लाटोकोसेरो तथा हुचिल संरक्षण गर्न स्याङजामा ‘उत्सव’

पोखरा, २५ माघ/ नेपालबाट चराको चोरी सिकारी बढ्दै गएको छ । हुचिल एवं लाटेकोसेरोको चोरी सिकारी अझै बढी छ । चराको चोरी सिकारी नियन्त्रण गर्न जनस्तरबाटै चासो दिनुपर्ने अत्यावश्यक छ ।

त्यसै अनुसार स्याङजाकोे विरुवा गाँउपालिका–३ र पुतलीबजार नगरपालिका–२ को सिमानास्थित राङभाङ–भैसेगौँडामा ‘नेपाल लाटोकोसेरो तथा हुचील उत्सव’ आयोजना गरिएको छ । जनस्तरबाटै चराचुरुङीको संरक्षण र सम्वद्र्धन गर्ने उद्देश्यसहित उत्सव आयोजना गरिएको हो । स्थानीय राङभाङ क्लब, मिलेनियम टे«क व्यवस्थापन समिति र प्रकृतिका साथीहरु संस्थाको आयोजनामा दुई महोत्सव शनिबार टुंगिने छ ।

नेपालबाट वर्षेनी दुईहजारको संख्यामा लाटोकोसेरोको चोरी सिकारी हुदैं आएको छ । गैंडा लगायतका वन्यजन्तुको चोरी सिकारीसँगै लाटोकोसेरोको पनि पछिल्लो समय व्यापक रुपमै चोरी सिकारी भएको छ । औषधी, झारफुक तथा घरमा पाल्नका लागि भारत, चीन लगायत विभिन्न खाडी मुलुकहरुमा लाटेकोसेरोको अवैध कारोबार हुने गरेको छ ।

प्रकृतिका साथीहरु नामक संस्थाले ४६ वटा जिल्लामा गरेको प्रारम्भिक अध्ययनको आधारमा नेपालबाट वार्षिक कम्तीमा दुईहजार लाटोकोसेरा तथा हुचील मारिने तथा विभिन्न मुलुकहरुमा अवैध रुपमा पठाइने गरेको भेटिएको पोखरा पक्षी समाजका अध्यक्ष मनशान्त घिमिरले बताए । गाँउघरमा गुलेलीको प्रयोग गरि लाटोकोसेरो लगायत चराहरु मार्ने गरिएको छ ।

‘लाटेकोसेरोको चोरी सिकारी नियन्त्रण जनस्तरबाट गर्नुपर्छ भन्ने उद्देश्यले नै उत्सव आयोजना गरिएको हो ।’ पक्षी समाज पोखराका अध्यक्ष घिमिरेले भने–‘जनचेतनाको लागि फोटो प्रदर्शनी लगायतका विभिन्न गतिविधि आयोजना गरिएको छ ।’ नेपालमा हिमालीदेखि तराईसम्म लाटोकोसेरो तथा हुचिल पाईन्छ । बढीमा दुई केजी तौलसम्मको हुने उनको भनाई थियो ।

हिमाली र पहाडी तथा मध्य पहाडी क्षेत्रमा मध्यम र तराई क्षेत्रमा केही ठूला साईज(तौल)का हुचिल पाईन्छ । २३ प्रकारका लाटोकोसेरोको प्रजाती अभिलेख गरिसकिएको छ जसमध्ये ९ प्रजातीहरु नेपालमा दुर्लभ मानिन्छन् । यसमध्ये एकवटा प्रजातीहरुलाई लामो समय देखि नेपालमा अभिलेख गरिएको छैन् । विश्वमा करिब २२५ प्रजातीका लाटोकोसेरो पाइन्छन् ।

उत्सवमा विद्यालयस्तरीय लाटोकोसेरो चित्रकला, कथा, निबन्ध तथा कविता प्रतियोगिता आयोजना गरिएको उनले बताए । गहँुको छ्वाली, चुरा, ढुंगा, स्टीलको पाता, लप्सीको दाना तथा माटोबाट बनाइएका लाटोकोसेरोको समेत प्रदर्शनीमा राखिएका छन् । आठ प्रजातिको लाटोकोसेरोहरुको आवाज सुन्ने र भिडियो हेर्ने व्यवस्था मिलाइएको छ । उत्सवमा लाटोकोसेरोको एकफिट अग्लो रोबोट समेत प्रदर्शनी गरिनेछ ।

मुसाको संख्या नियन्त्रण गरेर किसानलाई सहयोग गर्ने भएकोले यसलाई किसानको वास्तविक साथीको रुपमा अर्थयाईन्छ । भाले, पोथी र बच्चाहरुले एक सिजनमा तीन हजारवटासम्म मुसाहरु खाने गर्छन् । मुसाबाहेक यिनले किरा फट्याङग्रा, सर्प, भ्यागुताको संख्या पनि नियन्त्रण गर्दछन् । पर्यावरणलाई सन्तुिलत राख्न पनि लाटेकोसेरोको भूमिका महत्वपूर्ण हुने बातावरणविद बताउँछन् ।

उत्सवमास्थानीय सांस्कृतिक कार्यक्रम अन्तर्गत घाँटु, झोरा, सोरठी, कौडा, नौमती बाजा, भजन, सालैजो, २२ ताल भाका, छैटी आदिको प्रर्दशनी गरिने छ । वन विज्ञान अध्ययन संस्थान पोखराका विद्यार्थीले लाटोकोसेरो संरक्षण सम्बन्धि नाच समेत प्रदर्शन गरिने छ ।

कमेन्टहरु
Loading...