केदारेश्वर मन्दिरमा सेवाश्रमको अध्यक्षमा आचार्य

पोखरा, २९ कात्तिक/केदारेश्वर महोदवमणि सेवाश्रम समिति, बोलबमधाम बैदामको वार्षिक साधारणसभा तथा नियमित अधिवेशनबाट नयाँ कार्यसमिति चयन गरिएको छ । संस्थाका पीठाधीश एवं अध्यक्ष डा लेखनाथ आचार्य नेतृत्वमा वरिष्ठ उपाध्यक्ष हुतराज श्रेष्ठ, उपाध्यक्ष दयानन्द पोखरेल, सचिव खेमबहादुर पहारी, सहसचिव मीना भट्टराई, कोषाध्यक्ष रामप्रसाद वस्ताकोटी, सहकोषाध्यक्ष तुमला श्रेष्ठ चयन भएका छन् ।

सदस्यमा सुशीला अधिकारी, तारा कुँवर, सुशीला भट्टराई, शंकर खराल, पद्मा आचार्य र ओमनाथ अधिकारी चयन छन् । १५ सदस्यीय उक्त कार्यसमितिमा रिक्त २ सदस्य पीठाधीशले पछि चयन गर्नेछन् । मन्दिरको संरक्षण एवं विकासका लागि गठित उक्त कार्यसमितिको कार्यकाल ३ वर्षको हुनेछ ।

कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ समाजसेवी एवं पूर्वसभासद् सूर्यबहादुर केसीले नेपालमा हिन्दूराज्य कायम हुनुपर्नेमा जोड दिँदै यसको लागि लड्न पछि पर्न नहुने बताए । उनले आगामी दिनमा पनि मन्दिरमा आफ्नो तर्फबाट सहयोग गर्दै जाने प्रतिवद्धता व्यक्त गरे ।  समाजसेवी सुशीलकुमार गोशलीले केदारेश्वर मन्दिर यस क्षेत्रकै नमुना बन्दै गएकोमा खुसी व्यक्त गरे ।

कार्यक्रमममा मन्दिरका संरक्षक सल्लाहकार लीलाभक्त आचार्य, पोखरा उपत्यका नगर विकास समितिका पूर्वअध्यक्ष विश्वप्रकाश लामिछाने, बोलबम संयोजक शंकर खराल, मितेरी नारी समूहका अध्यक्ष कमला पहारी, लालबहादुर भट्टराईलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

मन्दिरका सचिव खेमबहादुर पहारीले सचिवको प्रतिवेदन र कोषाध्यक्ष रामप्रसाद वस्ताकोटीले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए । दुबै प्रतिवेदन आवश्यक छलफलपछि सर्वसम्मत पारित भएको थियो । पीठाधीश एवं अध्यक्ष डा. लेखनाथ आचार्यको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव खेमबहादुर पहारी र स्वागत उपाध्यक्ष दयानन्द पोखरेलले गरेका थिए ।

कमेन्टहरु
Loading...