लायन्सको कुम्भ मेला मल्टिपल फेलोसिप पोखरामा

पोखरा, ५ मंसिर /पर्यटकीय नगरी पोखरामा आयोजित लायन्स कुम्भ मेला तथा लायन्स मल्टिपल फेलोसिप कार्यक्रम शनिबार सम्पन्न भएको छ । कार्यक्रममा देशभरका लायन्स लिडर, सदस्य तथा लायन्स परिवार सहित करिब ७ हजार जना सहभागी भएको निबर्तमान डिष्ट्रिक्ट गभर्नर तथा मल्टिपल फेलोसिप चेयरपर्सन ध्रुव थापाले जानकारी दिए ।

चारवटै डिस्ट्रिक्टका लिडर तथा सदस्यहरूलाई एउटै थलोमा जम्मा गराइ आत्मीयता तथा भाइचार अभिबृद्धि गराउने उद्देश्यले आयोजित कार्यक्रम भव्य रुपमा सफल भएको थापाले बताए । ‘कार्यक्रमले पुरै पोखरालाई लायन्समय बनाउन सफल भयो,’ उनले भने, ‘पर्यटकीय नगरी पोखराको प्रचार–प्रसार गर्न पनि कार्यक्रमले योगदान पु¥याएको छ ।’

‘पोखरा डिस्टिनेसन अफ प्लेजर’ नाराका साथ लायन्स डिस्ट्रिक्ट ३२५ बि वानले पोखरामा कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा महिला कबड्डी, हाजिरी जबाफ, भलिबल, फुटबल, रस्साकस्सी, युगल नृत्य, म्युजिकल चियर लगायतका प्रतियोगिता सञ्चालन गरिएको थियो । विविध सांस्कृतिक कार्यक्रम तथा मौलिक खानाका परिकार कार्यक्रमको आकर्षण बनेका थिए ।
उक्त अवसरमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि लायन्स अन्तर्राष्ट्रिय डाइरेक्टर सञ्जय खेतानले पर्यटकीय नगरी पोखरामा आयोजित लायन्सका हरेक कार्यक्रम उत्कृष्ट हुने गरेको बताए । ‘कार्यक्रमले यहाँको पर्यटनलाई चलायमान बनाउन सघाएको छ,’ उनले भने ।

लायन्स स्थापनाको एक सय वर्ष पुगेको अवसरमा फेलोसिप सुरु हुनु अगाडि पोखराको चिप्लेढुंगाबाट लायन्स सेन्टेनियल परेड आयोजना गरियो । परेडमा हजारौं लायन्स लिडर तथा सदस्यहरु सहभागी भएको मूल आयोजक समितिका सचिव नारायणहरि भण्डारीले जानकारी दिए । ‘कार्यक्रम निकै उत्साहजनक रुपमा सफल भयो,’ उनले भने, ‘फेलोसिप अन्तर्गत सञ्चालित सबै कार्यक्रम तथा प्रतियोगिता सफल भए ।’ यस प्रकारको कार्यक्रम अघिल्लो वर्ष चितवनको सौराहामा डिस्ट्रिक्ट ३२५ बी टुले आयोजना गरेको थियो ।

कार्यक्रममा लायन्स इन्टरनेशनल डाइरेक्टर सञ्जय खेतान, पूर्व इन्टरनेशनल डाइरेक्टर एन.एस. शंकर, पोखरा विश्वविद्यालायका उपकुलपति प्रो.डा. चिरञ्जीवी शर्मा, अमेरिकाका लागि अबैतनिक महावाणिज्य दुत प्रेमराजा महत लगायतले एक सय वर्षसम्म लायन्सले समाजका विभिन्न क्षेत्रमा पु¥याएको योगदानको चर्चा गरेका थिए ।

कार्यक्रम सम्पन्न गर्न डिष्ट्रिक्ट ३२५ बि १ नेपालका डिष्ट्रिक्ट फेलोशिप कमिटी चियरपर्सन बिमला श्रेष्ठ संयोजक, लायन्स क्लब अफ पोखरा गण्डकीका पूर्व अध्यक्ष दीन कुमारी शर्मा र पोखरा गोल्डेन चौतारीका पूर्व अध्यक्ष किशोर बराल सहसंयोजक, पोखरा स्टकका संस्थापक अध्यक्ष नारायणहरि भण्डारी सचिव र पोखरा युनाइटेड पूर्व अध्यक्ष कमल बहादुर बस्नेत कोषाध्यक्ष रहेको ३५ सदस्यीय मूल व्यवस्थापन कमिटी गठन गरिएको थियो ।

कमेन्टहरु
Loading...