किर्ते कागजात बनाएर अर्कैको जग्गा बेच्ने गिरोहका २ थुनामा

पोखरा १५ मंसिर । किर्ते कागजात तयार पारी अर्काको जग्गा बेच्ने गिरोहमा संलग्न दुई जनालाई जिल्ला अदालत कास्कीले पुर्पक्षका लागि थुनामा राख्‍न आदेश दिएको छ।

विदेशमा रहेका व्यक्तिको नाममा रहेको जग्गा बेच्न नक्कली नागरिकता र लालपूर्जा बनाउने काममा संलग्न रहेको आरोप लागेका काभ्रेको बल्थली २ घर भई काठमाडौं बस्दै आएका कृष्णबहादुर श्रेष्ठ र स्याङ्जा बाडखोला घर भई पोखरा बस्दै आएकी अनिता शर्मालाई शुक्रबार जिल्ला अदालत कास्कीले पछि ठहरे बमोजिम हुनेगरी पुर्पक्षका लागि थुनामा राख्‍न आदेश दिएको श्रेस्तेदार दिनबन्धु बरालले जानकारी दिए।

गिरोहले कृष्णबहादुर श्रेष्ठलाई प्रयोग गरी स्याङ्जा जगतभन्ज्याङ ४ का रंगप्रसाद श्रेष्ठको नागरिकता बनाई पोखरा ८ जाल्पारोडको जग्गा बिक्री गर्न सफल भएको थियो। प्रहरीले मुख्य योजनाकार पक्राउ गर्न नसके पनि कृष्णबहादुर, जग्गा किनबेचमा संलग्न श्रेष्ठ र शर्मालाई पक्राउ गरी मुद्दा अघि बढाएको थियो।

घटनाका मुख्य योजनाकार कुमार खड्का, ललित तामाङ, बाबुराम कार्की र राजन सापकोटा लगायत फरार छन्। जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रवक्ता राजेशनाथ बास्तोलाका अनुसार गिरोहले कृष्णबहादुरलाई प्रयोग गरेर कित्ता नम्बर १०७ को ११ आना जग्गा २७ लाख रुपैयाँमा पर्वत तिलहारका रत्‍नबहादुर खत्रीका नाममा राजीनामा पास गरेको थियो।

उक्त जग्गा गत असोज २१ गते राजीनामा पास भएलगत्तै रत्‍नबहादुरले टहरा बनाएर काठ मेसिन राखेपछि छिमेकीहरुले सोधपुछ गर्दा नक्कली जग्गाधनीबाट आफूले जग्गा किनेको भेद खुलेको थियो। आफू ठगिएको थाहा पाएपछि उनले प्रहरीमा उजुरी हालेका थिए।

रत्‍नबहादुरले कात्तिक १५ गते मालपोतमा पुगेर जग्गा फिर्ता गरिदिएका थिए। प्रहरीमा उजुरी परेपछि आरोपी रंगप्रसादबनेका कृष्णबहादुर पक्राउ परेपछि उनको बयानका क्रममा काण्ड पर्दाफास भएको हो।

प्रहरीसँगको बयानमा कृष्णबहादुरले आफूले पैसाको लोभमा ठगीकाण्डमा संलग्न रहेको बताएका छन्। उनले प्रहरीलाई घटनाका मुख्य योजनाकारको नाम र फोन नम्बर समेत दिएपछि प्रहरीले यसलाइै किर्ते ठगी मुद्दा बनाएर मंगलबार मात्रै सरकारी वकिलको कार्यालयमार्फत् जिल्ला अदालत कास्कीमा मुद्दा दायर गरेकोमा शुक्रबार थुनछेकको बहस सकिएपछि थुनाको आदेश भएको हो।

मुद्दामा प्रहरीले कृष्णकुमार श्रेष्ठ, अनिता शर्मा, अन्य योजनाकार कागज बनाउन सघाएको भन्दै पोखरा उपमहानगरपालिका ८ का वडासचिव, उपमहानगरका दुईजना अधिकृत, जिल्ला मालपोतका अधिकृतलगायतका कर्मचारीसहित २१ जनालाई विपक्षी बनाएको छ।

अन्य विपक्षीको हकमा अदालतले पक्राउ पूर्जी काट्ने तयारी गरेको छ। जग्गाधनी रंगप्रसाद भने विदेशमा रहेको र सम्पर्कमा नआएको प्रहरीले जनाएको छ। घटना चर्चामा आएपछि उपमहानगरपालिका र मालपोतका कर्मचारी बिदामा बसेको भए पनि मालपोतका कर्मचारी बिहीबारबाट काममा फर्केका छन् भने उपमहानगरका कर्मचारी अझै कार्यालयमा हाजिर भएका छैनन्।

उपमहानगरको कार्यालयमा तीन दिनदेखि कर्मचारीले श्रेस्ता उतार, फोटो टाँस र नागरिकता नम्बर कायम गर्ने काम ठप्प भएको आजको अन्नपूर्ण पोष्टमा भरत कोईरालाले लेखेका छन् । कर्मचारी अनुपस्थित र कार्यकारी अधिकृत समेत विदेश भ्रमणमा रहेका कारण काम रोकिएपछि सेवाग्राही मर्कामा परेका छन्।

जिल्ला प्रशासन कार्यालय स्याङ्जाबाट २०३६ चैत २७ मा तत्कालिन प्रमुख जिल्ला अधिकारी लोकनाथ अधिकारीको हस्ताक्षरमा जारी र २०४५ असोज २० मा प्रतिलिपि लिएको रंगप्रसादको नामको १८८३ नम्बरको नागरिकतामा कृष्णबहादुरको फोटो राखेर पेस गरेर जग्गा पासको लागि प्रयोग गरिएको छ।

गिरोहले लालपूर्जाको सक्कलै प्रतिसमेत पेश गरेको पाइएको छ । सो जग्गा यसअघि पनि सोही गिरोहले दुई तीनपटक सम्म बैना गरी, रोक्का राख्दै जिल्ला प्रशासन कार्यालयबाट फुकुवा गर्न सफल भएको थियो। जग्गाको हालसाविक गर्नका लागि गिरोहले पोखराकै नयाँ बजारका महिलाहरुको नागरिकता प्रयोग गरेको प्रहरीले जनाएको छ ।

अर्को ठगी गिरोहकै सक्रियतामा चितवन भरतपुर नगरपालिका ९ घरभई २१ वर्षदेखि अमेरिका बस्दै आएकी शान्ता राणाको पोखरा ६ गौरीघाटस्थित कित्ता नम्बर २६८१ को १४ आना जग्गा नुवाकोट निवासी आशमाया लामाले शान्ति राणाको नाममा नक्कली नागरिकता तयार पारी लालपूर्जा निकालेर बिक्री गरिएको थियो। लामाले उक्त जग्गा २०६८ आश्विन ५ गते पोखरा—१२ निवासी बबिता कार्कीलाई बिक्री गरेकी थिइन्। पैसा कमाउनका लागि आशमायालाई अरु नै व्यक्तिले प्रयोग गरेको प्रहरीले बताएको छ । यो घटनाको मुख्य योजनाकारलाई समेत प्रहरीले पक्राउ गर्न सकेको छैन ।

कमेन्टहरु
Loading...