अष्ठधातु मूर्ति निर्माणका लागि पोखरामा महायज्ञ शुरु

पोखरा, २५ पुस/ धार्मिक पर्यटकिय क्षेत्र देवघाटमा ३० फिट अग्लो अष्ठधातुको शंकर मूर्ती निर्माण अभियान सफल पार्नका लागि पोखरामा शुक्रबारदेखि अष्ठधातु संकलन तथा श्रीमद्भागवत ज्ञान महायज्ञ भएको छ । पोखरा महानगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष रामराज लामिछानेले एक समारोहकाविच महायज्ञको उद्घाटन गरे ।

उद्घाटन समारोह अगाडी विहान महायज्ञको प्रचार प्रसारका लागि कलशयात्रा गरिएको थियो । महायज्ञस्थल एयरपोर्टबाट शुरु भएको कलशयात्राका सहभागिहरु भजन कीर्तन सहित हर्कचोक, रत्नचोक, सृजनाचोक, पृथ्वीचोक हुँदै पुन महायज्ञस्थल एयरपोर्ट सम्मको क्षेत्र परिक्रमा गरेका थिए ।

देवघाट संरक्षण प्रतिष्ठान चितवनको आयोजना तथा नागढुङ्गा आमा समुहको संयोजनमा पुष २५ देखि शुरु माघ ४ गते सम्म पोखराको एयरपोर्टस्थित उत्तरतर्फको गेट अगाडी उक्त महायज्ञ सञ्चालन हुने छ ।

आयोजक प्रतिष्ठानका महासचिव मदनराज मिश्रले महायज्ञमा ५ हजार दान गर्नेलाई संस्थाको आजिवन सदस्यता प्रदान गरिने, १५ हजार दान गर्ने दाताले एकजनाको स्मृतीमा शिलालेख लेखाउन पाउने, २५ हजार दान गर्ने दाताले दुईजनाको स्मृतीमा शिलालेख लेखाउन पाउने, ५१ हजार दान गर्नेको ५ जनाको नाम लेखाइने तथा १ लाख माथि दान गर्नको संस्थापक एवं परिवारको फोटो सहित शिलालेख लेखाइने जानकारी दिए । ५ लाख माथि दान गर्ने दातालाई संरक्षक सहित पतिपत्नीको फोटो शिलालेखमा राखिने पनि मिश्रले बताएका छन् ।

महायज्ञका प्रमुख बाचक पंडित बालकृष्ण अर्याल रहेका छन् । पोखरेली कलाकारद्वय युवराज लामिछाने र तिलबीर सेञ्चुरीले उक्त मूर्ती निर्माण गर्दैछन् ।

कमेन्टहरु
Loading...