बाढीको क्षेतिले लेसकाइडकै पर्यटनमा धक्का, २८ फिट अग्लो बुद्ध मूर्ति पनि जोखिममा

पोखरा, २ साउन : निरन्तरको वर्षासँगै गत असार १७ गते आएको बाढी र पहिरोका कारण पोखराको खहरे स्थित तीन पर्यटकीय होटलमा गंभीर क्षति पुगेको र आवाशीय क्षेत्र समेत जोखिममा परेको भन्दै त्यसको दीर्घकालिन समाधानका लागि सरकारसँग माग गरिएको छ ।
खहरे बाढी पहिरो पीडित समूह पोखरा कास्कीका संयोजक गणेशराज पहारीले पोखरा लेखानाथ महानगरपालिका जलजला क्षेत्रबाट आएको पहिरोका कारण वडा नम्बर ६ स्थित खहरे क्षेत्रका होटल हार्मोनी, होटल सान्तना र होटल लक्की इनमा क्षति पुगेको हो ।
उक्त पहिरोका कारण होटल हार्मोनी पूर्ण रुपमा बन्द भएको र संचालक नै होटल छाडेर अन्यत्र बस्न थालेको पहारीले बताए । तीन वटै होटलहरु पश्चिमाञ्चल होटल संघका सदस्य होटल हुन् । संघका अध्यक्ष विकल तुलाचनले पनि बाढी पहिरोका कारण प्रभावित होटल र स्थानीय क्षेत्रको संरक्षण र राहतका लागि सरकारले सघाउनुपर्ने माग गरेका छन् ।
आवाशीय तथा पर्यटकीय क्षेत्रमा बाढी र पहिरोले क्षति पु¥याउँदा त्रासको वातावरण समेत रहेको भन्दै संघका महासचिव समेत रहेका पहारीले राज्यले राष्ट्रिय योजनामा नै पारी सो क्षेत्रको संरक्षण र विकास गर्नुपर्ने माग गरेका छन् । बाढी र पहिरोका कारण सो क्षेत्रमा होटलका अतिरिक्त रेष्टुराँ, ट्राभल तथा ट्रेकिङ एजेन्सि समेत प्रभावित भएको जानकारी उनले दिए ।
बाढी र पहिरोले क्षति पुर्याएको क्षेत्रको उचित व्यवस्थापन र पीडितहरुलाई क्षतिपूर्ति दिनुपर्ने माग समेत पहिरो पीडित समूहले गरेको छ । लेकसाइड क्षेत्र पर्यटकीय क्षेत्र भएका कारण उक्त पहिरो र क्षतिले त्यस क्षेत्रको पर्यटनमा नै नकारात्मक असर पर्ने आशंका समेत व्यक्त गरिएको छ । यसको दीर्घकालिन उपचार खोज्न स्थानीय खहरे टोल विकास संस्थाले समेत माग गरेको छ ।
 बाढी र पहिरोले उत्पन्न लेदो तथा गेग्रयानले फेवा ताललाई समेत असर पु¥याएको र खहरे खोला बढ्दा मुख्य बाटो लेकसाइड मार्ग नै बन्द हुने अवस्था समेत सिर्जना हुने गरेको पहारीले बताए । राती ठूलो पानी पर्दा अहिले पनि सो क्षेत्रमा बाटो अवरोध हुँदा समस्या निम्तिने गरेको छ । बाढीका कारण सो क्षेत्रमा अहिले पनि पानी, टेलीफोन र विद्युतको सेवा सुचारु हुन नसकेको दावी समेत पहारीले गरे ।
यसैगरी सोही दिनको बाढी र पहिरोका कारण नजिकै रहेको बैदाम तामाङ समाजले निर्माण गरेको पर्यटकीय गुम्बा र त्यहाँ रहेको २८ फिट अग्लो बुद्ध मुर्ति समेत जोखिममा परेको छ । समाजका अध्यक्ष ज्याक तामाङले बाढीका कारण गुम्बाको ग्याल्विन वाल भत्काएको र शौचालय समेत भत्कने अवस्थामा पुगेको बताए । यसका लागि सहयोग गर्न पोखरा लेखानाथ महानगरपालिका कार्यालयमा माग समेत गरिएको उनले जानकारी दिए ।
करिव ७० लाख रुपैयाँको लागतमा निर्माण भइरहेको सो गुम्बा आगामी मंसीरमा उद्घाटन गर्ने योजना बनाइएको थियो । बैदाम क्षेत्रमा थुप्रै तामाङहरु समेत पर्यटन क्षेत्रमा रहेका कारण सो गुम्बा पर्यटनकै हिसावले बनाइएको र पछिल्ला दिनमा स्वदेशी तथा विदेशी पाहुनाको आकर्षणको केन्द्र समेत बन्दै गएको थियो । गुम्बा क्षेत्रको क्षतिलाई व्यवस्थापन गर्न सरकारसँग समाजले आग्रह गरेको छ ।
कमेन्टहरु
Loading...