लायन्सको चुनाब भोजै भोज, भोट माग्दै ध्रुव र विश्वेश्वर

पोखरा, १४ चैत / ‘हामी सेवा गर्छौँ’ भन्दै सामाजिक काममा सक्रिय लायन्सहरुलाई चुनाब लागेको छ । ‘लायन्स क्लव अफ इन्टरनेसनल ३२५ बि १’ को आउँदो वैशाख पहिलो साता आयोजना हुने छैटौँ जिल्ला सम्मेलनसँगै हुने ‘सेकेण्ड भाइस डिष्ट्रिक्ट गभर्नर’ पदको लागि पोखराबाट दुईजनाले उम्मेदवारी घोषणा गरेपछि यो निर्वाचन पेचिलो समेत बनेको छ ।

वैशाखको १३ र १४ गते आयोजना हुने सम्मेलनको क्रममा सेकेण्ड भाइस डिष्ट्रिक्ट गभर्नरको चुनाब हुँदैछ । सो पदको लागि पोखराबाट ध्रुव श्रेष्ठ र विश्वेश्वर आचार्यले उम्मेदवारी घोषणा गरी प्रचारप्रसार थालेका छन् । हुनेखानेहरुको संस्थाको रुपमा चिनिने लायन्सको उम्मेदबारीसँगै भोज÷भतेर पनि सुरु भएको छ ।

अध्यक्षका दुबै प्रत्यासीले अहिलेसम्म घोषित रुमा दुईपटकसम्म भोज आयोजना गरिसकेका छन् । चुनाब नजिकिएपछि यस्ता भोज र भेला झन बढ्ने लायन्स क्लवका एक सदस्यले जानकारी दिए ।
दुबै उम्मेदवारले आफूलाई मत दिए लायनवादलाई अझ उँचो बनाउने उद्घोष गरेका छन् । श्रेष्ठ पोखराको जेठो लायन्स क्लव अफ पोखरा अन्नपूर्णका पूर्व अध्यक्ष हुन् ।

अन्नपूर्ण सामाजिक गतिविधिका लागि सबैभन्दा सक्रिय क्लव हो । विदेशी सहयोग जुटाएर यो क्लवले विद्यालयसहित करिब १० करोडजतिका भौतिक निर्माणका कामहरु गरेको छ । उता, विश्वेश्वर आचार्य लायन्स क्लव अफ पोखरा सेण्टरका पूर्व अध्यक्ष हुन् । छोटो समयमा लायनको रुपमा चर्चित बनेका उनी दिएको काम सम्पन्न गर्ने मामलामा अब्बल मानिन्छन् ।

लायन्स क्लवमा सेकेण्ड भाइस डिष्ट्रिक्ट गभर्नर पदलाई गर्भनर हुने बाटोको रुपमा बुझिन्छ । सेकेड भाइस डिष्ट्रिक्ट गर्भनर पदमा यो संस्थासँग आवद्ध सबै लायन्स क्लवहरुले मतदान गर्छन् । तर सेकेण्ड भाइस गभर्नरभन्दा माथि उक्लन मतदान हैन, एस वा नो भोट लिएमात्र पुग्छ । अहिले लायन्स क्लव अफ इण्टरनेसनल ३२५ बि १ मा तनहुँका अशोकुमार श्रेष्ठ गभर्नर रहेका छन् । प्रथम भाइस डिष्ट्रिक्ट गर्भनरमा ईन्दु लम्साल छन् भने दोस्रोमा बागलुङका मनबहादुर रोका रहेका छन् ।

वैशाखमा हुने लायन्स कन्भेन्सनले ईन्दुलाई गर्भनरमा उकाल्नेछ भने मनबहादुरले उनको ठाउँ लिनेछन् । उनीहरुले सजिलै ‘एस भोट’ पाउने अनुमान गरिएको छ । मनबहादुरमाथि उक्लेपछि खालि रहेको ठाउँमा हुने निर्वाचनमा काठमाण्डौंसहित गण्डकी प्रदेशमा रहेका करिब १ हजारजनाले मतदान गर्नेछन् । लायन्स क्लबमा १५ जना सदस्य भए एकजनालाई मताधिकार दिइन्छ भने २० जना सदस्य भएको क्लबले २ वटा मत हाल्न पाउँछनु ।

२५ भन्दा बढी सदस्य भएका क्लबको हकमा ३ भोटको ब्यवस्था गरिएको छ । लायन्स ३२५ बि १ मा २ सय ६७ भन्दा बढी क्लब र १० हजारभन्दा बढी सदस्य आवद्ध रहेका छन् । पोखराबाटै दुई जनाको उम्मेदवारी परेपछि यहाँका लायन्सहरुबीच तानातान देखिएको छ । लान्यस क्लबमा अन्य संघ/संस्थाजस्तो प्रत्यक्ष राजनीति हावी त छैन तर आस्थाको आधारमा भित्रभित्रै भोट भने मागिन्छ ।

लायन्स स्रोतका अनुसार अहिले उम्मेदबार बनेका दुबैजना वाम विचारधारासँग नजिक मानिन्छन् । तर, ध्रुवभन्दा विश्वेश्वरसँग राजनीतिक चासो केही बढी रहेको छ । पोखराका दुई क्लबबीचको प्रतिष्पर्धाको रुपमा समेत यो चुनाबलाई हेरिएको छ । अन्नपूर्ण कामले अगाडि छ र त्यहाँ आवद्ध सदस्यहरु पनि समाजमा क्रियाशिल मानिन्छन् । यता, विश्वेश्वर आवद्ध क्लब भने केही नयाँ हो ।

अर्कोतर्फ पोखरा मात्र नभएर बागलुङ, लमजुङदेखि काठमाण्डौंसम्मका लायन्स क्लबहरुको मत प्राप्त गर्नुपर्ने भएकोले अहिले सम्पर्क र पहुँचले पनि यो चुनाबमा प्रभाव पार्छ । यो चुनाबमा बाहिर ध्रुब र विश्वेश्वर देखिए पनि सोही क्लबका पूर्व गभर्नर ध्रुवकुमार थापा, निवर्तमान गभर्नर धनराज आचार्य, पूर्व मल्टिपल काउन्सिल चियर पर्सन बालकृष्ण बुर्लाकोटीहरुको रुचिले काम गरेको लायन्स स्रोतले बतायो ।

ध्रुव थापा र बालकृष्ण बुर्लाकोटी दुबैको आँखा लायन्स अन्तर्राष्ट्रियको पदतिर सोझिएका छन् । उनीहरु आफू त्यहाँ पुग्न आफू अनुकूलको गभर्नर चाहन्छन् । अहिले थापाको सहयोग श्रेष्ठलाई छ भने बुर्लाकोटी र आचार्य विश्वेश्वरको पक्षमा देखिएका छन् ।

‘यो लडाईँ भनेको खासमा ध्रुव थापा र बालकृष्ण बुर्लाकोटीको हो,उनीहरु आफू अनुकूलको गर्भनर चाहन्छन’, स्रोतले भन्यो,‘ उनीहरुलाई मिलाउन गरिएको प्रयास सफल नभएको पनि त्यही भएर हो ।’ स्रोतका अनुसार ध्रुब श्रेष्ठ पोखरामा बलियो देखिएका छन् ।

तर, काठमाण्डौंमा भने विश्वेश्वर बलिया छन् । उनको पक्षमा रहेका बुर्लाकोटी र धनराज दुबै काठमाण्डौंमै बस्ने भएकाले पनि त्यस्तो देखिएको आएको स्रोतले जनायो । तर, चुनावी परिणामको आँकलन अहिल्यै गर्न नसकिने स्रोतको भनाई छ ।

कमेन्टहरु
Loading...