कमल थापाको पार्टी कार्यालयलाई डिपार्टमेन्ट स्टोर बनाउने चेतावनी

काठमाडौं २४ मंसिर । पूर्वपञ्चहरुको पार्टीमा झगडा र टुटफुट स्वाभाविकै मानिन्छ । ०४८ सालमा खुलेको पूर्वपञ्चको पार्टीमा सूर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्दको झगडा सबैले देखेकै हो । यतिबेला चौथो शक्ति बनेको कमल थापा नेतृत्वको राप्रपा नेपालमा पनि विगतको परम्परालाई धान्दै सभासद पदका लागि मारामार सुरु भएको छ ।

संविधानसभामा समानुपातिकतर्फ २४ सीट पाएको राप्रपा नेपालमा सभासद छनौट प्रक्रियामा मनपरी भएको भन्दै पार्टीभित्र भाँडभैलो मच्चिएको हो । संसदीय बोर्ड र केन्द्रीय समितिलाई समेत छलेर सभासद छानिएको भन्दै केही केन्द्रीय सदस्यले अदालतमा रिट हाल्ने तयारी गरेका छन् भने ललितपुर, झापालगायतका केही जिल्ला समितिले प्रक्रियाको चर्को विरोध गरेका छन् । आफूलाई वैकल्पिक शक्ति बनाउने दाबी गरेका थापाले राम्रा नेतालाई पाखा लगाएर नेताका श्रीमती र छोरा बुहारीलाई प्राथमिकता दिएको आरोप लागेको छ ।kamal-thapa-jiललितपुरमा पार्टी नेता केशरबहादुर विष्टले पार्टीसदस्यसमेत नरहेको आफ्नो छोरो विराज विष्टलाई सभासद बनाएको भन्दै जिल्ला समितिमा चर्को असन्तुष्टि देखिएको छ । ललितपुरबाट ९ जना नेताको नाम समानुपातिकको सूचीमा राखिएकोमा सबैबाट नेता विष्टले लाखौं रकम उठाएको र अन्तिममा आफ्नो छोरो विराजलाई सभासद बनाएको गुनासो ललितपुरका एक नेताले  पोखे ।

राप्रपा नेपालले निर्वाचन आयोगमा पठाएको नामावलीमा पार्टीमा लागेर दुःखकष्ट गरेका भन्दा पनि पैसावाल र नेताका नातेदारहरुलाई टेण्डरका आधारमा प्राथमिकता दिएको आरोप असन्तुष्ट पक्षले लगाएको छ । संविधानसभामा प्रभावकारी भूमिका खेल्न सक्ने र चुनावमा भाषण गर्दै हिँडेर काठमाडौंमा बढी भोट खसाउने बरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपाने र अधिवक्ता विष्णु भट्टराईलाई सभासद बनाइएको छैन ।

तर, पहिलो संविधानसभामा खासै भूमिका नखेलेकी बबिना मोक्तान लावतीलाई पद्मसुन्दर लावतीकी बुहारी भएकै कारण पुनः सभासद बनाइएको छ । त्यसैगरी भक्तपुरका पूर्व मेयर तथा जग्गा व्यवसायी दिनेश श्रेष्ठ, वीरगञ्जका नामूद व्यापारी श्याम टिबडेवाल र अग्रवाल सेवा केन्द्रका अध्यक्ष राजकुमार अग्रवाललाई सभासद बनाइएको छ भने वीरगञ्जकै प्रल्हाद साह, सुनसरीका रमेश श्रेष्ठ, उद्योग वाणिज्य संघका एजी शेर्पा छुटेका छन् ।

केही वर्षअघि ललितपुरको चर्चमा भएको बम विष्फोनपछि पक्राऊ परेकी कमला शर्मा पनि राप्रपा नेपालको सभासदमा सिफारिस भएका छन् । म्यानपावर व्यवसायीसमेत रहनुभएकी शर्माको पूर्वराजाका सहयोगी सागर तिम्सिनासँग निकटको सम्बन्ध रहेको राप्रपा नेपालका नेताहरु बताउँछन् ।

पार्टीमा राम्रै आर्थिक योगदान गरेका सहायक कोषाध्यक्ष तारानाथ लुइइटेलकी श्रीमती सीता लुइँटेल भने सभासदको कोटामा परेका छन् । तर, राप्रपा नेपालमा प्रभावकारी महिला नेतृत्का रुपमा चिनिने गीता बस्नेत, एवती कार्की, उषासिंह थापाहरु भने नेताको रोजाइमा परेनन् ।

कार्यालयलाई डिपार्टमेन्ट स्टोर बनाउने चेतावनी

धुम्बाराहीमा राप्रपा नेपालको केन्द्रीय कार्यालयका लागि निशुल्क जग्गा प्रदान गर्ने कोषाध्यक्ष दिलविकास राजभण्डारी आफूलाई सभासद नबनाइएकोमा असन्तुष्ट भएको स्रोतले बतायो । आफ्नी श्रीमती शशिकला राजभण्डारीको स्मृतिमा दिइएको जग्गा उनले पार्टीलाई रजिष्ट्रेशन पास गर्न बाँकी छ । तर, आफूलाई सभासद नबनाइएपछि अब सो पार्टी कार्यालयलाई डिपार्टमेन्ट स्टोर बनाउने प्रतिक्रिया राजभण्डारीले दिन थालेको एक नेताले  बताए ।

त्यसैगरी राप्रपा नेपालका नेता तथा पूर्वमन्त्री निरञ्जन थापा, पूर्वमहामन्त्री टंक ढकाल, प्रवक्ता गोविन्द खनियाँ, वीरगञ्जका रामचन्द्र चतुर्वेदी, झापाका रोहित राजबंशी, घनेन्द्र सुब्बा लगायतलाई छुटाइएको भन्दै पार्टीमा असन्तुष्टि बढेको छ । सबैभन्दा बढी भोट ल्याउने क्षेत्रलाई प्राथमिकता दिने भनिए पनि १५ हजार भोट ल्याएको काठमाडौं २ बाट इन्द्र चित्रकारलाई सभासद बनाइएन ।

स्रोतका अनुसार पार्टीमा योगदान गरेकालाई छुटाएर पूर्व बडागुरुज्यु माधव भट्टराईकी पत्नी कान्ता भट्टराई, नेपाली नागरिकता त्यागेका अमेरिकी ग्रिनकार्ड होल्डर दीनानाथ गिरी जग्गा व्यवसायी सुशील श्रेष्ठलगायतलाई सभासदमा सिफारिस गरिएको भन्दै पार्टीमा भाँडभैलो शुरु भएको छ ।

पार्टीको संसदीय बोर्ड र केन्द्रीय समिति पनि नडाकी कमल थापाले केही नेताहरुसँग मिलेर एकलौटी ढंगबाट सभासद छानेको आरोप असन्तुष्ट पक्षले लगाएका छन् । असन्तुष्ट राप्रपा नेपालका नेताहरुले बरु राप्रपा नेपाल छाड्ने तर कमल थापालाई नछाडिने बताउन थालेका छन् ।

राप्रपा नेपालले सभासदका लागि धवलशमशेर राणासँग नजिक रहेकी रामदुलारी चौधरी, काभ्रेका गणेश लामासँग नजिक रहेका रेशम लामा, इलामकी लीला श्रेष्ठ, विद्धत परिषद्का भाष्कर भद्रा, शाहीकालका काठमाडौंका जिविस प्रमुख विक्रमबहादुर थापा, पूर्वसभासद कुन्ती शाहलगायतको नाम निर्वाचन आयोगमा पठाएको छ ।

कमेन्टहरु
Loading...