तीज नजिकिँदा लामाचौर महात्सव रौनक बढ्दै

पोखरा, १३ भदौ/तीज नजिकिँदै जाँदा लामाचौरमा हुने हरितालिका तीज महोत्सव–२०७३ एवं राष्ट्रिय महिला भलिबल प्रतियोगिताको रौनक बढेको छ । ‘मौलिक संस्कृतिको जगेर्ना गरौं’ भन्ने मूल उद्घोषका साथ नव आदर्श सामुदायिक विकास समाजले तयारी अन्तिम चरणमा पु¥याएको जनाएको छ ।

महोत्सव सम्पन्न गर्न गठित २० उपसमितिले तोकिएको जिम्मेवारी करिब ९० प्रतिशत पूरा गरेका छन् । मुख्य आकर्षण राष्ट्रिय महिला भलिबलको लागि दर्शक प्यारापिट निर्माण भैरहेको प्रचार संयोजक अर्जुन अधिकारीले जानकारी दिए । भलिबलमा ६ टीमबीच प्रतिष्पर्धा हुनेछ । भदौ १७ देखि १९ गतेसम्म चल्ने उक्त प्रतियोगिता विजेताले ७५ हजार र उपविजेताले ५० हजार रुपैयाँ साथमा शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार पाउनेछ ।

संस्थाको २० औं वार्षिकोत्सव अवसरमा संस्कृति जगेर्ना गर्दै आन्तरिक एवं बाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित महोत्सवको करिब डेढ लाख दर्शकले अवलोकन गर्ने आयोजकको अपेक्षा छ । करिब २५ लाख रुपैयाँ खर्च लाग्ने महोत्सवको लागि हालसम्म २० लाख रुपैयाँ संकलन भैसकेको छ । महोत्सवमा ३० लाख रुपैयाँ संकलन गर्ने लक्ष्य छ । महोत्सव उद्घाटन राखेप सदस्य सचिव केशवकुमार विष्टले गर्नेछन् ।

महोत्सवमा अन्तरमावि छात्रा भलिबल, अन्तरमहिला तीज गीत प्रतियोगिता, अन्तरविद्यालय लोकनृत्य, महिला म्युजिकल चेयर, श्रष्टा सम्मान जिल्लास्तरीय नरबहादुर बानियाँ स्मृति कप सितेरियो कराँते र नवआदर्श सामाजिक उद्यमी राष्ट्रिय पुरस्कारलगायत दर्जनौं कार्यक्रम हुँदैछन् । महोत्सवबाट बचत रकम मानवीय संवेदनका क्षेत्र एम्बुलेन्स र शव बहान संचालनमा खर्च गरिने आयोजकले जनाएको छ ।

कमेन्टहरु
Loading...