तीन करोडको भवन प्रयोग नहुँदै भताभुंग, दोषीलाई सजाएँको माग गर्दै आमरण अनसन

सुमन ढुंगाना
पोखरा, १७ माघ /ठूलाठूला सभा सम्मेलन गर्ने गरी पृथ्वीनारायण क्याम्पसको हातामा बनेको भवन निर्माण पूरा भएको ७ वर्ष बितिसक्दा पनि प्रयोगमा आउन सकेको छैन । साढे २ करोड रुपैयाँमा बनेको भवन प्रयोगमा नआउँदै भताभुंग बनेको छ । पूर्वाधार सबै तयार भइसकेर फिनिसिङ बाँकी रहेको भवनका झ्याल ढोकाका सिसा फुटिसकेका छन् । भवन वरिपरि झाडी बढेर कुरुपता बढाएको छ ।

भवनको रङ पनि खुइलिइसकेको छ । ठेकेदार कम्पनी र क्याम्पसबीचको विवादकै कारण भवन प्रयोगविहीन बनेको हो । २०१७ सालमा स्थापित क्याम्पसको स्वर्ण जयन्तीको मौकामा उक्त भवन निर्माण सुरु भएको थियो । सभा सम्मेलनसँग अनुसन्धानका लागि पनि भवन बनेको हो । ईन्द्रणी फेवा गौचन जेभी कम्पनीले उक्त भवन निर्माण गरेको हो । भवन निर्माण गर्दै जाँदा खर्च बढ्ने ठेकेदारले बताएको तर क्याम्पसले दिन नसक्ने भनेपछि विवाद भएको थियो । यसबारे ठेकेदारले हालेको मुद्दा पोखरा उच्च अदालतमा विचाराधीन छ ।

ठेकेदारले भेरिएसनबापत मागेको रकम दिने हैसियत क्याम्पससँग नभएपछि विवाद बढेको हो । केन्द्रिय क्याम्पसले छुट्टै छानबिन समिति बनाएर विवाद समाधान गर्ने र ठेकेदारले मागेजति रकम आफुले दिन नसक्ने क्याम्पस प्रमुख चन्द्र बहदुर थापाले बताए ।

यता भवन निर्माणका क्रममा भ्रष्टाचार भएको र त्यसको छानबिन हुनुपर्ने माग गर्दै क्याम्पसकै २ विद्यार्थी कृष्ण अधिकारी र नरेन्द्र बस्नेत आमरण अनसन बसेको ४ दिन भैसकेको छ । क्याम्पसको वार्षिक आम्दानी र खर्च पारदर्शी हुनुपर्ने, राजनीतिक भागबन्डा अन्त्य गर्नुपर्ने लगायत माग राखी अनसन थालेको उनीहरुको भनाइ छ ।

ठेकेदारले भवन निर्माणको सम्झौताअनुसारको साढे २ करोड रुपैयाँ भने बुझिसकेको छ । क्याम्पस प्रमुख थापा भेरिएसनवापत सामान्यतया १० प्रतिशत रकम थप गर्ने अधिकारी क्याम्पससँग भए पनि त्यसभन्दा बढी ठेकेदारले मागेको सुनाए । ‘३०/३२ प्रतिशत बढी खर्च माग गरेपछि हाम्रो बसमा थिएन’, उनले भने । ठेकेदार कम्पनीले ठेक्का सम्झौतावापतबाहेक भेरिएयसन भनेर डेढ करोड रुपैयाँ माग गरेको छ ।

यसैबीच त्रिभुवन विश्वविद्यालयले अनुसन्धानका लागि उक्त भवन निर्माण प्रक्रियासम्बन्धी कागजात झिकाएको छ । क्याम्पसले नै यसबारे समिति बनाएर छानबिनको मागसमेत गरेको छ । त्रिविले टेन्डर प्रक्रियादेखिका सबैजसो कागजात झिकाएको हो ।

कमेन्टहरु
Loading...