स्व.ललित गौचन स्मृति सम्मान गिरीधारी अधिकारीलाई

पोखरा, २२ फागुन /नागरिक समाज पोखराले यस वर्षको स्व.ललित गौचन स्मृति समाजसेवा सम्मान बैदाम लेकसाइडका सामाजिक अभियन्ता गिरिधारी अधिकारीलाई प्रदान गर्ने भएको छ । नागरिक समाज पोखराको हालै बसेको बैठकले निर्णय गरेको हो ।
नागरिक समाज पोखराका संयोजक रामबहादुर पौडेलका अनुसार टोल विकासका अभियन्ता स्व.ललित गौचनको स्मृतिमा सामाजिक सेवा मार्फत पोखरालाई कर्मथलो बनाई विकाससँगै वातावरण एवम् सम्पदा संरक्षणमा विशेष योगदान दिने व्यक्तित्वलाई प्रोत्साहित गर्न यो सम्मानको व्यवस्था गरिएको हो ।

विगत लामो समयदेखि टोल विकास संस्था वडा समन्वय समितिको पोखरा–६ मार्फत विकासका पूर्वाधार लगायतका वातावरण एवम् सम्पदा संरक्षण अभियानमा क्रियाशील अधिकारी बसुन्धरा पार्क बचाउ आन्दोलनका अध्यक्ष समेत हुन् ।

प्रवक्ता राममोहन आचार्यको संयोजकत्वमा गठित प्रतिभा छनौट समितिमा संचारकर्मी दुर्गा अधिकारी, मानवअधिकारकर्मी विष्णुहरि अधिकारी, रेडक्रसकर्मी ठाकुरप्रसाद बराल र टोल विकासका अभियन्ता अर्जुन भण्डारी रहेका छन् ।

कमेन्टहरु
Loading...