३५ क्लबको एकै पटक पदस्थापन, ‘पढाऔं अभियान’लाई महत्वपूर्ण कार्यक्रम ः गभर्नर आचार्य

पोखरा, ८ साउन /पूर्व अर्थसचिव तथा अर्थविद रामेश्वर खनालले शिक्षाबाट मात्र मुलुकको समृद्धि सम्भव भएको बताएका छन् । लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपाल क्लस्टर नं. ३ अन्तर्गका ३५ वटा क्लबको संयुक्त पदस्थापन कार्यक्रममा बोल्दै खनालले शिक्षाको विकासले देशको दीगो विकासमा पनि सघाउने धारणा राखे ।

डिष्ट्रिक्ट ३२५ बि १ नेपालका डिष्ट्रिक्ट गभर्नर धनराज आचार्यले लायन वर्ष २०१७÷१८ का विभिन्न कार्यक्रममध्ये ‘पढाऔं अभियान’ पनि सञ्चालन गरेका छन् । लायन्सले पवित्र भावनाका साथ समाज सेवा गरिरहेको बताउँदै खनालले लायन्सले सञ्चालन गरेको पढाऔं अभियानलाई प्रभावकारी बनाउन सुझाव दिए । ‘शिक्षाबाट बञ्चित बालबालिकालाई विद्यालय सम्म जाने वातावरण बनाउन सबैले सघाउनुपर्छ,’ उनले भने, ‘लायन्स जस्ता सामाजिक संघसंस्थाले नेपालको शिक्षा, स्वास्थ्य तथा सामाजिक क्षेत्रमा पु¥याएको योगदान महत्वपूर्ण छ ।’

पढाऔं अभियानले नेपालको शिक्षा क्षेत्रमा दीर्घकालीन प्रभाव पार्नसक्ने बताउँदै खनालले आयआर्जनका कार्यक्रमहरुसमेत सञ्चालन गर्न डिष्ट्रिक्टलाई सुझाव दिए । सार्वभौम सत्ता प्रयोग गर्ने अधिकार पछिल्लो समय स्थानीय तहमा आएको बताउँदै खनालले सबैले परिवर्तनको महसुस गर्नेगरी काम गर्नुपर्ने धारणा राखे ।

डिष्ट्रिक्ट गभर्नर आचार्यले नेपालका दूरदराजमा रहेका कयौं विद्यार्थी शिक्षाबाट बञ्चित रहेकाले आफूले पढाऔं अभियान सञ्चालन गरेको जानकारी दिए । ‘यो हाम्रो डिष्ट्रिक्टको महत्वपूर्ण अभियान हो,’ उनले भने, ‘यो अभियानमा सघाउन थुप्रै प्रतिबद्धता आएका छन् ।’ उक्त अभियानमा अर्बौं रुपैयाँ संकलन गर्न सकिने आचार्यले बताए । ‘उक्त अभियानमा लायन्स र गैरलायन्स दुवैले योगदान पु¥याउन सक्छन्,’ उनले भने ।

पढाऔं अभियानका लागि हालसम्म २ करोड रुपैयाँ भन्दा बढी प्रतिबद्धता आइसकेको आचार्यले जानकारी दिए । लायन्स अन्तर्राष्ट्रिय स्थापनाको सय वर्षमा आफू गभर्नर भएको स्मरण गर्दै उनले डिष्ट्रिक्टले सयवटा कार्यक्रम सञ्चालन गर्ने बताए । हरेक शुक्रबार लायन्स स्कुल सञ्चालन गरेर ५ हजार भन्दा बढी लायन सदस्यलाई स्कुलमा उपस्थित गराउने आफ्नो लक्ष्य रहेको आचार्यले जानकारी दिए ।

मल्टिपल काउन्सिल चियरपर्सन बालकृष्ण बुर्लाकोटीले नेपाली लायन्स क्लबहरुले सामाजिक क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएको स्मरण गर्दै डिष्ट्रिक्ट ३२५ बि १ संसारकै उत्कृष्ट डिष्ट्रिक्टमा पर्न सफल भएको बताए । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखेले लायन्सले सञ्चालन गरेको पढाऔं अभियान प्रभावकारी रहेकाले निजी क्षेत्र पनि सहकार्य गर्न तयार रहेको बताए । उनले सोही अवसरमा आफ्ना स्वर्गीय पिताको नाममा ५० हजार रुपैयाँको कोष घोषणा गरे ।

३५ वटा क्लबको एकैदिन पदस्थापन
डिष्ट्रिक्ट अन्तर्गतका ३५ वटा क्लबको शनिबार एकैदिन पदस्थापन भएको छ । बिगतका वर्षहरुमा प्रत्येक क्लबको फरक–फरक दिनमा पदस्थापन गर्दा लामो समय लागेकाले गभर्नर आचार्यले डिष्ट्रिक्ट अन्तर्गतका क्लबहरुलाई क्लस्टरमा विभाजन गरेर संयुक्त पदस्थापनको सुरुवात गरेका हुन् ।

क्लस्टर ३ अन्तर्गतका ३५ वटा क्लबका पूर्व अध्यक्षले शनिबार नै नयाँ अध्यक्षलाई पदभार हस्तान्तरण गरेको क्लस्टर प्रमुख रामचन्द्र पोखरेलले जानकारी दिए । पूर्व अध्यक्षहरुले गत वर्ष भएका कार्यक्रमहरु जानकारी गराएका थिए भने नयाँ अध्यक्षहरुले यो वर्ष गर्ने कार्यक्रमको प्रतिबद्धता व्यक्त गरेका थिए ।

कार्यक्रममा फस्ट भाइस डिष्ट्रिक्ट गभर्नर अशोक कुमार श्रेष्ठ, चिफ एडभाइजर मनबहादुर रोका, क्याबिनेट सेक्रेटरी चण्डीप्रसाद अर्याल, एम्बास्डर अफ गभर्नर छबि शर्मा लगायतले बोलेका थिए ।

कमेन्टहरु
Loading...