असिना पानीले कास्कीकोटमा लाखौंको क्षति

पोखरा, १९ फागुन /शुक्रबार साँझ परेको असिना पानीले पोखरा लेखनाथ २४ कास्कीकोटमा लाखौं रुपैयाको अन्न बाली नष्ट गरेको छ । लगातार दुई घण्टा जतिको असिना पानीले गहँु, उवा, तोरी, आलु र तरकारी खेतीमा असर गरेको वडाध्यक्ष ओमप्रसाद सुबेदीले जानकारी दिएका छन् ।

ठूलो आशा राखेर लगायका खेतीलाई वर्षैपिच्छे असिनाले असर गरेपछि खेती गर्ने जागर लाग्न छोडेको गुन्टेचौरका किसान यादब पौडेलले दुखेसो पोखेका छन् ।

बढ्दो जलवायु परिर्वतनको प्रभाव मौसम र वातावरणमा देखिँदा देशभरि मानवीय जनजीवन निकै कष्टकर बनेको छ । कष्टपूर्ण जीवनयापनसँगै बेलाबेलामा पर्ने असिना पानीको मारमा कयौँ किसानहरू परेका छन् । हिउँदमा खुवाउने बुटाको घाँस समेत असिनाले झारेर गाईबस्तु पनि पाल्न जटिल बनेको अर्का किसान मुकुन्द सुवेदी बताउँछन् ।

करिब तीन फिट बाक्लो असिना परेको कास्कीकोटमा किसानहरू अब हिउँदे खेतीको विकल्प खोज्नुपर्ने तर्फ थालेका छन् । किसानहरू असिनाबाट असर नगर्ने खेतीको पर्खाइमा रहेको बताइन्छ । क्षति भएका ठाउँहरूको विवरण सङ्कलन भइरहेको र क्षतिपूर्ति दिलाउन वडा नम्बर २४ का तर्फबाट सक्दो पहल गर्ने वडा अध्यक्ष सुबेदीले बताए ।

कमेन्टहरु
Loading...