लकडाउन उल्लंघन गरे ६ महिना कैद

पोखरा, ११ चैत / नेपाल सरकारले कोरोना भाइरस संक्रमणको महामारीबाट जोगिन एक साताका लागि देशलाई ‘लकडाउन’ गरेको छ । देशभरका नेपालीहरुलाई चैत ११ गतेदेखि १८ गतेसम्म घरबाट बाहिर निस्कन रोक लगाइएको छ ।

सोमबार काठमाडौंमा एक जनामा कोरोना संक्रमण पुष्टि भएलगत्तै सरकारले देशलाई लकडाउने गर्ने निर्णय गरेको हो । लकडाउन उल्लंघन गरेमा ६ महिना सम्म कैद र ६ सय रुपैयाँसम्म जरिवाना वा दुवै सजायँ हुने व्यवस्था छ ।

यो अवधिमा अत्यावश्यक बाहेकका गतिविधि गर्न र त्यससँग सम्बन्धित गाडी चलाउनमात्र पाइन्छ । मानिसहरुलाई घर बाहिर निस्किन नदिने र अत्यावश्यक सेवा सञ्चालनमात्र गर्न पाइने छ ।
लकडाउनको बेला पत्रकारहरुलाई जिल्ला प्रशासन कार्यालयबाट पासको व्यवस्था मिलाइएको छ ।

स्वास्थ्य र सुरक्षाका सवारी साधन सञ्चालन हुन पाउँछन् । यसैगरी औषधि, तरकारी, खाद्यान्न, पानी, दूध, विद्युत, सूचना तथा सञ्चार, भन्सार, क्वारेन्टाइन र फोहरमैला संकलनका क्षेत्रमा काम गर्ने कर्मचारीहरुलाई लकडाउनमा छुट छ ।

यस्तै औषधि, स्वास्थ्य उपकरण, खाद्यवस्तु, पानी, दूध र इन्धनसँग सम्बन्धित उद्योग तथा कलकारखाना सन्चालन हुन पाउँछन् । लक डाउनका कारण पोखरा प्राय ठप्प छ ।

कमेन्टहरु
Loading...