथा प्रदर्शनीमा राखिएका छन् । शनिबार स्टलमा रहेका सामानहरु विशेष छुटका साथ बिक्री हुने मेला संयोजक सीता बरालले जानकारी दिनुभयो । शनिबार थाइराइड र ब्लडप्रेसरको निःशुल्क परीक्षण कार्यक्रम पनि तय गरिएको छ । शुक्रबार पोखरामा रहेका भारतीय तथा विदेशी पर्यटकहरुले पनि मेलाको अवलोकन गरेका थिए ।

नेपाली महिलाहरुको उत्पादन तथा मौलिक नेपालीपन मिसिएका विभिन्न सामाग्री देखेर उनीहरु प्रभावित समेत भएका थिए । महिला उद्यमशिलतालाई प्रवद्र्धन गर्नु, ब्यवसायमा आफ्नो पहिचानका साथ महिलालाई अग्रसर गराउनु, महिलाद्धारा उत्पादित बस्तु एवं ब्यापार, बजारीकरण साथै सबै उद्यमी महिलाबीच आत्मिय सम्बन्ध बिस्तार गरी ब्यवसायीक अनुभव आदान प्रदानका साथै महिला उद्यमीलाई कर शिक्षा, लेभलिङ, प्याकेजिङबारे जानकारी गराउन मेला आयोजना गरिएको हो ।

कमेन्टहरु
Loading...