कालोबजारीको विरोध गर्ने विद्यार्थी संगठन एक जुट

पोखरा, ७ चैत/देशमा विद्यमान कालोबजारी तथा दैनिक वस्तुको असहजताको कास्कीमा क्रियाशिल विद्यार्थी संगठनले विरोध जनाएका छन् । नाकाबन्दी खुलेपनि पेट्रोलियम तथा ग्याँसमा चरम लापरबाही तथा कालोबजारी भएको भन्दै सरकारले अनुगमन गरी तुरुन्त दोषीहरुलाई कारबाही गर्नुपर्ने भन्दै जिल्ला प्रशासन कार्यालय कास्कीमा ज्ञापन पत्र पेश गरिएको हो ।

कालोबजारीको विरोध गर्ने विद्यार्थी संगठन एक जुट
कालोबजारीको विरोध गर्ने विद्यार्थी संगठन एक जुट

अनेरास्ववियु कास्की अध्यक्ष शेखर गौतम, अनेरास्ववियु क्रान्तिकारी कास्की अध्यक्ष मिलन राई, अखिल क्रान्तिकारी कास्की अध्यक्ष नारायण बडाल, नेविसंघका केन्द्रीय सदस्य सरोज केसी, अनेरास्ववियु छैटौं अध्यक्ष गणेश अधिकारीले संयुक्त रुपमा कास्कीका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीलाई ज्ञापन पत्र बुझाएका हुन् । मौलाउँदो कालोबजारीप्रति प्रशासनमार्फत सम्बन्धित निकाय तथा सरकारको ध्यानाकर्षण गरेका उनीहरुले जनाएका हुन् ।

सामाजिक अराजकता, व्यक्ति हत्या, लुटपाट, महिला हिँसा, बलात्कार नियन्त्रण गर्ने सवालमा सरकारी निकायले प्रभावकारी भुमिका निर्वाह गर्न नसकेकोप्रति उनीहरुले गुनासो गरेका छन् । त्यसै गरि पेट्रोलियम पदार्थको घटेको मूल्य अनुसार यातायातको भाडादर समायोजन साथै विद्यार्थी परिचयपत्रको आधारमा दिने गरिएको छुट कडाईपूर्व लागु गर्न उनीहरुले माग गरेका छन् ।

त्यसैगरि संयुक्त विद्यार्थी संगठनले शनिबार नै कास्कीका जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्मालाई शैक्षिक क्षेत्र सुधारको माग गर्दै ज्ञापन पत्र पेश गरेका हुन् । शैक्षिक प्रणालीलाई वैज्ञानिक र व्यवहारिक बनाउन तथा शिक्षा सम्बन्धि बनेका निर्देशिका हुबहु कार्यान्वयन गराउन उनीहरुले माग गरेका छन् ।

त्यसैगरि पाठ्यपुस्तकको अभावको समस्या अन्त्य गर्न विशेष पहलका साथै पाठ्यपुस्तकको छुट सम्बन्धि, पुराना सहमति कार्यान्वयन एवं यस क्षेत्रमा हुने अनियमित शुल्क बृद्धिको अन्त्य गर्न माग गरेका छन् । त्यसैगरि अवैधानिक शैक्षिक संस्थाहरुलाई तुरुन्त कारबाही गरी खारेजको उनीहरुले माग गरेका छन् । सम्बन्धित निकाय विद्यार्थी संगठनको मागमा संवेदनशिल नभएमा कडा आन्दोलनमा उत्रिने उनीहरुले चेतावनी दिएका छन् ।

कमेन्टहरु
Loading...