श्रीकृष्ण जन्माष्टमीमा शोभायात्रा

पोखरा, ३० साउन/श्रीकृष्ण जन्माष्टमी पर्व अवसरमा पोखरामा सोमबार शोभायात्रा निकालिएको छ । सभागृहचोकदेखि सुरु शोभायात्रा सृजनाचोक, रत्नचोकहुँदै केदारेश्वर मन्दिर नजिक कोमागानेपार्क परिसर पुगेको थियो । शोभायात्रामा विभिन्न संघसंस्थाको प्रतिनिधित्व रहने गरी व्यानरसहित उपस्थिति भएका थिए । उनीहरुले झाँकी प्रदर्शन गर्नुका साथै राधाकृष्णको रुपमा सिंगारिएकाहरुलाई अग्रपंक्तिमा राखेर भजनकीर्तनका साथ शोभायात्रा गरेको श्रीकृष्ण जन्माटमी महोत्सव मूल समारोह समितिले जनाएको छ ।

शोभायात्रापछि आयोजित सभाको प्रमुख अतिथि मानव मिलन संस्थाका संस्थापक नेपालकेशरी डा मणिभद्र मुनिजी महाराजले उद्घाटन गर्दै हिन्दू धर्म र गीतको महिमाबारे प्रष्ट पारे । उनले धर्म, संस्कृति रक्षाको लागि सबै जना जुट्नुपर्ने बताए ।डा चैतन्य कृष्णले हरेकले गीता पढ्नुपर्नेमा जोड दिए । १२ दिनमै गीता कष्ठस्थ गरेर रेकर्ड कायम गरेका डा कृष्णले आध्यात्म र धर्मबीच भिन्नता नरहेको बताए । विश्व हिन्दू महासंघ नेपालका अध्यक्ष डा. रामचन्द्र अधिकारीले नारी धर्म र पुरुष विज्ञान रहेको उल्लेख गर्दै धर्मसंस्कृति रक्षाको लागि अघि बढ्नुपर्ने बेला आएको बताए ।

उक्त अवसरमा सनातन धर्म सेवा समितिका अध्यक्ष रवीन्द्र माकाजूलाई सम्मान गरिएको थियो । विश्व हिन्दू महासंघ कास्की अध्यक्ष शंकर खरालको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार महासंघका केन्द्रीय सदस्य सुष्मा पौडेल, प्रचार संयोजक दुर्गा अधिकारी, सम्मानित व्यक्तित्व सनातन धर्म सेवा समितिका अध्यक्ष माकाजूलगायत बोलेका थिए । कार्यक्रम संचालन विश्व हिन्दू महासंघ कास्की सचिव रामजी बराल र स्वागत महासंघ पोखरा लेखनाथ महानगर महिला समिति अध्यक्ष पार्वती पौडेलले गरेकी थिइन् ।शोभायात्रामा उत्कृष्ट झाँकी प्रदर्शन गर्नेलाई पुरस्कृत गरियो ।

प्रथम, दोस्रो, तेस्रो र सान्त्वना हुने मातृकेश्वर भजन समूह, अन्नपूर्ण तालबाराही भजन समूह, डाइनामिक एकेडेमी र श्यामा श्यामा सत्सङ्गले क्रमशः १० हजार, सात हजार पाँच सय, पाँच हजार र दुई हजार पुरस्कार पाए ।यस्तै, शोभायात्रामा उत्कृष्ट सहभागी टिममध्ये चिन्तनशील आमा समूह प्रथम हुँदै पाँच हजार, दोस्रो राधाकृष्ण योग केन्द्रले तीन हजार, तेस्रो मानव मिलन नारी जागरणले दुई हजार पुरस्कार पायो । सान्त्वना ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय नयाँबजार भयो । राधाकृष्णमा सजिनेमा प्रथम ऋदम जिसी र दर्शना पौडेल तथा दोस्रो रेविन थापा र अनुषा लामिछाने भए भने उल्लेख्य सहभागिता जुटाउनेमा विश्व हिन्दू महासंघ पोखरा १७ घोषित भयो ।

५२४४ औं श्रीकृष्ण जन्माष्टमी अवसरमा केदारेश्वरमा सोमबार राति कृष्ण झुला, कृष्ण पूजन एवं ख्यातिप्राप्त कलाकारको प्रस्तुति रहेको थियो । १६ टिमको सहभागिता रहेको भजन चुड्का प्रतियोगिता राति अबेरसम्म जारी थियो ।तीन दशकदेखि सनातन धर्म सेवा समितिले शोभायात्रासहित विन्ध्यवासिनीमा मनाउँदै आएको श्रीकृष्ण जन्माष्टमी यसपालिदेखि विश्व हिन्दू महासंघ कास्कीले शोभायात्रासहित केदारेश्वर मन्दिर परिसरमा मनाउन सुरु गरेको हो ।

कमेन्टहरु
Loading...