‘पानी खायो बाघैले’का गायक गर्बुजा पुरस्कृत

पोखरा, ३१ असार /लोकगायक खड्ग गर्बुजालाई अर्जुन नेपाली स्मृति संगीत पुरस्कार प्रदान गरिएको छ । मौलिक लोकभाका र नेपाली लोकसंगीतको क्षेत्रमा विशेष योगदान पु¥याएको भन्दै संगीत प्रशिक्षण केन्द्र पोखराले गर्बुजालाई शुक्रबार सम्मान गरेको हो ।

दुई÷दुई वर्षमा कुनै एक व्यक्ति वा संस्थालाई प्रदान गरिने यो पुरस्कारबाट संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति सरुभक्तले १५ हजार रुपैयाँ, दोसल्ला र सम्मानपत्र अपर्ण गरे । पुरस्कार प्रदानपछि कुलपति सरुभक्तले गर्बुजाजस्ता व्यक्ति समाजको उत्प्रेरक भएको बताए ।

‘इच्छा र आत्मबलको अगाडि शारिरीक समस्या ठूलो कुरा हुँदै होइन भन्ने उदाहरण हुन्, गायक खड्क गर्बुजा,’ कुलपति सरुभक्तले भने, ‘स्टेफन हकिङ एउटा त्यस्ता जिबित वैज्ञानिक हुन्, जसले संसारलाई चकित पार्ने गरी खोज अनुसन्धानबाट धेरै कुरा पत्ता लगाएका छन् । उनी पनि ह्विलचियरमै हिँड्छन् ।’ कुलपति सरुभक्त यस्ता व्यक्तिहरुको जीवन नयाँ पुस्ताका लागि प्रेरणादायी कथा र उत्प्रेरक बन्ने उनको भनाइ थियो ।

नेपाली मौलिक लोकभाकालाई जोड्ने र व्यापकता दिने काम खड्गले गरेको सरुभक्तको भनाइ थियो । सम्मानित गायक खड्ग गर्बुजाले दुखहरुले नै जीवनलाई सुन्ँदर बनाउने बताए । ‘यदी दुख र पीडाहरु नै हुँदैनन् भने जिन्दगीको मजा नहुँदो रहेछ,’ गायक गर्बुजाले भने, ‘दुख सबैका जीवनमा हुन्छन्, मैले पनि हदैसम्मको दुख पार गरेर आइपुगेको हुँ । तर रुन छाडिसकेँ ।’ गायक गर्बुजाले आफूले जीवनदेखि बिरक्त भएका धेरैलाई मोटिभेट गर्ने गरेको बताए ।

गायक गर्बुजाले आफूले छिट्टै आत्मकथा बजारमा ल्याउने गरी अहिले लेखनको काम भइरहेको जानकारी दिए । आफू दुःख र अभावहरुबाटै गायक बनेको बताउँदै आफ्ना दुई वटा गीत गाएका थिए । गायिका हरिदेवी कोइरालाले गर्बुले मौरी बाजा र नेपाली लोकसंस्कृतिको संरक्षण गर्न महत्वपूर्ण योगदान पु¥याएको बताइन् ।

गायकको परिचय दिँदै पत्रकार तथा गजल सन्ध्याका अध्यक्ष अमृत सुवेदीले खड्ग गर्बुजा गायकमात्रै नभएर प्रत्येकले सुन्नै पर्ने गीत र पढ्नै पर्ने नलेखिएका किताब भएको बताए । ‘गर्बुजा पीडामै दुखीरहेको भए, अँध्यारोमै रुमलिरहेको भए, जीवन खत्तमै भयो भनेर बसिरहेको भए, यो उचाइ प्राप्त गर्ने थिएनन्,’ सुवेदीले भने, ‘१५ वर्षमै लाहुरे हुन हिँडेको ठिटो एक वर्ष भारतमा सर्कस, कोइला खानीदेखि होटलमा भाँडा माझ्ने कामसम्म गरी फर्केर २०४३ सालमा घाँस काट्न जाँदा भीरबाट लडेर दुबै खुट्टा गुमाएका व्यक्ति अहिले देशको प्रशिद्ध गायक बनेका छन् ।’

गर्बुजालाई गायिकासमेत रहेकी जीवनसंगिनी मीना पुनको साथ र मायाले सघाएको बताए । पानी खायो बाघैले, आकासैमुनी, हेर्दा हेर्दै कान्छीले लगायत कर्खा, छ्याउरे, सालैजो, यानीमायाका चर्चित गीत गाएका गर्बुजाले गोरखा दक्षिणबाहु, राष्ट्रिय प्रतिभा पुरस्कार, अरुण स्मृति संगीत पुरस्कार लगायत दर्जनौं पुरस्कार तथा सम्मान पाएका छन् । ‘पैसाकै अभावमा गर्बुजा दुख, पीरका गीत सुनाउँदै हिँड्थे । उनलाई देखेर कतिले कठै भनिदिन्थे, गीत सुनेर कतिले रुमालमा पैसा राखिदिन्थे,’ सुवेदीले भने, ‘यसरी रुमालमा जम्मा भएको पैसाले बागलुङको बलेवाबाट जहाजमा पहिलो पटक काठमाडौं ओर्लेका थिए ।

ह्विलचियरमा जीवन बाँचेका तिनै गर्बुजाले अहिले काठमाडौंमा आफ्नै घरमा बुबालाई राखेका छन्, श्रीमती र दुई छोरीसँग रमाइरहेका छन् ।’ २०४७ सालमा रेडियो नेपालबाट स्वर परीक्षा पास गरेर गायन यात्रामा लागेका गर्बुजाले झन्डै १ हजार गीतमा आवाज दिएका छन् । अर्जुन नेपाली शास्त्रीय संगीतका साधक तथा बेलाबादक भएको प्रतिभा छनोट समिति सदस्य तथा संगीतकार कृष्णबहादुर श्रेष्ठले बताए । स्व नेपालीले आफ्नो समग्र जीवन संगीतको विकासमा समर्पित गरेकाले उनको नाममा परिवारले अक्षयकोष स्थापना गरेको बताए ।

नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले गर्बुजाजस्तो व्यक्तिलाई सम्मान गरेर संगीतको क्षेत्रमा निरन्तर लागिरहेको संस्था प्रशिक्षण केन्द्र नै सम्मानित भएको महसुस आफूले गरेको बताए । कवि तीर्थ श्रेष्ठको संयोजक, हरिदेवी कोइराला र कृष्णबहादुर सदस्य रहेको प्रतिभा छनोट समितिले गर्बुजालाई पुरस्कृत गर्ने निर्णय गरेको हो । प्रत्येक दुई÷दुई वर्षमा यो पुरस्कार प्रदान गर्ने गरिएको अध्यक्ष गौतम बिजुक्छेले बताए । संस्थाका सचिव कृष्ण मरासिनीले यसअघि यो पुरस्कारबाट बिमाकुमारी दुरा, हिमाली सांस्कृतिक परिवार, प्रजापति पराजुली, बिबी अनुरागी, विवेक श्रेष्ठ र राजकुमार श्रेष्ठ लगायत पुरस्कृत भइसकेका जानकारी दिए ।

कमेन्टहरु
Loading...