पोखरामा अन्तर्राष्ट्रिय मगर बौद्ध सम्मेलन सुरु

पोखरा, १३ चैत्र/नेपाल मगर बुद्ध सेवा समाजको आयोजनामा शनिबारदेखि पोखरामा अन्तर्राष्ट्रिय मगर बौद्ध सम्मेलन सुरु भएको छ ।  सम्मेलनको बौद्ध धार्मिक विधि अनुसार भिक्षु श्रद्धानन्दले उद्घाटन गर्नुभएको थियो । सम्मेलनको उद्घाटनका लागि उप–राष्ट्रपति नन्दकिशोर पुन ‘पासाङ’ आउने भनिएपनि अन्तिम समयमा आएर उप–राष्ट्रपति आउने कार्यक्रम रद्द भएको आयोजकले जनाएको छ ।

पोखरामा अन्तर्राष्ट्रिय मगर बौद्ध सम्मेलन सुरु
पोखरामा अन्तर्राष्ट्रिय मगर बौद्ध सम्मेलन सुरु

सम्मेलनको उद्घाटन गर्दै भिक्षु श्रद्धानन्दले महामानव सिद्धार्थ गौतम बुद्धले देखाएको बाटोमा अघि बढे मात्रै देशमा शान्ति हुने बताउनुभयो । बुद्ध जन्मेको देशमा बुद्ध आफैं हेंलामा परेको भन्दै भिक्षु श्रद्धानन्दले अरू देशमा बौद्ध धर्मको विकास र विस्तार भएपनि नेपालमा बौद्ध धर्मको अवहेलना हुनु दुर्भाग्य भएको बताउनुभयो । त्यस्तै, बौद्ध धर्मका पूज्य गुरु मिन गुरुले मगर समुदायमा बौद्ध जागरण आएकोमा खुशी व्यक्त गर्दै मगर समुदाय बौद्धमार्गी भएको बताउनुभयो ।

मगर समुदायको संस्कारका हिसाबले पनि बौद्ध धर्मसँग सम्बन्धित भएको भन्दै बुद्ध शिक्षामा जोड दिनुपर्ने आवश्यकता औंल्याउनुभयो । नेपाल मगर संघका केन्द्रीय अध्यक्ष महेन्द्र थापामगरले मगर जाति धार्मिक र राजनीतिक रूपमा विभाजित भएकाले एकताबद्ध हुन गाह्रो परिरहेको भन्दै धार्मिक रूपमा एउटै बुझाइ बनाउनका लागि मगर बौद्ध सम्मेलन सफल हुने विश्वास व्यक्त गर्नुभयो ।

नयाँ संविधानले मगर समुदाय र मगर भूमिलाई विभाजित गरेकोमा आक्रोश व्यक्त गर्दै अध्यक्ष थापाले नयाँ संविधानले धर्मनिरपेक्षताको गलत व्याख्या गरेको बताउनुभयो । साथै, उहाँले मगर विहार निर्माणका लागि मगर बौद्ध सम्मेलनले महत्वपूर्ण निर्णय गरोस् भन्ने शुभकामना दिनुभयो । संघीय जनमुक्ति पार्टीका अध्यक्ष एवं पूर्व मन्त्री एमएस थापामगरले ऐतिहासिक र सांस्कृतिक पक्ष केलाउँदा पनि मगर जाति बौद्ध नै भएको प्रमाणित हुने दाबी गर्दै मगर समुदायले बौद्ध दर्शनलाई अँगालेर अघि बढ्नु युगीन आवश्यकता भएको बताउनुभयो ।

नेपाल मगर बुद्ध सेवा समाजका केन्द्रीय अध्यक्ष देउबहादुर रानामगरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन कमल थापामगरले गर्नुभएको थियो भने सम्मेलनका व्यवस्थापन संयोजक टीबी पुनमगर ‘रोशन’ले स्वागत गर्नुभएको थियो ।
सम्मेलन अघि पोखराको वीपीचोक, चिप्लेढुंगाबाट सुरु भएको सांस्कृतिक झाँकीसहितको विशाल शान्ति ¥याली भीमसेनचोक, महेन्द्रपुल, नयाँबजार, लखनचोक, सभागृहचोक हुँदै पोखरा सभागृहमा पुगी कार्यक्रममा परिणत भएको थियो ।

सोमबारसम्म हुने सम्मेलनमा ४० भन्दा जिल्ला तथा भारत, भुटान, हङकङ, बेलायतलगायतका देशबाट समेत गरी करिब तीन सय प्रतिनिधि एवं पर्यवेक्षक सहभागी छन् । साथै, सम्मेलनमा विभिन्न बौद्ध विद्वानहरूबाट छ वटा कार्यपत्र प्रस्तुत हुनेछन् भने सोमबार पोखरा घोषणापत्र जारी गर्दै सम्मेलन सकिने संयोजक टीबी पुनमगर ‘रोशन’ले जानकारी दिनुभयो ।

कमेन्टहरु
Loading...