कास्कीमा तीनसय मतदान केन्द्र, दुई लाख २४ हजार मतदाता

प्रकाश ढकाल
पोखरा, २३ चैत/सरकारले स्थानीय तहको चुनाव घोषणा गरेको दुर्इ सातापछि निर्वाचन कार्यालयले कास्कीमा मतदाता र मतदान केन्द्र टुंग्याएको छ। क्षेत्रीय निर्वाचन कार्यालयका अनुसार आउँदो स्थानीय तहको चुनावमा जिल्लाभरबाट दुर्इ लाख २४ हजार आठ सय नौ जना मतदाता सहभागी हुँदैछन्।

जसअनुसार पोखरा लेखनाथ महानगरपालिकामा सबैभन्दा धेरै एक लाख ६८ हजार ६७ जना मतदाता छन् भने रुपा गाउँपालिकामा सबैभन्दा थोरै ११ हजार तीन सय १५ मतदाता छन्। यस्तै, माछापुच्छ्रेमा १६ हजार तीन सय एक, अन्नपूर्णमा १५ हजार पाँच सय ६७ र मादी गाउँपालिकामा १३ हजार पाँच सय ५९ मतदाता रहेको तथ्याड्ढ निर्वाचन आयोगले निकालेको अन्तिम नामावलीमा छ।

यसअघि दुर्इ लाख २५ हजार चार सय ४२ जनाले फोटोसहितको मतदाता नामावलीमा फोटो खिचाए पनि दोहोरिएको नाम हटाएर अन्तिम नामावली सार्वजनिक गरिएको हो। एक सय ५० वटा मतदानस्थल रहेको कास्कीमा तीन सय मतदान केन्द्र कायम गरिएको छ। प्रत्येक हजार जना मतदाता रहेको ठाउँमा एउटा मतदान केन्द्र हुने गरी आयोगमा कार्यालयले सिफारिस पठाएको छ।

सिफारिस अनुसार पोखरा लेखनाथ महानगरपालिका स्थित जनप्रिय मावि, कालिका मावि (साविकको पोखरा १०) , शिवशक्ति मावि, शुक्रराज बलभद्र मावि, साविक पोखरा १५ को वडा कार्यालय, सिद्ध मावि, पार्दी मावि, अकला आधारभूत विद्यालय, कालिका मावि (कास्कीकोट) र हेमजाको गौरीशंकर मावि मतदान स्थलमा सबैभन्दा धेरै चार/चार वटा मतदान केन्द्र छन्।

यस्तै २६ मतदान स्थलमा तीन वटाका दरले र ६८ वटा मतदान स्थलमा दुर्इ वटाका दरले मतदान केन्द्र कायम भएको छ भने ४६ वटा मतदान स्थलमा एउटै मतदान केन्द्रले चल्ने कार्यालयको भनाई छ। निर्वाचन आयोगले कास्कीमा पाँचवटै स्थानीय तहका लागि निर्वाचन अधिकृत समेत खटाएको छ। वैशाख ३१ गते हुने स्थानीय तहको चुनावका लागि मुख्य निर्वाचन अधिकृतसहित चार निर्वाचन अधिकृत तोकिएका हुन्।

आयोगका अनुसार कास्कीको मुख्य निर्वाचन अधिकृतमा जिल्ला न्यायाधीश नागेन्द्रलाल कर्णलाई तोकिएको छ। कर्णले पोखरा लेखनाथ महानगरपालिकाको चुनाव गराउने छन्। अन्नपूर्णमा सरकारी वकिलको कार्यालयका उपन्यायाधीश योगनाथ ढकाल निर्वाचन अधिकृतको रुपमा खटिएका छन् भने माछापुच्छ्रेमा सरकारी वकील कार्यालय कास्कीकै गंगाप्रसाद पौडेल छन्। मादीमा कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल खटिएका छन् भने रुपा गाउँपालिकाको लागि आन्तरिक राजश्व कार्यालयका लेखनाथ शर्मालाई निर्वाचन अधिकृतको रुपमा तोकिएको छ।

सबै निर्वाचन अधिकृतहरुले चैत २५ गतेसम्म नियुक्ती बुझ्नेछन्। त्यसपछि चैत २८ र २९ गते तालिमको आयोजना गरिने क्षेत्रीय निर्वाचन कार्यालय पोखराका प्रमुख गंगाप्रसाद सुवेदीले जानकारी दिए। उनका अनुसार ३ गते मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना हुनेछ भने १२ गते सबै गाउँपालिकामा निर्वाचन अधिकृतले कार्यालय खोल्नेछन्।

‘सकेसम्म सरकारी भवनहरुलाई निर्वाचन अधिकृतको कार्यालय बनाइनेछ। नभए बजेटको सीमाभित्र रहेर भाडाको घरमा कार्यालय स्थापना हुनेछन्’-सुवेदीले भने ’निर्वाचन अधिकृत खटिएपछि अध्ययन गरेर क्रिटिकल ठाउँमा निर्वाचन केन्द्र थपघटका लागि सिफारिस गर्नेछन्। कार्यालय स्थापना भएपछि निर्वाचनको काम धमाधम थालिने छ।’

आयोगले यसअघि नै चुनावको कार्यतालिका सार्वजनिक गरिसकेको छ। जसअनुसार बैशाख १६ गते विहान १० देखि ५ बजेसम्म उम्मेद्वारको मनोनयन पत्र दर्ता हुनेछ। १७ गते १० देखि १ बजेसम्म उम्मेद्वारमाथि दावीविरोध गर्ने समय हुनेछ। सोही दिन ३ बजेदेखि भोलिपल्ट मनोनयनपत्र जाँच गरिनेछ। १८ गते नै मनोनयन भएका उम्मेद्वारको नामावली प्रकाशनको काम हुनेछ र उम्मेद्वारले नाम फिर्ता लिने समय पाउने छन्।

१९ गते उम्मेद्वारको अन्तिम नामावली प्रकाशन हुनेछ र चुनाव चिन्ह प्रदान गरिनेछ। अन्तिममा बैशाख ३१ गते बिहान ७ देखि साँझ ५ बजेसम्म मतदानको काम हुनेछ। चुनावका लागि आवश्यक सुरक्षा योजना समेत अन्तिम चरणमा पुगेको छ। ‘ठ्याक्कै संख्या तोकिएको छैन। तर केन्द्रबाट निर्देशन आउने वित्तिकै आवश्यक सुरक्षाकर्मी परिचालन गर्न हामी तयार छौं’- जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख घनश्याम अर्यालले भने-’मतदान केन्द्रको चुनौती अनुसार सुरक्षाकर्मीको प्रबन्ध हुनेछ।’

उनका अनुसार स्थानीय तहको चुनावकै लागि जिल्लाभर नौ सय ८८ जना म्यादी प्रहरीसमेत परिचालित हुनेछन्। तर कास्कीमा भर्ना भएका म्यादी प्रहरीहरु बाहिरी जिल्लामा परिचालन गरिने अर्यालले बताए। प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले जिल्ला तहबाट गर्ने सबै तयारी पूरा गरेको भन्दै केही दिनभित्रै सुरक्षाकर्मीको टुंगो लाग्ने बताए।

चुनावका लागि प्रत्येक निर्वाचन केन्द्रमा सात जनाका दरले कर्मचारी खटिने छन्। एकजना मतदान अधिकृत, एकजना सहायक मतदान अधिकृत, सहायक कर्मचारी तीन जना र दुर्इ सय स्वयम्सेवक कर्मचारी खटिने निर्वाचन कार्यालयले जनाएको छ। कास्कीका पाँच स्थानीय तहभित्र पर्ने ७२ वटा वडामा तीन सय ८१ जना जनप्रतिनिधि निर्वाचित हुनेछन्।

देशकै सबैभन्दा ठूलो महानगरपालिका पोखरा लेखनाथ महानगरपालिकामा एक सय ७० जना जनप्रतिनिधि प्रवेश गर्नेछन्। मादीमा ६४, अन्नपूर्णमा ५९, माछापुच्छ्रेमा ४९ र रुपा गाउँपालिकामा ३९ जना जनप्रतिनिधि ३१ गतेको स्थानीय चुनावबाट निर्वाचित हुनेछन्। निर्वाचन कार्यालयमा दर्ता भएका २३ दल र स्वतन्त्र उम्मेद्वारबाट मतदान प्रक्रिया अनुसार जनप्रतिनिधिको छनौट हुनेछ।

कमेन्टहरु
Loading...